वीरगन्जमा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन्।
मंगलबार दिउँसो तीन बजेतिर वीरगन्जको घन्टाघरमा राजपा कार्यकर्ताले जसरी पनि निर्वाचन गराउनु पर्ने अभिव्यक्ति दिएको भन्दै यादवको पुत्ला जलाएका हुन्।
यसअघि आज यादव वीरगन्ज जाने कार्यक्रम थियो। पर्साको औरहीमा पार्टी प्रवेशको कार्यक्रमका लागि यादव पर्सा जाने कार्यक्रम भएपनि हिजोमात्र कार्यक्रम स्थगित गरिएको थियो।
यसैबीच निर्वाचन बहिस्कार गरेर आन्दोलनमा गएको राजपाका कार्यकर्ताले आज वीरगन्जमा निर्वाचन अधिकृतमाथि पनि आक्रमण गरेका छन्।
नेपाल राष्ट्रिय विद्यापिठ उच्च माध्यमिक विद्यालय, श्रीपुरमा तालिम गरेर फर्किएका निर्वाचन अधिकृतलाई राजपा कार्यकर्ताले आक्रमण गरेर मोटरसाइकलमा तोडफोड गर्ने र डायरी च्यात्ने गरेका थिए। राजपा कार्यकर्ताको आक्रमणमा परी एक जना निर्वाचन अधिकृतको टाउकोमा चोट लागेको थियो।
उनी नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन्।