जिल्लामा पछिल्लो समय आधुनिक पद्दतिबाट तरकारी खेती गर्ने क्रम बढेको छ। व्यसायिक रुपमै तरकारी खेती गर्न किसान आकर्षित भएपछि नयाँ नयाँ पद्दतिको प्रयोग बढेको हो।
बागलुङ नगरपालिका ४ का त्रिलोचन सापकोटा दैनिकी प्रायः करेसाबारीमै बिताउँछन्। सापकोटाले ३ वर्ष अघिबाट नयाँ तरिकाले खेती गर्न थालेका हुन्। उनले ‘हाईटेक टनेल’ बनाएर तरकारी खेती गर्छन्। बेमौसमी खेती गर्न मिल्ने, रोग र किराको संक्रमण नहुने भएकाले यसरी खेती गर्न थालिएको उनले बताए। ‘बेमौसमी तरकारी लगाउँदा मूल्य पनि धेरै पाइन्छ, सिजनल तरकारीको मूल्य नै पाइँदैन’ उनले भने ‘व्यवसायिक रुपमै खेती गर्ने हो भने त टनेल चाहिँदो रहेछ।’
२५ वर्षदेखि तरकारी खेती गरेर जिविकोपार्जन गर्दै आएका ४३ बर्षिय सापकोटाले सञ्चालन गरेको कालीगण्डकी कृषि फार्ममा ५ वटा ठूला टनेल (प्लाष्टिक घर) रहेका छन्। एक तले घर भन्दा अग्लो र डेढ रोपनी क्षेत्रफलसम्म फैलिएको प्लाष्टिकका हाईटेक टनेलमा किरा छिर्न नमिल्नेगरी मसिनो जालीले बेरिएको छ। टनेलभित्र गोलभेँडा, खुर्सानी, घिरौँला, बोडी, गाजर लगायतका मौसमी तथा बेमौसमी तरकारी लगाइएको छ।
लहरेबालीका लागि स्थायी प्रकृतीको झाल बनाइएको टनेलभित्र प्रत्येक बिरुवाको जरामा थोपा प्रबिधिबाट सिचाई गर्ने व्यवस्था मिलाइएको सापकोटा बताउँछन्।सापकोटाले उक्त तरकारी खेतीमा गाईभैसीको गहुँत संकलन गरेर बिषादीको रुपमा प्रयोग गर्ने गर्दछन्। खुल्ला ठाउँको तुलनामा टनेलभित्र खेती गर्दा दोब्बर बढी उत्पादन र आम्दानी लिन सकिने उनको भनाई छ ।
कृषि फार्मलाई व्यवस्थित र आधुनिकीकरण गर्न बीस लाख रुपैयाँ लगानी गरेका छन्। जसमध्ये व्यवसायिक कृषि तथा बजार आयोजना (प्याक्ट)ले दश लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो।
उनी भन्छन् ‘बढीमा पाँच लाख रुपैयाँ लगानीमा तयार हुने एउटा हाईटेक टनेलभित्र पाँच वर्षसम्म खेती गर्न सकिन्छ’ पाँच वर्षसम्म टनेलबाट उच्च आम्दानी लिन सकिने उनले बताए। ‘राम्ररी गर्ने हो भने एक वर्षमै लागत उठ्छ, बाँकी ४ वर्षको त नाफा नै भयो।’
घरपरिवारका सदस्य बाहेक एक जनालाई नियमित र चार जनालाई आंशिक रोजगारी दिएका सापकोटाले व्यक्तिगत ६ रोपनी र वार्षिक बीस हजार रुपैयाँ भाडा तिर्नेगरी भाडामा लिएको थप दुई रोपनी जमिनमा तरकारी खेती गर्छन्। उनले तरकारी खेतीबाट बार्षिक आठ लाख रुपैयाँ आम्दानी हुने बताए।
थप तीन वटा टनेल बनाउने तयारी गरेका सापकोटाले उत्पादन गरेको तरकारी बागलुङ बाहेक अन्य जिल्लामा पनि खपत हुने गरेको छ।