पछिल्लो समय क्षमता बढाउँदै गएका नेपालका सिमेन्ट उद्योगहरुले कच्चा पदार्थको अभाव खेप्न थालेका छन्। तीन हप्तादेखि कोइला, क्लिंकर लगायत सिमेन्टका लागि आवश्यक कच्चा पदार्थ भारतबाट आउन नसक्दा उत्पादन घट्दै गइरहेको व्यवसायीहरुले बताएका छन्।
भारत हुँदै आयात गरिने क्लिङ्कर, कोइला, फलाइयस, जिप्सन लगायतका पदार्थ लामो समयदेखि आयातमा अनियमितता हुँदा उद्योगहरुको उत्पादन क्षमता घटेको छ।
सिमेन्ट उत्पादनको लागि अत्यावश्यक वस्तु कोइलाको आयातमा हुने अनियमिताले गर्दा स्वदेशमै क्लिंकर उत्पादन गर्ने उद्योगहरु यसको मारमा परेको उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा अर्घाखाँची सिमेन्टका अध्यक्ष पशुपति मुरारकाले जानकारी दिए।
नेपालमा कोइला प्राय तेस्रो मुलुकबाट कोलकत्ता बन्दरगाह हुँदै रक्सौल नाकाबाट आउने हो तर त्यहाँको बन्दरगाहले पर्याप्त लोड गर्न नमान्दा नेपालमा आवश्यक कोइला आउन नसकेको व्यवसायीहरुको भनाइ छ।
रक्सौल बाहेकका अन्य नाकाबाट नेपालमा कोइला लगायतका मालवस्तु आउन पाउँदैनन्। ४० देखि ६० डब्बामात्र सामान लोड हुने रक्सौल कार्गोको लागि भारतीय पक्षले कोइला बाहेकका अन्य सामानलाई मात्र प्राथमिकता दिँदा समस्या उत्पन्न भएको छ।
‘कोइला लगायतका बल्क कोलकत्ता हुँदै रक्सौलबाट मात्र आउँछ जसको क्षमता पहिलेको जत्ति नै छ’ मुरारकाले सेतोपाटीसँग भने, ‘तर नेपाली उद्योगको क्षमता बढेसँगै कच्चा पदार्थको माग पनि उच्च भएकाले एउटै नाकाबाट मात्र आउँदा समस्या जहाँको त्यही छ।’
यो समस्या आगामी दिनमा अझ बढ्दै जाने व्यवसायीहरु बताउँछन्। अहिले समस्याको सुरुवात मात्र भएको अवस्था भन्दै उनीहरुmले आगामी दिनमा नेपालको सिमेन्ट उत्पादन पुरानै खराव अवस्थामा फर्किने उनीहरुको चेतावनी छ। रक्सौलको क्षमता थोरै हुनु, कोइला लगायतका खुल्ला मालवस्तु रक्सौल बाहेक अन्य नाकाबाट नेपालमा ल्याउन नपाउनु जस्ता कारणले सिमेन्ट उद्योगले दीर्घकालीन समस्या खेप्ने उनको दावी छ।
नेपालमा सिमेन्टको उत्पादन बढ्दै गएकोले कच्चा पदार्थको माग अझ बढ्न जाने व्यवसायीको अनुमान छ। रक्सौल बाहेक अन्यत्रबाट पनि कच्चा पदार्थ आउन दिनेगरी भारतीय नीति परिवर्तन नभएसम्म समस्या समाधान नहुने व्यवसायीहरु बताउँछन्।
भारतले तेस्रो मुलुकबाट आउने र खुल्ला मालवस्तुको लागि बिशखापटनम बन्दगाह खुल्ला गरे पनि त्यहाँबाट नेपाली व्यवासायीहरुले आयात गरिरहेका छैनन्। मुरारका भने बन्दरगाह प्रयोग हुँदै गएपछि एउटा समस्या समाधान भए पनि मुख्य कुरा रक्सौल बाहेकका अन्य नाकाबाट तेस्रो मुलुकमार्फत पनि मालवस्तु खुला आयात गर्न पाउनुपर्ने र त्यसको लागि सरकारले तत्काल पहल गर्नुपर्ने बताउँछन्।
सुनौली, जोगबनी र नेपालगंजजस्ता नाकाबाट पनि त्यस्ता वस्तु आयात गर्न नेपाली व्यवसायीहरुले पाउने हो भने यो समस्या समाधान हुने उनको दावी छ। यी नाकाबाट बल्क कार्गो अनुमति दिन भारत सरकार तयार भएपनि नेपाल सकारले तदारुकता नदेखाउँदा उद्योगले निरन्तर सास्ती खेपिरहेका छन्।
सिमेन्टमा आत्मनिर्भर हुँदै गरेको नेपालको लागि यो समस्या समाधान नहुने हो भने भविष्यमा उद्योग क्षेत्र मात्रै नभई राष्ट्रले नै ठूलो मूल्य चुकाउनुपर्ने व्यवसायीहरुको भनाइ छ। तर वाणिज्य मन्त्रालयले भने कोइला तथा बल्क कार्गोको लागि रक्सौलबाहेक अन्य चार नाका खोल्नको लागि भारतसमक्ष प्रस्ताव गरिसके पनि सम्झौता नभएको बताएको छ।
भारतमा पनि विभिन्न अन्तरसरकारी निकायको सहमति हुनुपर्ने भएकोले यसमा केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रविशंकर शैजुले जानकारी दिए। ‘हामीले जोगबनी, भैरहवा, नेपालगंज लगायतका चार नाकाबाट कोइला आयातको लागि खुल्ला गरिदिन प्रस्ताव गरेका छौँ’ शैजुले सेतोपाटीसँग भने, ‘तर यसबारेमा गृहकार्य चलिरहेकोले केही समयपछि समाधान हुन्छ।’
‘नेपाल भारत रेलवे सर्भिस एग्रिमेन्ट’ मा संसोधन गर्नुपर्ने उक्त व्यवस्थाको लागि भारत सरकार आफै त्यति सकारात्मक र नकारात्मक नभएको अधिकारीहरुले बताएका छन्।
पहिले सुरक्षाको कारण देखाउँदै भारतले रक्सौल बाहेक अन्यत्रबाट कोइला लगायतका सामाग्री आयात गर्न दिएको थिएन। तर हाल भारतीय रेलवेसँग विशेषगरी कोइला लोड गर्ने डिब्बा (¥याक) नै अभाव भएकोले पनि भारत यसमा त्यति धेरै सकारात्मक नभएको बताइएको छ।