हिमालयन पावर पार्टनरले आगामी असार १ गतेदेखि २१ लाख ३० हजार कित्ता आइपिओ सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ।
अंकित मूल्य एक सय रुपैयाँको दरले कुल २१ करोड ३० लाख रुपैयाँको आइपिओ सर्वसाधारणका लागि खुला गर्न लागिएको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।
कम्पनीको आइपिओमा ५ गतेसम्म आवेदन दिन सकिनेछ। २१ लाख ३० हजार कित्तामध्ये ४२ हजार ६ सय १७ कित्ता कर्मचारी र १ लाख ६ हजार ५ सय ४२ कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ।
ग्लोबल आइएमई क्यापिटल नाचघर, ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सकिनेछ। प्रभु क्यापिटल कमलादी, रिलायबल क्यापिटल सुन्धारा, एनआइसी एसिया क्यापिटल बबरमहल, सानिमा क्यापिटल नक्साल, सिभिल क्यापिटल सुन्धारा, भिबोर क्यापिटल पुल्चोक, सिबिआइएल क्यापिटल डिल्लीबजारबाट पनि आवेदन दिन सकिन्छ। त्यस्तै आस्बा प्रणालीमार्फत आफ्नो खाता भएको बैंकबाट पनि आवेदन गर्न सकिनेछ।
लमजुङको दोर्दीखोलामा कम्पनीले २७ मेगावाटको आयोजना निर्माण गरेको छ। गैरआवासीय नेपालीहरुको सामुहिक लगानीमा स्थापना भएको यस कम्पनीले स्थानीयका लागि १० लाख ६५ हजार कित्ता आइपिओ बिक्री गरिसकेको छ।