वित्तीय क्षेत्रको समष्टिगत नीतिको अनुगमन र नियमनबारे छलफल गर्न सार्कस्तरीय सम्मेलन राजधानीमा सुरु भएको छ।
नेपाल राष्ट्र बैंकको आयोजनामा भएको दुई दिने सम्मेलनमा सार्क मुलुकमा वित्तीय क्षेत्रको समष्टिगत नीति नियमन तथा अनुगमनको अवस्था, मोडल तथा समस्या र चुनौतिका विषयमा छलफल हुने छ।
सम्मेलनको बिहिबार उद्घाटन गर्दै गर्भनर डा. चिरञ्जिवी नेपालले सार्क फाइनान्समा रहेका देशका प्रतिनिधिबीच आ–आफ्नो मुलुकमा अबलम्बन भएको नीति नियमन तथा अनुगमनमा हासिल अनुभव साटासाटले आगामी दिनका लागि मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे।
सन् २००८ मा देखिएको विश्वव्यापी आर्थिक संकटपछि समग्र वित्तीय क्षेत्रको व्यवस्थापनका लागि सरकारी वित्त नीति र मौद्रिक नीतिले मात्रै संभव नभएको निष्कर्षका साथ समष्टिगत नीति अवलम्बन गरिँदै आएको छ।
नेपालले सन् २०१० देखि यो नीति अवलम्बन गरेको हो। शुक्रबारसम्म चल्ने सम्मेलनमा बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका, भारत र नेपालका गरी ३० जना प्रतिनिधिको सहभागिता रहेको छ।