सेयर बजारमा लगानीकर्ताको संख्या सवा ८ लाख नाघेको छ। सिडिएस एण्ड क्लियरिङका अनुसार मंगलबारसम्म डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ८ लाख २५ हजार २ सय १० पुगेको हो।
यो संख्या दिनदिनैजसो बढीरहेको सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले जानकारी दिए। डिम्याट खाता खोलेपछि मात्रै सेयर किन्न वा बेच्न मिल्छ। २०७२ माघदेखि सेयर कारोबारका लागि डिम्याट खाता खोल्नुपर्ने व्यवस्था गरिएसँगै लगानीकर्ताको पहिचानमा पनि सहजता भएको छ।
विभिन्न कम्पनीका प्राथमिक सेयर खुल्दै जाँदा तिनमा आवेदन दिन नयाँ लगानीकर्ताहरु पनि थपिँदै जाने र नेप्सेमा सूचीकृत भइसकेपछि बेच्नका लागि पनि डिम्याट खाता अनिवार्य हुनुपर्ने व्यवस्था भएकाले यस्तो खाता खोल्नेको संख्या बढ्दै गएको गुप्ताले बताए। हाल प्राथमिक सेयर भर्न पनि डिम्याट खाता अनिवार्य हुनुपर्ने व्यवस्था रहेको छ।
यसरी डिम्याट खाता खोल्ने सबै लगानीकर्ता दोस्रो बजारमा सक्रिय भने नरहेको लगानीकर्ता संघले जनाएको छ। ‘कतिपय लगानीकर्ता प्राथमिक बजारमा किनेर दोस्रो बजारमा बेच्ने मात्रै पनि छन्, जसले दोस्रो बजारबाट कहिलै सेयर किन्दैनन्’ संघका एक सदस्यले भने।
उनका अनुसार प्राथमिक बजारमा जोखिम कम भएकाले जोखिम लिन नचाहनेले दोस्रो बजारबाट खरिद नगरी प्राथमिकमा परेको सेयर बेच्ने मात्रै गर्ने गरेका छन्। यद्यपी दोस्रो बजारमा आउने लगानीकर्ताको संख्या पनि बढीरहेको उनले स्पष्ट पारे। ‘लगानीकर्ताको बढ्नु धेरै राम्रो कुरा हो, यसले पुँजी बजारको विकासका लागि मद्दत पुग्दछ।’
के हो डिम्याट खाता, कसरी खोल्ने ?धेरै नयाँ लगानीकर्ता अझै पनि डिम्याट खाताबारे अनविज्ञ छन्। डेढ वर्षअघिसम्म कागजी सेयर प्रमाणपत्रकै कारोबार हुने गर्दथ्यो। सेयर किन्नेले आफ्नो नाममा प्रमाणपत्र लिने र बेच्नेले दिने गर्दथे। यसरी कारोबार गर्नुपर्दा नयाँ नाममा प्रमाणपत्र छाप्नुपर्ने, हराउने, च्यातिनेजस्ता समस्याहरु निम्तिने गर्दथे।
यीनै समस्यालाई मध्यनजर गर्दै सेयरलाई कम्युटराइज्ड अर्थात डिमेट्रियलाइजेसन (अभौतिकरण) गर्न धितोपत्र बोर्डले तदारुकता देखायो। डिमेट्रियलाइजेसनकै छोटो रुप डिम्याट हो। २०७२ माघदेखि डिम्याट भएका सेयर मात्रै कारोबार गर्नुपर्ने बोर्डको अनिवार्य निर्देशनपछि यो प्रभावकारी रुपमा कार्यान्वयनमा आयो। यसका लागि सबै लगानीकर्ताले प्रमाणपत्रलाई डिम्याट गर्नुपर्ने भयो।
अन्यथा कारोबार नहुने भएपछि सबै प्रमाणपत्रका धनीहरुको नाममा सेयर डिम्याट गर्न थालियो। सिडिएस एण्ड क्लियरिङको मातहतमा रहनेगरी विभिन्न मर्चेन्ट बैंक तथा ब्रोकर कम्पनीहरुले डिम्याट खाता खोल्ने अनुमति पाए। अहिले यस्ता ६० कम्पनीले डिम्याट खाता खोलिदिन्छन्। यी कम्पनीलाई निक्षेप सदस्य अर्थात डिपोजिटरी पार्टिसिपेन्ट (डिपी) पनि भन्ने गरिन्छ।
डिम्याट खाता खोल्दा शुल्क १ सय ५० रुपैयाँ तोकिए पनि केहीले त अहिले निशुल्क समेत गराएका छन्। त्यस्तै खाता नवीकरण वापत वार्षिक रुपमा डेढ सय रुपैयाँ कम्पनीलाई तिर्नुपर्दछ।
त्यति मात्रै नभई ब्रोकर कम्पनीमार्फत सेयर कारोबार गरिसकेपछि पनि प्रतिकारोबार २५ रुपैयाँ डिपी फि भनेर कटौती हुने गरेको छ। कारोबार भइसकेपछि एउटा लगानीकर्ताको नाममा रहेको सेयर अर्कोको नाममा डिम्याट खातामै हस्तान्तरण हुने भएकाले २५ रुपैयाँ सेवा शुल्क लाग्ने गरेको छ।
एउटा कम्पनीमा डिम्याट खोलिसकेपछि अर्कोमा खोल्न नपाइने व्यवस्था बोर्डले लागू गर्ने तयारी गरेको छ। डिम्याट खाता खोल्न
यी ६० मध्ये जुनसुकै कम्पनीमा गई तोकिएको ढाँचामा फारम भरेर खोल्न सकिन्छ। यसका लागि नागरिकताको प्रतिलिपी, फोटो, बैंकको खाता नम्वर र १ सय ५० रुपैयाँ शुल्क लिएर स्वयम् आफू नै उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।