व्यवस्थापिका संसद बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छनौट हुँदै गर्दा पुँजी बजारमा पनि उत्साह देखिएको छ।
नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्दै गर्दा सेयर बजार करिब ३५ अंकले उक्लिएको छ।
राष्ट्रिय जनता पार्टीले पनि सरकारलाई साथ दिने भएकाले दोस्रो चरणको स्थानीय निर्वाचनका लागि वातावरण सुनिश्चित हुने विश्वास लगानीकर्तामा बढ्दा बजारमा उत्साह देखिएको हो।
३४ दशमलव ७२ अंकले नेप्से बढेर १६ सय ३७ अंकमा अडेको छ। सेयर बजारको अंक मात्रै नभई कारोबारमा समेत वृद्धि भयो।
कुल १ सय ४८ कम्पनीको ९१ करोठ १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार सुरु भएदेखि नै उक्लिएको नेप्से आज दिनभर रातो हुन पाएन। बिमा समूह सबैभन्दा धेरै १७२ अंकले उकालो लाग्दा बैंकिङ, जलविद्युत र विकास बैंक समूह ३५–३५ अंकले उक्लिए।
होटल ६२, फाइनान्स ७ र अन्य समूह १५ अंकले उक्लिए भने उत्पादन समूह १४ अंकले रातो रह्यो।
यस दिन सिभिल बैंकको सबैभन्दा बढी ७ करोड २५ लाखको सेयर कारोबार भयो। दोस्रोमा रहेको स्टाण्डर्ड चार्टड बैंकको ६ करोड ८२ लाखको कारोबार हुँदा सिद्धार्थ इन्स्योरेन्स, नेपाल लाइफ र हिमालयन जनरल इन्स्योरेन्स पनि उत्कृष्ट पाँचभित्र पर्न सफल भए।
मिथिला लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो। आरएसडिसीको ९. ९ र वर्ल्ड मर्चेन्ट बैंकिङको ८. ५ प्रतिशतले मूल्य बढ्यो। बोटलर्स नेपाल तराईको मूल्य सबैभन्दा बढी २. ९ प्रतिशतले घट्यो। बैंक अफ काठमाण्डु, एनएमबि माइक्रोफाइनान्स, रिलायन्स फाइनान्सको थप सेयर सूचीकृत भएको छ।