साउदी अरेबिया, युएई (दुबई)का एयरलाइन्सहरुले कतार जाने कुनै पनि यात्रुलाई नबोक्ने भएका छन्। साउदी अरेबिया, बहराइन, युएई र इजिप्टले छिमेकी मुलुक कतारसँगको कुटनीतिक सम्बन्ध अन्त्य गरेसँगै त्यहाँका एयरलाइन्सले पनि कतारका सबै उडान रद्द गर्ने भएका हुन्।
ती देशहरुबीचको कुटनीतिक तनावको कारण काठमाडौंबाट दोहा जाने नेपालीहरुले पहिलेजस्तो युएई तथा अरबका एयरलाइन्समार्फत यात्रा गर्न नपाउने अवस्था आएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।
कामको खोजीमा जाने नेपालीहरु सबैभन्दा बढी जाने गन्तव्य मुलुक कतारको यात्रा कठिन भएपछि हवाई यात्रा कठिन हुनसक्ने प्रवक्ता ठाकुरले जानकारी दिए।
कतारका चार छिमेकी मुलुकहरुले विज्ञप्ति जारी गर्दै कतारसँगको आवत जावतका निम्ति जमिन, हवाई, र समुद्री बाटो बन्द गरेको घोषणा गरेका छन्।
योसँगै नेपालीहरुलाई पनि कतार जानको लागि यात्रा गर्न कठिन हुने बताइएको छ। अब कतार एयरवेज र हिमालय एयरलाइन्सको मात्र दोहा उडान हुने छ। तर यो भन्दा पहिले इतिहाद, फ्लाई दुबई लगायतका एयरलाइन्सले दोहाको लागि यात्रुहरु ओसारपसर गर्ने गरेका थिए।
पहिले नेपाली यात्रुहरुले भाडा र सिटको पर्याप्तताको आधारमा दोहा जानको लागि धेरै एयरलाइन्स छनौट गर्न पाउँथे तर अब छनौट त के पर्याप्त सिट नै पाउन नसक्ने अवस्था आउने ठाकुरले बताए।
‘जस्तो पहिले कुनै पनि नेपाली यात्रुले दोहाको नियमित उडानमा टिकट नपाएमा युएई भएर जान्थे’ ठाकुरले सेतोपाटीसँग भने, ‘तर अब दोहामा नियमित उडान भर्ने एयरलाइन्सबाट मात्र नेपालीहरु जान पाउनेछन्।’
उनका अनुसार इतिहाद एयरलाइन्सले काठमाडौं–आवुदावी–दोहा उडान गर्ने गरेको थियो। त्यस्तै अन्य एयरलाइन्समार्फत पनि नेपालीहरु दोहा जान्थे। तर अब नेपालीहरु काठमाडौं–दोहा उडानमार्फतमात्र जान पाउनेछन्।
यसपछि नेपालीहरुको दोहा यात्रा कठिन हुनसक्ने ठाकुरको भनाइ छ।
इजिप्टको सुन्नी धार्मिक संगठन मुस्लिम ब्रोदरहुड र सिया राष्ट्र इरानलाई समर्थन गरेको कतारसँगको कुटनीतिक सम्बन्धसँगै सबैप्रकारका यातायात पनि बिच्छेद गर्ने चार देशहरुले घोषणा गरेका छन्।