झण्डै २० वर्ष अघि एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्थिन् तर उनले काम गर्ने संस्था देशको अवस्थाको कारण बन्द हुने अवस्था आयो। संस्था नै बन्द भएपछि उनले पत्रिकामा जागिर खुलेको विज्ञापन देखिन र आवेदन दिइन् आइएनजिओ नै ठानेर।
तर उनले जहाँ आवेदन दिएकी थिइन् त्यो एनजिओ नभएर म्यानपावर थियो। अर्थात विदेश काम गर्न जाने नेपालीहरुलाई पठाउने एउटा संस्था थियो। यसरी थाहा नपाएर ललितपुर लुभुकी सुवर्ण श्रेष्ठ वैदेशिक रोजगार व्यवसायमा जागिर खान थालिन्।
सुरुमा उनलाई विदेश जाने नेपालीहरुले पाएको दुःख समस्या बाहिर सुनेको देखेको कारणले खराब ठाउँमा गएजस्तो पनि नलागेको होइन तर उनले उक्त ठाउँमा काम सिकेको बताउँछिन्।
‘मैले त्यहाँ ९ महिना काम गरेर व्यवसायका सबै सीप सिके’ उनले भनिन्,‘त्यसपछि मैले बाँकी २ म्यानपावरमा तीनवर्षजति काम गरे।’ उनले करिब चारवर्ष म्यानपावरमा काम गरिन् त्यही उनको टर्निङ बन्यो सायद जीवनकै। किनकी उनले त्यही कामबाट आत्मविश्वास हासिल गरिन् कि आफैँ व्यवसाय गर्ने। आफैँ सकिन्छ भनेर उनले २०६४ सालमा मदिना इन्टरनेशनल प्रालि स्थापना गरिन् ।
यसरी एनजिओको जागिर हुँदै अन्जानबस खानपुगेको म्यानपावरको जागिरपछि उनी वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठनको नेतृत्वमा पुग्ने आँट गरिरहेकी छिन्। वैदेशिक रोजगार मंचको तर्फबाट आसन्न अधिवेसनमा उनले महासचिवमा उमेद्वारी दिने तयारी गरेकी छिन्। यसअघि मंच, संघमा विभिन्न ठाउँमा बसेर सांगठनिक जिम्मेवारी सम्हालिसकेकी छन्।
कामप्रतिको इमान्दारिता, व्यवसायप्रतिको दायित्व र व्यावसायिक हकहितप्रति आफू सुरुदेखि नै अटल भएर लागेकोले सुरुदेखि नै व्यवसायीहरुबीच स्थापित भएको उनको दाबी छ। सदस्य भएपछि संघको सचिवमा निर्वाचित भएकी सुवर्ण अहिले महासचिवको दावेदारी प्रस्तुत गरेकी छन्। हुन त उनी अघिल्लो अधिवेसनमै सो पदको लागि उठ्ने विचार गरेकी उनले त्यतिवेला रोहन गुरुङको लागि बाटो खुल्ला गरिदिइन्।
उनी महासचिवको दावेदारी दिँदैगर्दा यो क्षेत्रको व्यवसायलाई मर्यादित र कामदारको सुरक्षाको लागि लागिपर्ने बताउँछिन्। एजेन्टदेखि नेपाली कामदारले स्वदेशदेखि विदेशसम्म भोग्ने समस्या समाधानका एजेन्डा भएका र महासचिव निर्वाचित भएपछि आफ्नो ठाउँबाट सक्दो प्रयास गर्ने बताउँछिन्।
उनको पहिलो एजेन्डा छ, जहाँबाट विदेश जानेहरुले पासपोर्ट लिन्छन् त्यही अभिमुखीकरण तालिमको व्यवस्था हुनुपर्ने त्यसको लागि वैदेशिक रोजगार प्रबद्धृन बोर्डले पहल गर्नुपर्ने त्यसमा संघले सहकार्य गर्ने उनको भनाइ छ।
व्यवसायीमात्र होइन कामदार, सरकार, व्यवसायी सबैले उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने उनको बुझाइ छ। एजेन्टहरुको समस्या समाधान गर्नको लागि म्यानपावरबाटमात्र अनुमति दिनेभन्दा पनि प्रशासन कार्यालयबाट अनुमति दिनुपर्ने उनको बिचार छ।
‘एउटा एजेन्टले एउटा म्यानपावरमामात्र काम गर्दैन, उसले विभिन्न ठाउँमा काम गर्छ त्यसैले प्रशासनबाट अनुमति दिने व्यवस्था गर्नुपर्छ।’ उनले भनिन्। उनी व्यावसायिक हकहितमात्र होइन कामदारको सुरक्षा, कल्याण र नेपालीहरुले विदेशमा राम्रो काम, धेरै आम्दानी कसरी गर्नसक्छन् भनेर सबै चिन्तित हुनुपर्ने बताउँछिन्।
‘नेपालीले विदेशमा नेपाली सुरक्षित काम र राम्रो आम्दानी पाउनको लागि सीप सिक्नुपर्छ’ उनले भनिन्, ‘यसको लागि सरकारमात्र होइन हामी आफैँपनि संगठितरुपमा आवासिय तालिम केन्द्र खोल्न सक्छौं जहाँबाट दक्ष कामदार आउँछन्।’
आफू महासचिव भएपछि संस्थागतरुपमा नै यस्ता काममा लागिपर्ने र सकेसम्म यो क्षेत्रलाई मर्यादित, आक्षेपमुक्त बनाउने उनको योजना छ। महिला कामदारलाई विदेश काम गर्न जान रोकिएको सन्दर्भमा उनी सहमत छैनन्। पुरुष जान पाउने तर महिला जान नपाउने व्यवस्थाप्रति उनको गम्भिर असन्तुष्टि रहेको छ।
यसको कारण महिलाहरु झन जोखिममा परेको उनको बुझाइ छ। जब सरकारले कानूनी ढोका बन्द गर्छ तब झन गैरकानूनी र जोखिमपूर्ण ढोका खोजी हुने भएकोले महिला रोजगारीबारे सरकार गम्भिर हुनुपर्ने उनको भनाइ छ। महिला रोजागरीलाई व्यवस्थित गराउनतर्फ सरकारले पहल गर्नुपर्ने र त्यसको लागि संघले सहयोग गर्ने र विगतमा पनि गरिरहेको उनले बताइन्।