राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने भएको छ। पार्टीको संसदीय दल बैठकले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता सुशील श्रेष्ठले बताए।
यसअघि पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी तथा सांसदको बैठकले नयाँ प्रधानमन्त्रीका पक्ष तथा विपक्षमा मतदान गर्नका लागि टुङ्गो लगाउन नसकेपछि आवश्यक निर्णय लिन संसदीय दललाई जिम्मेवारी दिइएको थियो।
बैठकमा अधिकांश सहभागीले नयाँ प्रधानमन्त्रीका पक्षमा मतदान गरी सरकारमा जान सुझाए पनि अध्यक्ष थापाले त्यसलाई नकारेपछि निर्णय लिन सकेको थिएन।