आगामी जेठ २७ र २८ गते हुने कोरियन भाषा परीक्षाका लागि केन्द्रहरु तोकिएको छ। इपिएस कोरिया शाखाले दुई सिफ्टमा परीक्षा संचालन गर्नेगरी राजधानीका विभिन्न स्कुल तथा कलेज गरी २६ केन्द्रहरु निर्धारण गरेको छ। पहिलो सिफ्टको परीक्षा बिहान ८ बजेदेखि १० बजेसम्म र दोस्रो सिफ्टको परीक्षा १२ बजेदेखि २ बजेसम्म हुने इपिएस शाखाले जनाएको छ।
यो वर्ष ७५ हजार ६ सय १२ युवाले रोजगारीका लागि इपिएस परीक्षामा सहभागी हुनेछन्। यीमध्ये १० हजार २ सय जनाले कोरियामा गई काम गर्ने अवसर पाउने छन्। जसमा ४ हजार उत्पादन र ६ हजार २ सय कृषि क्षेत्रमा जाने छन्। गत वर्ष जम्मा ३ हजार छनौट भएकोमा यस वर्ष कोरियाले बढाएर लैजाने भएको हो। २०१७ को अन्त्यबाट कोरिया लैजाने काम सुरु हुने बताइएको छ।
बागमति स्कुल सुकेधारा, रेडियन्ट रिडर्स एकेडेमी सानेपा, जेम्स उच्च मावि धापाखेल, लिटिल एन्जेल्स स्कुल हात्तिवन, एलआरआई स्कुल कलंकी, एनकेसिंह मेमोरियल नयाँ बानेश्वर, भिएस निकेतन मिनभवन, ल्याब्रोटरी उच्च मावि कीर्तिपुरमा परीक्षा केन्द्र तोकिएको छ।
त्यस्तै अन्य परीक्षा केन्द्रहरुमा मोलिस उच्च मावि, क्यास्पियन भ्याली कलेज कुमारीपाटी, गोल्डेनगेट इन्टरनेसनल कलेज बत्तिसपुतली, हिमालय कलेज कोटेश्वर, हिमालयन ह्वाइट हाउस कलेज तिनकुने, आइडियल मोडल स्कुल धोविघाट, किष्ट कलेज कमलपोखरी, नोबल एकेडेमी नयाँ बानेश्वर रहेका छन्।
पिनाकल एकेडेमी लगनखेल, रेडन कलेज सामाखुशी, टाईम्स ईन्टरनेसनल कलेज डिल्लीबजार, ट्रिनिटी ईन्टरनेसनल कलेज डिल्लीबजार, युनिभर्सल कलेज मैतिदेवी, भिएस निकेतन कलेज तिनकुने, जेभियर ईन्टरनेशनल कलेज कालोपुल, जेभियर ईन्टरनेशनल स्कुल बौद्घ, एसियन ईन्सटीच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट खुमलटारमा परीक्षा केन्द्र तोकिएको छ।
परीक्षा दिन जाँदा आवेदकले राहदानीको सक्कल र प्रवेशपत्रको रंगीन प्रिन्ट अनिवार्य लैजानुपर्ने व्यवस्था गरिएको छ। प्रवेशपत्र नम्वर अनुसार कुन केन्द्रमा तपाईको परीक्षा हुन्छ ? जानकारीका लागि यहाँ क्लिक गरी सिट प्लान हेर्नुहोस्।