नेपाल-भारतको सीमामा आतंक मच्चाएर प्रहरीको मोष्ट वान्टेट सूचीमा रहेका बब्लु दुबेको गोली हानी हत्या भएको छ। पर्सा र बाराका साथै सीमावर्ती भारतीय शहरमासमेत हत्या, अपहरण, फिरौती, लुटपाटजस्ता आपराधिक गतिविधि गरी आतंक मच्चाएका भारतीय नागरिक बब्लु दुबेलाई भारतीय आपराधीले बिहीबार बिहान गोली हानी हत्या गरेका छन्।
एक वर्ष अगाडि वीरगन्ज उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष प्रदिप केडियाका दाई सुरेश केडियाको बाराबाट दुबे समूहले नै अपहरण गरेको थियो।
वीरगञ्ज खाद्य उद्योगका सञ्चालकसमेत रहेका सुरेश केडियालाई बाराको बरियारपुरबाट वीरगन्ज आउने क्रममा भारतीय अपराधीहरुले अपहरण गरेका थिए।
बिहीबार साँझ आफ्नै गाडीमा यात्रा गरिएका केडियाको बाराको भारतीय नम्बर प्लेटको स्कार्पियोमा आएका अपराधीको समूहले करिब सात बजे उनका चालकलाई गोलीहानी अपहरण गरी लगेका थिए। भारत मझौलीयाको अहवर शेखका मुखिया जवाहर साहको हत्या मुद्दामा दुबेलाई प्रहरीले बेतिया अदालतमा हाजिर गराउन लगेको बेला अदालत परिसरमै आएका अपराधीहरुले गोली प्रहार गरी दुबेको हत्या गरेका हुन्।
अदालत परिसरमै गोली प्रहार गरी दुबेको हत्या गरिएपछि केही समयको लागि बेतियाको जनजीवन त्रसीत बनेको थियो।
दुबेलाई गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको भारतीय प्रहरीले जनाएको छ। भारतमा अपराध गरेर नेपालमा बस्दै आएका दुबेलाई तीन वर्ष पहिले नेपाल प्रहरीले काठमाडौंबाट पक्राउ गरि भारतीय प्रहरीको जिम्मा लगाएको थियो। उनलाई भारतीय प्रहरीले भारतको बक्सर जेलमा राखेको थियो। बिहीबार बक्सर जेलबाट बेतिया अदालतमा पेशीका लागि ल्याइएका बेला दुवेलाई विपरित अपराधी समूहले गोली हानी हत्या गरेको भारतीय प्रहरीको अशंका समेत रहेको छ।