काठमाडौँमा घना बस्तीको बिचमा
घडेरी किनेर युरोप भासिएको
र दशकौँ उतै हराएको मानिसको
घडेरी जस्तै भयो— हमुमन्तेको अवस्था
यताबाट मिचे
उताबाट मिचे
मिचाहाले त मिची नै हाले
‘मिच्नु हुँदैन’ भन्नेहरूले पनि मिचे
मिचेर जति बाँकी रहेको थियो
त्यसमा पनि मिचे
मिच्न पनि—
खेती गर्नेले पनि मिचे
घर बनाउनेले पनि मिचे
प्लटिङ गर्नेले त झन् कति मिचे, मिचे
र बेचेर टाप कसे
हनुमन्ते बोलेन।
पहिले अलमस्त बग्थ्यो— हनुमन्ते
हिउँदमा पौडी खेले हुन्थ्यो
बर्खामा यसको फूर्ति हेर्न लायक हुन्थ्यो
मानिसहरूलाई यसको यो रूप सह्य भएन
अनि यसलाई फोहर सेलाउने जगाह ठाने
नगरपालिकाहरूले यसलाई ढल खसाल्ने ठाउँ पारे
मानिसहरूले यसलाई ढलमै रूपान्तरण गर्ने प्रयास गरे
पहिले हनुमन्तेबाट खेतमा कुलो लैजान्थे— मान्छेहरू
पछि मानिसहरूले यसलाई कुलो नै बनाउने प्रपञ्च रचे
हनुमन्तेको केही सीप लागेन
कालान्तरमा हनुमन्तेको ढलक-ढलक चेपुवामा पर्यो
र हनुमन्ते झन्डै-झन्डै राजकुलोकै स्वरूपमा झर्यो
तैपनि हनुमन्ते बोलेन।
नबोल्ने हो भने
नामनिसान रहँदैन भन्ने लाग्छ क्यारे
यदाकदा हनुमन्ते बोल्छ
जस्तै यस पटक बोल्यो
यस पटक हनुमन्ते हाम्रो घरघरमा आयो
यस पटक हनुमन्ते हामीले यसलाई ‘चढाएकैजिनिस’ लिएर
हाम्रो भान्सा-भान्सामा पुग्यो
र भन्यो—
‘बाबु हो! नानी हो!
कति राम्रा र अग्ला तिमीहरूका घर!
कति राम्रा तिम्रा फूलबारी!
कति सुन्दर तिम्रा भान्सा कोठा!
तर म पाहुना लाग्न भने आएको होइन
म तिमीहरूका सुन्दर घर, फूलबारी र भान्सा कोठा हेरेर
रमाउन आएको पनि होइन
म मेरो पहिलेको चालढाल माग्न आएको हुँ
अर्घेलो नठान
पहिलेको नाप नक्सा होला— त्यो हेर
नभए टोल समाजको बुढापाकालाई सोध
यी प्रमाण हुन् भने मेरा प्रमाण यिनै मात्रै हुन्
तर यी प्रमाणका आधारमा
म कुनै अदालतमा नालिस दिन सक्दिनथेँ
म कुनै वकिललाई फिस दिएर मेरो पक्षमा
बहस गराउन सक्दिनथेँ
त्यसैले म सोझै
तिमीहरूसँग मेरो पहिलेको स्वरूप माग्न आएको हुँ
म तिमीहरूको अनेकन् प्रयत्नको बाबजुद
खुम्चिन र साँघुरिन सक्दिनँ भन्न आएको हुँ।’