विदेशबाट रेमिटेन्स भित्र्याउने सेवामा क्रान्ति ल्याएको आइएमई समूहले बैंकिङ, हस्पिटालिटी, केबलकार र जलविद्युत हुँदै केही समययता उत्पादनशील क्षेत्रमा हात हालेको छ।
आइएमईले एकैचोटि दुइटा उद्योगमा लगानी गरेको थियो। तीमध्ये दुई अर्ब लगानीमा स्थापना गरिएको महोत्तरीको नेपाल पल्प एन्ड पेपर उद्योग गत फागुनबाट सञ्चालनमा आइसकेको छ। अर्को उद्योग एभरेष्ट फाइबर सिमेन्ट बोर्डले पनि यसै साताबाट उत्पादन बजारमा ल्याएको छ।
रौतहटको विजयपुरस्थित यो दोस्रो उद्योगमा डेढ अर्ब रूपैयाँ लगानी गरिएको आइएमईले जनाएको छ।
यी दुवै उद्योगको सुरूआत कोभिडकालमा भएको थियो। त्यति बेला धेरै लगानीकर्ता अत्तालिएका थिए, उद्योगहरू थला परेका थिए। आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले भने असहज परिस्थितिकै बीच उत्पादनशील क्षेत्रमा पाइला सारे।
'सबैतिर निराशा छाएका बेला अरूलाई उत्प्रेरणा हुन्छ भनेर हामीले नयाँ क्षेत्रमा लगानी गर्ने निर्णय गरेका थियौं,' ढकालले भने, 'जोखिमबारे धेरै सोच्नेले व्यवसाय गर्न सक्दैन। उद्यमीहरू जस्तोसुकै जोखिममा पनि आत्मविश्वासका साथ अगाडि बढ्छन्।'
आइएमई समूह आफैमा राजनीतिक र आर्थिक हिसाबले संकटपूर्ण समयमा सुरू भएको हो।
आजभन्दा २५ वर्षअघि सन् २००१ मा यो कम्पनी स्थापना हुँदा लगानीको हिसाबले नेपालको अवस्था अत्यन्तै असहज थियो। माओवादी द्वन्द्व उत्कर्षमा थियो भने राजनीतिक अस्थिरताले पुराना लगानीकर्ताहरू पनि हच्किएका थिए।
त्यस्तो समय विदेशबाट रेमिटेन्स भित्र्याउने सेवाबाट सुरू भएको यो कम्पनीले पछिल्ला साढे दुई दशकमा थुप्रै क्षेत्रमा हात हालेको छ र २० हजारभन्दा बढीलाई रोजगारी दिएको छ।
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल पनि संकट बेला सकारात्मक ऊर्जा प्रवाह गरेको भन्दै आइएमई र ढकालको तारिफ गर्छन्।
उनले गत जेठ ३० गते आइएमईको २५औं वार्षिकोत्सवमा भनेका थिए, 'देशको अवस्था असहज रहेका बेला र आर्थिक रूपमा निराशा छाएका बेला विदेशबाट रेमिटेन्स भित्र्याउने कम्पनी खोल्छु भनेर चन्द्रजी लगानी गर्न अघि सर्नुभयो।'
सुरूआती दिनमा मात्र होइन, पछि लगानी विस्तार गर्दा पनि ढकालले सहज वातावरणको लाभ उठाएका होइनन्। असहज अवस्थाबीच नै केबलकार, हस्पिटालिटी, उत्पादनशील लगायत क्षेत्रमा फड्को मार्ने जोखिम मोलेका हुन्।
कोभिड महामारीको प्रभावले अर्थतन्त्र शिथिल रहेका बेला उनले अर्बौं रूपैयाँ लगानीका दर्जन परियोजना सुरू गरेका थिए। तीमध्ये करिब आधा परियोजना सञ्चालनमा आइसकेका छन्।
कोभिडकालमा सुरू गरिएको एभरेष्ट फाइबर सिमेन्ट बोर्ड र पेपर उद्योग त्यसैमध्येका हुन्।

एभरेष्ट फाइबरले अत्याधुनिक प्रविधियुक्त ह्वाइट (फाइबर) सिमेन्ट बोर्ड उत्पादन गर्छ। यो यस्तो निर्माण सामग्री हो; जसले घरको भित्ता, छत, बाहिरी पर्खाल, फर्निचर तथा अन्य संरचनात्मक काममा सहयोग पुर्याउँछ।
यो उद्योगको उत्पादन क्षमता दैनिक तीन हजार पाँच सय बोर्ड छ। यसले चार फिट लम्बाइ, आठ फिट चौडाइ र चारदेखि ३० एमएम मोटाइका बोर्ड उत्पादन गर्छ। ती बोर्ड अग्नि प्रतिरोधक, जलवायु प्रतिरोधक र प्लास्टरबिनै संरचना निर्माण गर्न मिल्ने खालका छन्। यसले अब १०–१५ दिनमै घर निर्माण सम्भव हुने आइएमई समूहको दाबी छ।
यस्ता बोर्ड सामान्यतया पुनर्वास, प्राकृतिक विपद बेला आपतकालीन संरचना बनाउन र अस्थायी बस्ती बसाउन सहयोगी हुनेछन्। यसले देशको विपद तयारी र प्रतिरोधात्मक क्षमता बढाउने अपेक्षा गरिएको ढकालको भनाइ छ।
यो उद्योगले दुई सयभन्दा बढीलाई रोजगारी दिएको कम्पनीले जनाएको छ। यसमा ९८ प्रतिशत स्थानीय जनशक्तिले काम गरिरहेका छन्। तीमध्ये ४० प्रतिशतभन्दा बढी महिला छन्।
उता कोभिडकालमै सुरू भएर गत फागुनबाट सञ्चालनमा आएको महोत्तरीको पेपर उद्योगले विद्यालय तथा कलेजका कापी, फोटोकपी पेपर, टिस्यू पेपर लगायत उत्पादन गरिरहेको छ।
ढकालका अनुसार दैनिक ७५ टन उत्पादन गरिरहेको यो उद्योगले भविष्यमा १५० टन उत्पादन गर्ने लक्ष्य राखेको छ। यसले पूर्णतया नेपाली कच्चापदार्थ प्रयोग गर्छ। करिब ५०० जनाले रोजगारी पाएको कम्पनीले जनाएको छ।
यो उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा अहिले भइरहेको आयात ३० प्रतिशत घट्ने ढकाल बताउँछन्।

उत्पादनशील क्षेत्र सँगसँगै कोभिडकालमै ढकालले विभिन्न ठाउँमा हस्पिट्यालिटी तथा केबलकार परियोजना अघि बढाएका थिए।
उनी २०७२ सालमा काठमाडौंको चन्द्रागिरिमा रिसोर्ट र केबलकार निर्माणसँगै हस्पिट्यालिटी क्षेत्रमा प्रवेश गरेका हुन्।
त्यसैलाई निरन्तरता दिँदै नवलपुरको मौलाकाली केबलकार र बुटवलको लुम्बिनी केबलकार सञ्चालनमा आइसकेका छन्। मौलाकाली केबलकारमा होटलसहित दुई अर्ब रूपैयाँ लगानी छ भने लुम्बिनी केबलकारमा रिसोर्टसहित ५ अर्ब लगानी गरिएको छ।
त्यस्तै सुदूरपश्चिमको कैलालीमा जाल्पादेवी केबलकार र कोशी प्रदेशको ताप्लेजुङमा पाथीभरा देवी दर्शन केबलकार निर्माणको चरणमा छन्। कास्कीको सिक्लेस लगायत बाँकी केबलकार परियोजना पनि प्रक्रियामै रहेको आइएमईले जनाएको छ।
हस्पिट्यालिटीतर्फ काठमाडौंमा चन्द्रागिरि हिल्स रिसोर्ट र ला हिमालय, बागलुङमा इला कम्फर्ट होटल, पोखरामा लेक साइड रिट्रिट, मौलाकालीमा इला मौलाकालीसहित ५ वटा होटल सञ्चालनमा छन्।
कोभिडकै बीच आइएमईले करिब १५२ मेगावाट क्षमताको जलविद्युत आयोजना (तिप्ल्याङ कालीगण्डकी जलविद्युत आयोजना) अघि बढाएको थियो। आइएमईका अनुसार म्याग्दीको कालीगण्डकी नदीमा निर्माण गरिने उक्त आयोजनाको भौतिक निर्माण सुरू भइसकेको छ।
यसअघि आइएमईले २७ मेगावाटको दोर्दी र ४२ मेगावाटको मिस्ती खोला जलविद्युत आयोजनामा लगानी गरेको थियो। दुवै आयोजना सञ्चालनमा छन्।
यसबाहेक आइएमईले काठमाडौंमा टेक्निकल स्कुल सञ्चालनमा ल्याएको छ। यसले प्राविधिक क्षेत्रमा सीपमूलक तालिमहरू दिन्छ। आगामी १० वर्षमा एक लाख मानिसलाई रोजगारमूलक सीप दिने लक्ष्य राखिएको छ।
अध्यक्ष ढकाल आफूले तीनवटा मुख्य विषयमा ध्यान दिएर लगानी गरेको बताउँछन्। पहिलो, सरकारको प्राथमिकता वा चाहना; दोस्रो, त्यो लगानीबाट आमजनताले पाउने वास्तविक फाइदा; र तेस्रो, व्यावसायिक सम्भाव्यता।
'म नाफा मात्र हेरेर लगानी गर्दिनँ। यी तीनवटा विषयलाई मूल मन्त्रका रूपमा लिन्छु,' उनले भने, 'यही सोच राखेर पर्यटन, जलविद्युत र डिजिटलाइजेसन जस्ता क्षेत्रमा काम गर्दा सफलता पाएका छौं।'
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत रहेका ढकालले निजी क्षेत्रलाई सरकारको साझेदारका रूपमा काम गर्न सुझाव दिए।
'सार्वजनिक–निजी सहकार्यलाई मजबुत बनाउन नीति, कानुन र प्रक्रियाको सरलीकरण आवश्यक छ,' उनले भने, 'सरकारले पनि निजी क्षेत्रलाई साझेदारका रूपमा स्वीकार गर्नुपर्छ।'
***