एउटा नचिनेको भुमरी भित्र म छु
यहाँ कसरी पसेँ, खै कसरी फसेँ
कहिले बसायो या म आफैँ बसेँ
म खै कसरी यस चक्रमा फसेँ।
न निस्कन सक्छु उफ्रिएर फुत्त
न प्याट्ट फोड्न सक्छु यसको चक्षु
म किन यस्तो भएँ, किन मबाटै हराएँ
आफैँ सोच्छु अनि आफैँ नै छक्क पर्छु
सारा संसार मसँगै हुँदा पनि
म किन आफैँलाई एक्लो महसुस गर्छु?
मैले आफ्नै दैनिकीका घडीहरू बिगारेँ
आफैँलाई सजाय दिने छडीहरू सिँगारेँ
नजिकका सँगको सम्बन्ध पनि बिगारेँ
आफैँलाई बन्द कोठामा सिँगारेँ
म आफैँ आएँ या कोहीबाट तानिएँ
मलाई माया गर्ने माथि म आफैँ किन हानिएँ?
न म सबैसँग अटाएँ, न म एकलै नै रमाएँ
सबै सही चल्दै गर्दा खै मैले यो कुन बाटो समाएँ
मैले आफैँलाई कराएँ मैले आफैलाई फकाएँ
जे जुक्ति लाउँदा पनि आखिर किन म अन्धकारमै हराएँ?
न दिनमा भोक जगाएँ मैले
न रातमा निन्द्रा पुर्याएँ
बोल्न सकिनँ कोहीसँग मज्जाले
आफ्नालाई पनि दिक्क लगाएँ।
म श्वेत संसारमा रमाउने मनुवा
खै किन अचेल अश्वेतमा रमाएँ
मनमा तर्क गुम्सिए सरि हुँदा पनि
खै किन अरूसँग बोल्न म यसरी डराएँ!
म यस्तो होइन जस्तो लाग्छ आफूलाई
भइसक्यो आफैसँग वितृष्णा
लाग्दछ हराइ जाऊँ सबतिरबाट कतै
आफ्नै मनमा जगाउन सक्छु कि अनि तृष्णा!