काठमाडौंका पुराना म:म पसलहरूको यो शृंखला लेख्ने क्रममा मैले केही समययता धेरै व्यवसायीसँग कुरा गरेकी छु। सँगसँगै, ती पसलमा म:म खाइरहेका ग्राहकको रोजाइ पनि बुझेकी छु।
अधिकांश म:म पारखीको मुखबाट मैले दुइटा कुरा सुनेँ —
पहिलो, ठुल्ठूला रेस्टुरेन्टले सानो कचौरामा दिने अचारमा चोब्दै म:म खानुभन्दा झोल अचारमा चुर्लुम्म डुबेको म:म खानुको स्वाद कहाँ हो कहाँ बढी हुन्छ!
र दोस्रो, प्लेटमा सजाएर राखिएको म:मभन्दा टपरीमा म:म खानुको स्वाद बेग्लै हुन्छ!
म:म पारखीहरूका यी दुई विशिष्ट छनौटमध्ये झोल अचारमा चुर्लुम्म डुबेको म:म खानु ठूलो कुरा होइन। धेरै पुराना पसलमा अहिले पनि यसरी नै खान पाइन्छ।
जहाँसम्म टपरीमा खाने कुरा छ, त्यो भने बिस्तारै हराउँदै गएको अनुभव हुन्छ। पहिले टपरीमै बेच्ने कतिपय पसलले पनि अचेल स्टिलको प्लेटमा खुवाउन थालेका छन्। पसललाई आधुनिक स्वरूप दिँदा बिक्रीको शैलीमा पनि उनीहरूले आधुनिकता ल्याएका छन्।
यस मानेमा सबिना श्रेष्ठ र उनका श्रीमान राजेश श्रेष्ठले १७ वर्षअघि प्याफलमा खोलेको म:म पसल फरक छ।
उनीहरूले सुरूदेखि आजसम्म टपरीमै म:म बेच्दै आएका छन्। र, आफ्नो पसलको नाम पनि 'टपरी म:म' नै राखेका छन्।

पातको टपरीमा म:म खान रूचाउने ग्राहकहरू आज पनि खोजी खोजी यही पसल आउने गर्छन्।
'अचेल पुराना पसलहरूले पनि टपरीमा बेचेको हामी देख्दैनौं, नयाँ रेस्टुरेन्टहरूले त बेच्ने कुरै भएन। एक समय थियो जब मःम भनेकै टपरीमा खाने हो जस्तो लाग्थ्यो। त्यो बेला सबैजसो पसलले टपरीमै म:म दिन्थे,' ४७ वर्षीया सबिनाले भनिन्, 'हामीले त्यसैलाई निरन्तरता दिने कोसिस गरेका हौं।'
उनले अगाडि भनिन्, 'हामीले पनि चाहेको भए प्लेटमा दिन नसक्ने होइन। तर त्यसले म:मको मर्म मर्छ भन्ने लाग्छ। ग्राहकहरू पनि टपरीकै कारण फर्की फर्की हामीकहाँ आउनुहुन्छ।'
म:म पसल सुरू गर्नुअघि उनीहरू प्याफलमै किराना पसल चलाउँथे। त्यो बेला दुई जना छोराको लालनपालन र पढाइलेखाइ त्यही किराना पसलले धानेको थियो। पछि उनीहरूलाई किराना पसलभन्दा म:म बेच्नु आर्थिक रूपले फाइदाजनक हुन्छ कि भन्ने लाग्यो।
सबिना र उनका श्रीमान राजेश आफै पनि म:मका पारखी थिए। तर बाहिरको म:ममा बोसो धेरै हुने डरले उनीहरू प्राय: घरमै बनाएर खान्थे।
'हामीलाई त आफूले बनाएको म:म राम्रो लाग्ने नै भयो, सँगसँगै अरूले पनि खुब मन पराउँथे,' सबिनाले भनिन्, 'बाहिरको भन्दा तपाईंहरूले बनाएको म:म स्वादिलो र स्वस्थ हुन्छ भनेर तारिफ गर्थे। यसले हामीलाई किराना पसल सँगसँगै म:म व्यापार पनि गर्ने हो कि भन्ने लाग्यो।'
त्यही बेला उनीहरूको किराना पसल छेउमा एउटा सटर खाली भयो। उनीहरूले त्यहीँबाट म:म पसलको सुरूआत गरे। पहिले किनारा र म:म पसल दुवै चलाउँथे। पछि म:म व्यवसाय राम्रो हुँदै गयो। उनीहरूलाई दुवैतिर समय दिन भ्याइनभ्याइ भयो। त्यसैले किनारा पसल छाडेर पूर्णकालीन म:म बेच्न थाले।
एउटा सानो सटरबाट सुरू भएको उनीहरूको म:म व्यवसाय अहिले दुइटा सटरमा फैलिएको छ। दुवैमा ग्राहकको राम्रो भिड लाग्छ।
'हामीले प्याफलमा म:म बेच्न थाल्दा यहाँ खासै धेरै मःम पसल थिएनन्। एकाध पुराना पसल मात्र थिए। अहिले त पुरानाले नयाँ स्वरूपमा खोलेका छन्, नयाँ नयाँ पसल पनि थपिएका छन्,' सबिनाले भनिन्।

प्रतिस्पर्धा बढेर पहिलेको तुलनामा ग्राहक कम भए पनि सबिनालाई मनखत छैन। पुराना ग्राहकहरू अझै नियमित आउने गरेको उनी बताउँछिन्।
खासगरी टपरीमा म:म खान चाहने ग्राहकहरूको त रोजाइ नै आफ्नै पसल भएको उनको भनाइ छ।
'मःम भनेको टपरीमै खाँदा मज्जा आउछ भनेर धेरै ग्राहकले भन्नुभएको छ। हाम्रो अचार पनि धेरैले मन पराउनुहुन्छ,' उनले खुसी हुँदै भनिन्, 'कतिपय ग्राहक त घरमा खाना खान पनि हामीकहाँबाट अचार लिएर जानुहुन्छ।'
यो पसलमा चार थरीका अचार पाइन्छन् — लसुनको अचार, पिरो खुर्सानीको अचार, तिलको झोल र गोलभेडाको बाक्लो अचार। टपरीमा यी सबै थरीका अचार मिसाएर म:म खानुको स्वादै भिन्नै हुन्छ!
दिउँसो १ देखि राति १० बजेसम्म खुल्ने यो पसलमा साँझतिर बढी भिड लाग्छ। जात्रापर्वमा अरू दिनभन्दा दोब्बर व्यापार हुन्छ। त्यस्तो बेला दुई जना छोरा पनि काममा सहयोग गर्न आउने उनी बताउँछिन्।
टपरीमा बेच्ने शैली र चार थरीका अचारबाहेक यो पसलको अर्को विशेषता पनि छ। यहाँ हरेक दिन ताजा किमा (मासु) प्रयोग गरिन्छ। किमामा बोसोको मात्रा एकदमै कम हुने सबिनाको दाबी छ।
'हामीकहाँ बूढाबूढीदेखि बालबालिकासम्म आउँछन्। त्यसैले बोसो एकदमै कम भएको किमा मात्र प्रयोग गर्छौं,' उनले भनिन्, 'बासी किमा पनि कहिल्यै प्रयोग हुँदैन।'

पहिले म:म मात्र बेच्ने उनीहरूले पछिल्लो समय ग्राहकको मागअनुसार खानेकुरा थप्दै लगेका छन्।
अचेल यहाँ आलुचप, मिट बल, स्यावाले, चिज बल, चिज कर्नडग, डर्म स्टिक, चिकेन र बफ सेकुवा, चाउमिन, य:मरि, सफुम्हिचा लगायतका खानेकुरा पाइन्छन्। परिकार थपेपछि पसलको नाम पनि 'ए वान फास्ट फुड' राखिएको छ। तर धेरैले 'टपरी मःम' नै भन्छन्।
यहाँ सुरूमा मःमको मूल्य एक टपरीको ८० रूपैयाँ थियो। अहिले १३० पर्छ। दिनको करिब दुई सय प्लेट बिक्री हुने उनी बताउँछिन्।
'हामी अरू ठाउँमा पनि शाखा विस्तार गर्ने सोचमा छौं,' सबिनाले भनिन्।
कुराकानीको अन्त्यमा उनले हाँस्दै यो पनि सुनाइन्, 'हाम्रो त हरेक दिन खाजा भनेकै म:म हो। म:म खाँदा खाँदा मोटाइसकेँ। हरेक दिन आज खाँदिनँ भन्छु, ग्राहकहरूले मिठो भएको छ भनेपछि खान मन लागिहाल्छ।'
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
***






