म हेर्छु मेरै मन भित्रका छिद्रहरूलाई
जहाँ मेरो महत्त्वाकांक्षासँग मिलेर
मेरा इन्द्रियहरूले थुप्रै घाउहरू निर्माण गरेका छन्
म हेर्छु ती बाटाहरू
जुन हुँदै मान्छेहरू आउँछन् अनि जाने गर्छन्
जहाँ पहिलो पल्ट मेरा पाइलाहरू दगुर्न सिकेका थिए
मलाई याद छ, जसको वरिपरि
आज त्यस्ता थुप्रै अनुहारहरू बढारिएका छन्
जो मैले गर्ने उटपट्याङ र बिगो सहन नसकी
पदनाके नाति भन्दै हातमा लट्ठी लिएर मेरो पछि भाग्ने गर्थ्यो
ती अनुहारहरू जो मलाई कोसौँ पर पनि ठम्याउन समर्थ थिए
मान्छे जुन हिसाबले आउँछ
जाँदाको नियति बिलकुल फरक हुन्छ
आउँदा ऊ मात्र रोइरहेको हुन्छ
उपस्थित सबै हाँसिरहेका
जानेहरू प्रायः मौन नै जान्छन्
तर उपस्थिति सबै रोइरहेका
म हेर्छु आवरणहरू, परिवेशहरू
मान्छे यो सबको पछि
एउटा गहिरो निन्द्रामा बाचिरहेछ
बेला-बेलामा झस्कन्छ, ब्युँझिए जस्तो गर्छ
प्रहार गर्छ आफै माथि केही थान मिसाइलहरू
अब ध्वस्त हुन्छ
उसले आफैले बडो गम्भीरताका साथ
सयौँ-हजारौँ वर्षहरू खर्चिएर
निर्माण गरेका सुन्दर सहरहरू।