म हिलाम्मे गरामा खुट्टा टेक्दिन थिएँ
गड्छु कि भन्ने डर र
परै आलीबाटै चिच्याउँथेँ
आमा! आमा!
आफ्नो कर्म नरोकी
मन्द मुस्कानसहित
तिमी हिलोमा धान छुपुछुपु रोप्दै
मधुर वाणीमा होई भन्थ्यौ
खाजा-पानी बोकेर म
राफिँदो घाममा उभिइरहन्थेँ
हातको बीउ नसकिन्जेल रोपिरहन्थ्यौ
तिमीलाई मेलो सक्नुसँगै
मेरो धैर्यता जाँच्नु थियो
म नियाली बस्थेँ
तिम्रा घुँडासम्म सोरिएको
धोतीको फेरमा लागेका हिलोका छिटाहरू
म रमाउँथेँ घुँडासम्मै गाडिएका तिम्रा खुट्टाहरू देखेर
म थाक्दिनँ थिएँ तिम्रो
परिश्रम र मिहिनेतले बगाएका
पसिना देखेर
म तिम्रो बास्नामा मुग्ध हुन्थेँ
र कराउँथेँ छिटो न आमा पोल्यो घामले
असारे घाम
चपेटाको काम
पसिना र छायाको मित्रता अनि खटपट
हामी मुस्काने दाहोरीमै असार बिताउँथ्यौँ
बा'को आली स्नेह
सँगैको कोदाली मोह
र त फल्थ्यो नि मानो रोपेर मुरी
र भित्रिन्थ्यो आनन्दको अन्न
र रमाइन्थ्यो भकारी भित्रको
थकान मरेको सुस्केरासँग
घाम-पानी सँगको मित्रता र
हिले कर्मसँगै उमंगले
भरिएको असारे छिपछिपे
जीवन अब कहाँ पाउनु र आमा
कहाँ जानु र लिन खै त्यो पल
कहिले पन्ध्र असार
कहिले साउने संक्रान्ति
भागदौडमा न दही चिउराको स्वाद छ
न त खिर तरकारीको वासना नै
बोराभरि फलेका चामल
पैसाको बिटोसँगै फालिने असार
र साउनका हिलो सहरमा रेनकोट भित्र दौडिरहेछ
बादल र घामको लुकामारी अब
कार्यकक्ष भित्रको दिवा स्वप्न जस्तो
बा'लाई टाढैबाट असारे र
आमालाई कल्पनाको हिलाम्मे शुभकामना।