भदौ महिनाको अन्तिम शुक्रबार थियो! गते याद छैन अहिले मलाई! हुन पनि कसरी होस्, आज भन्दा ३० वर्ष अगाडिको कुरा! १२ बज्नासाथ घण्टी बज्यो। पढाइ सकिएको संकेत थियो त्यो! घण्टीको बजाइले कक्षाभित्र पस्ने वा छुट्टी भएको वा कक्षा सकिएको सजिलै बुझ्थे विद्यार्थीहरू! अभ्यस्त थिए घण्टीको बजाइसँग! टिनिनी....लगातार घण्टी बज्यो। विद्यार्थी झोला बोकेर हुरूरू बाहिर निस्के! खुसीले सुसेले कतिले त!
स्कुल चौरमा वादविवाद प्रतियोगिता कार्यक्रम थियो! त्यो पूर्वनिर्धारित थियो। कालोपाटीमा चकले लेखिएको थियो 'सहरिया जीवनभन्दा गाउँले जीवन बेस' अघिल्लो दिन नै नाम टिपाइएकाहरू बोल्न तयार थिए।
वादविवाद प्रतियोगिता सुरू भयो। वक्ताहरूले आ-आफ्ना तर्क राखे। राख्दै गए। कतिले सहरिया जीवन राम्रो भनेर तर्क गरे। कतिले गाउँले जीवन राम्रो भनेर तर्क वितर्क गरे। 'गाउँले जीवन बेस' भन्ने पक्षमा तर्क गर्न मन्चमा गएँ म!
सुरू गरेँ मैले भनाइ 'कार्यक्रमका सभापति ज्यू, निर्णायक मण्डल, गुरू वर्ग र प्यारा साथीहरू' ! विपक्षी साथीहरूका तर्क ध्यानपूर्वक सुनेँ! कतिपय तर्क सुनेर हाँस उठ्यो! विनम्रताका साथ मेरा विपक्षीलाई भन्न चाहन्छु। सहर नक्कली छ! यो कृत्रिम छ! ताजा सागपात, फलफूल तथा खानेकुरा खान पाइँदैन! सधैं बासी खानु पर्छ! दिसा पिसाब गरेको समेत पैसा तिर्नुपर्छ! पानी किनेर खानुपर्छ। गरिबहरू बाँच्न सक्दैनन् त्यहाँ!
धुँवा-धुलोले टिकिसक्नु छैन। सँगैको घरमा मृत्यु शोक हुँदा जोडिएको अर्को घरमा भोज चल्छ! मानवीयता हराएको हुन्छ! मानिस पैसाका लागि दैडिन्छ। पैसा बाहेक अरू कुरा गौण हुन्छन्। अरूको बारे बोल्ने र सोच्ने फुर्सद छैन! मानौं मानिसहरू मेसिन हुन्! स्वार्थीको जमात हुन्छ त्यहाँ!यस्तो जीवनमा तपाईंहरूलाई कहाली लाग्दैन? त्यसैले मेरा मित्रलाई भन्न चाहन्छु। गाउँ स्वर्ग हो। यो स्वर्गको टुक्रालाई खिसीटिउरी नगर्नू! सहर भन्दा गाउँ उत्तम छ। हाँसो, खुसी र सन्तुष्टि छ गाउँमा! चाहिएको त्यही होइन र जीवनमा?
अहिले के छैन गाउँमा? बाटो छ! स्कुल छ! स्वास्थ्य चौकी छ! एक अर्कामा सबै परिचित हुन्छन्! सामाजिक जीवन छ। एक अर्काको दु:ख- सुख साट्छन्। एउटा गाउँलेको खुसीमा अरू गाउँले खित्का छाडेर हाँस्छन्! रमाउँछन्! खेतीपाती मिलेर गर्छन्। स्वस्थ छन्! पसिना बगाउँछन् र मीठो निन्द्रामा रात बिताउँछन्! यो कुरा सहरमा पाउनु हुन्छ? अहँ, पाउनु हुन्न! निन्द्रा किन्नु पर्छ! मेरो मतलब सुत्नको लागि औषधि खानुपर्छ! सहरमा क्षण क्षणमा प्रतिस्पर्धा छ! त्यति मात्र होइन, खुला ठाउँमा बसेर सास फेर्ने मुस्किल छ। ठाउँ छैन! कोठामा कोचिएर वा ४ आनाको घरमा निस्सासिएर बस्नु पर्छ! त्यसैलाई सहर भन्छन्।
त्यसैले गुरू वर्ग र निर्णायक मण्डल; गाउँ जिउँदो छ! यो सजिव छ। सहर बनावटी छ! यो नक्कली छ! भन्दै गर्दा समय सकिएको जनाउ घण्टी बज्छ! मैले ठन्डा दिमागले सोच्न र निर्णय दिन निर्णायक मण्डललाई अनुरोध गर्दै आफ्ना कुरा टुङ्याई!
मेरा तर्क सुनेर तरर ताली बज्यो! आफ्नो ठाउँमा बस्न गएँ म! साथीहरूले राम्रो बोलिस् भनेर तारिफ गरे। पछाडि अरू साथीले पनि बोले! खासगरी प्रतिद्वन्द्वी सुस्माको हर कुरालाई सुनेर बसेँ मैले! किनकी सुस्मा कक्षा की दोस्रो थिई। केटी साथीसँग खास खालको मित्रता हुनु पर्थ्यो! तर प्रतिस्पर्धा थियो उसँग! इर्ष्यालु थिएँ म! ऊ नजिकिन खोज्थी! नोट कपि माग्थी तर म भने दिँदैनथेँ। टाढिन्थेँ! अहिले आएर थाहा पाए कि त्यसबेला बच्चै रहेछु म! भावना नबुझ्ने! छ्या!
वादविवादको अन्तिम वक्ता ऊ नै थिई। केही क्षणपछि निर्णय लिएर सर आउनु भयो। वादविवाद प्रतियोगितामा भाग लिने सबैलाई धन्यवाद र बधाई दिनुभयो। सबैले गहन तर्क प्रस्तुत गरेकोमा आफूहरू विद्यार्थीसँग गौरवान्वित भएको कुरा सुनाउनु भयो! मलाई चाहिँ नतिजा सुन्न हतार थियो। सान्त्वना पुरस्कार रमेशले पायो! ऊ चौथो भयो! सरिना तेस्रो भई। दोस्रो को होला भनेर सरले मासमा सोध्नु भयो! कसैले सुस्मा भने कसैले मेरो नाम लिए! मुटु ढुकढुक भयो! एउटा प्रतिस्पर्धामा थिएँ म! जो मैले मनबाट बोलेको थिएँ! सरले सुस्मालाई दोस्रो घोषणा गर्नासाथ साथीहरू मेरो छेउमा आएर मलाई उचाले! बोके! खुसीले लछारपछार पारे! जितको उत्सव मनाए! म विजेता भएँ!
प्रधानाध्यापकले मलाई नगद रु १००० र प्रमाणपत्र तत्कालै दिनुभयो। जीवनको एउटा प्रतिस्पर्धामा सफल भएको अनुभूति गरेँ! पैसा र प्रमाणपत्रभन्दा एउटा जीवन्त विषयमा तर्क राखेर जितेकोमा खुसी भएँ म!
समय बित्दै गयो। गाउँप्रतिको माया अगाध थियो। गाउँलाई एउटा सुन्दर संसार बनाउन सकिन्छ परिकल्पनाका साथ कीर्तिपुरमा एम.ए ग्रामीण विकासमा भर्ना भएँ।
प्रथम श्रेणीको उच्च अङ्क ल्याएँ! गाउँ विकासका खाकाहरू तयार गरेँ मैले! पहिलो, कृषिको रूपान्तरण र कृषिमा व्यावसायीकरण! दोस्रो कृषि औद्योगीकरण र रोजगारी सिर्जना!, तेस्रो स्वास्थ्य-शिक्षा र गुणस्तरीय जीवन प्राथमिकतामा थिए!
योजना बोकेर गाउँ फर्किएँ म! गाउँ फर्कंदै गर्दा पुरानो सत्ता परिवर्तन गरेर नयाँ सत्ता ल्याउने लहर चल्यो! स-शस्त्र द्वन्द्वले गाउँ त्राही त्राही थियो! ज्यान बचाउनु मुख्य कुरा थियो! हिँड्दा हिँड्दै दोहोरो भिड्न्तमा परिएला भन्ने डर हुन्थ्यो। गाउँबाट आर्मी खेदियो! गाउँबाट पुलिस खेदियो! हुने खाने र सक्नेहरू निस्किए! खेदिए! दोधारमा परेँ म! अन्ततः निर्जन हुँदै गएको गाउँमा बस्न सक्दै सकिनँ! अरूहरूको पछिपछि लागेर सहर छिरेँ म! हारेँ मैले!
गाउँबाट युवाहरू सहर छिरे सुरूमा! सहरमा टिकेनन्। विदेश हानिए। उतै हराए ती! सुरक्षा, रोजगारी , स्वास्थ्य, शिक्षा र गुणस्तरीय जीवन मुख्य कुरा रहेछन्! यी कुरा नपाउँदा थातथलो छोडेर हिँडे मान्छेहरू! हेर्दाहेर्दै गाउँ रित्तियो!
भाडामा कोठा लिएर सहर बसेँ म! जान्ने भएर बिग्रेको एउटा पात्र महसुस गरेँ आफैले! एक दिन बाटोमा हिँड्दै गर्दा तत्कालीन समयमा मलाई पुरस्कार दिने हेडसरलाई खुट्टा खोच्याउँदै हिँडेको भेटेँ! धेरै वर्षपछि भेट्दा स्कुल र गाउँका कुराहरू भए! पुराना कुराहरू स्मरण भए! आत्मीयता अझै बढ्यो! तत्कालीन समयका नेपाली गुरू रोगले च्यापेर वर्षौं अगाडि त्यही नजिकै छोराको घरमा बसेको कुरा हेडसरले बताउनु भयो। भेट्न जाने भनेर सोध्नु भयो। दुबै जना गयौं! गुरूलाई भेट्यौं। उहिले स्कुल पढ्दाको आफ्नोपन फर्कियो।
प्रसङ्ग चल्दै जाँदा उबेलाको वादविवाद प्रतियोगिताको कुरा चल्यो! मैले हेडसर र निर्णायक नेपाली सरलाई 'तपाईंहरू बहकिनु भएछ' खासमा बिजेता हुन लायक सुस्मा रहिछ! हकदार रहेनछु म! सुस्मालाई मैले जितेको प्रमाणपत्र र नगद उपहार विशेष समारोहबीच दिन चाहन्छु! बरू एउटा पूर्वविद्यार्थी र शिक्षकको पुनर्मिलन समारोह काठमाडौंमा राखौंभन्दा दुबै गुरूहरूले तुरूक्क आँसु झार्नु भयो!
अहिले मलाई रिस उठेको छ! त्यो ग्रामीण विकास पढाउने केन्द्रीय विभाग कीर्तिपुरमा 'सहरी व्यवस्थापन केन्द्रीय विभाग' को साइन बोर्ड झुन्ड्याउन मन छ! गाउँ विकास होइन, सहर व्यवस्थापन गर्नुपर्ने रहेछ! देशका शासकहरूले गाउँ विकासको कुरा नगरे हुन्छ अब! विकासको मोडेल फेर्नुपर्छ।
त्यो जरूरी छ। गाउँमा बाटो छ। गाडी छैनन्। गोरेटो छ। हिँड्ने मान्छे छैनन्। चौतारी छ। शितल ताप्ने मान्छे छैनन्। सरकारले कारण खोज्नुपर्छ। समीक्षा गर्नुपर्छ। गाउँ गाउँमा भब्य स्कुल छन्। विद्यार्थी छैनन्। नेता छन्, जनता छैनन्। खेतबारी छ, उत्पादन गर्ने मान्छे छैनन्। मैले गाउँ जिउँदो र सजिव छ। यो स्वर्ग हो भनेर निर्णायकलाई रनभुल्ल पारेछु! त्यो बेला विजेता हुँदाको पछुतो अहिले छ मलाई! हार स्वीकार गर्छु! मेरा तत्कालीन प्रतिद्वन्द्वी मित्र सुस्मालाई विजेताको हकदार ठान्छु! अदुरदर्शी र बुद्दु त म रहेछु! गाउँ होइन, सहर बेस रहेछ! जुन कुरामा गर्व थियो; त्यो भ्रम रहेछ! अहिले आएर बुझे तर ढिला भैसकेछ!