'१२ वर्षपछि श्रीमान फर्किए भने म उसलाई ज्वाइँ होइन, बुहारी बनाएर भित्र्याउँछु। मेरो आत्मसम्मानसँग सम्झौता गर्दिनँ अब!'
अभिषाका यी कठोर शब्दहरू उनका आँखा जस्तै गहिरा थिए, जसमा विगतको पीडा, भोगाइको झझल्को, र भविष्यप्रतिको दृढ विश्वास झल्किन्थ्यो।
आशाका किरणहरू जब फिक्का हुन्छन् तब मात्र हामीलाई महसुस हुन्छ, जीवन भोगाइ के हो भनेर? मेरो कथाकी पात्र अभिषाको अलि फरक जीवन भोगाइ छ। त्यो जीवन भोगाइले हामीहरूको जीवनमा केही परिर्वतनको लहर पक्कै पनि थप्ने छ।
एक विकट गाउँ, साँघुरो आँगन, ढुङ्गाका चेपचापबाट निस्किएका घाँस र फुलका थुङ्गाहरू त्यही फूलका थुङ्गाहरू शिरमा सजाउँदै उनी साथीसंगीसँग बात मार्दै, नाच्दै स्कुल जाने गर्थिन्।
स्कुल पुग्दासम्म गाँउभरिका मान्छेहरूको कुरा काट्न भ्याइसक्थिइन्। उनी अरू साथीहरूभन्दा अलि फरक थिइन्। गाउँघरमा विवाह, पूजापाठ, नाचगान हुँदा सबैको मुखमा एउटै नाम हुन्थ्यो अभिषा।
रमाइलो गर्ने, सबैलाई समान व्यवहार साथै सहयोगी भावकी उनी घरपरिवार, स्कुल र समाजमा एक उदाहरण पात्र थिइन्। मध्यम वर्गीय परिवारमा जन्मे पनि बुबा आमाले सुखका साथ पालेका र उनका हरेक आवश्यकता पूरा गर्देका थिए।
बा आमाको सपना भने डाक्टर पढाउने थियो। घर व्यवहारको काम केही नगरेकी अभिषा पढ्नमा पनि राम्रो थिइन्। स्कुलमा पनि मेहनत विद्यार्थीका साथै स्कुलका हरेक कार्यक्रममा सहभागी हुने गर्थिन्। उनलाई गाउन र नाच्न खुबै मन पथ्र्यो। अभिषाको सपना थियो, डाक्टर र गायिका बन्ने तर अभिषाको त्यो सपना अहिले अविश्वासमा परिणत भयो। उनको सपना साँच्चिनै सपनामा नै सीमित भयो।
१२ वर्षको हुँदा अभिषालाई अचानक प्यारालाइसिस हुन्छ। उपचार गरेको केही वर्षपछि ठिक भएता पनि उनको स्वास्थ्यमा भने समस्या देखिरहन्थ्यो। बिरामी हुँदा पनि उनले पढाइलाई निरन्तरता दिइरहिन्। बिरामी हुँदा गाउँ समाजमा फलानाको छोरीलाई सानो उमेरमा नै प्रेम रोग लाग्यो भन्दै गिल्ला गरेको र साथीहरूले पनि पढाइमा सहयोग नगरेकोले पढाइको गति र आत्मविश्वासमा गहिरो चोट पुगेको थियो।
उनले हार नमानी पढाइलाई निरन्तरता दिइन्। घरपरिवारको साथ र सहयोगले गर्दा पहिलेको जस्तै गरी राम्रो नम्बरमा पास भइन् र फेरि उनी पहिलेको जस्तै जीवनमा फर्किइन्।
अभिषा १६ वर्षको हुँदा उनको जीवनमा एक खलनायकको प्रवेश हुन्छ। जुम्ला घर भएका गैरदलित पुरूष कामको शिलशिलामा डोल्पा जिल्ला पुग्छन्। अभिषाको घर नजिकै कोठा भाडा लिएका उनी, अभिषा स्कुल जाँदा आउँदा जिस्काउने गर्थे, अभिषाले उसलाई गाली गर्दा पनि गाउँकै भाइसँग मोबाइल नम्वर मागेर फोन पनि गर्थे। विस्तारै गाउँका मान्छे र उनका साथीहरूले पनि थाहा पाए उनले अभिषालाई मन पराउँछन् भन्ने हल्ला पनि भयो।
अभिषाले दाइ भनेर कहिलेकाहीँ बाटोमा कुरा गर्दा पनि गाउँभरि नै हल्ला हुन्थ्यो र घरमा पनि आमा बुबाले कुरा नगर्नु भनेर सम्झाएका थिए। अभिषालाई पनि उनले बाटो छेकेर जिस्काएको पछि लागेको खासै मन परेको थिएन। उनी आफ्नै दुनियाँमा खुसी थिइन्। एकदिन अचानक अभिषाको कोठाको ढोका ढकढक हुन्छ। उनले सोधिन भित्रबाटै सोध्छिन् को हो? छिमेकी भाइले दिदी ढोका खोल्नु म भाइ भनेपछि उनले ढोका खोलिन बाहिर सोही जिस्काउने दाइ र अरू ६/७ जना केटाहरू भएर अभिषालाई कोठाबाट जबरजस्ती तानेर लान्छन्। अभिषा चिच्याउँदा चिच्याउँदै उनलाई बाइकमा हालेर लान्छन्। त्यसलाई कर्णालीतिर चोरी विवाह (तानेर लाने) भन्ने गरिन्छ। रातभरि जंगलको बाटो हुँदै कता कताबाट उनलाई साथीको कोठामा पुर्याए, त्यसपछि बाट सुरू भयो अभिषाको त्रासदी जीवन।
भगाएर लगेको केही दिनपछि मन्दिरमा विवाह भयो। विवाह भएको १७ दिनपछि उनीहरू केटाको घर जुम्ला पुग्छन्। जुम्ला जिल्लाभरि हो–हल्ला भयो फलानोको छोराले दलित समुदायको केटीसँग विवाह गर्यो भनेर। गैरदलित भएर दलित समुदायको केटीसँग विवाह गरेकाले केटाका बा आमा, दाजुभाइ सबै जना रिसाएका थिए। घरमा लिएर आउँदा उनीहरूको विवाहलाई अस्वीकार गरेता पनि घरमा बस्न भने दिएका थिए।
विवाह भएको केही दिनपछि अभिषाका श्रीमान रोजगारीका लागि काठमाडौं जाने तयारी गर्छन्। अभिषाले मलाई पनि लिएर जानु भन्छिन तर श्रीमानले काठमाडौंमा जागिर पाएपछि खबर गर्छु भन्दै सम्झाएर घरबाट निस्किन्छन्। श्रीमान घरबाट निस्केको चार पाँच दिनपछि अभिषाको जीवनमा अनेकौं जातका आधारमा हुने विभेद, हिंसा र दुव्र्यवहार सुरू हुन्छ। उनका सासू ससुराले दलित भएर मेरो छोरासँग विवाह गर्ने हिम्मत कहाँबाट आयो भन्दै जातलाई जोडेर जातजन्य गाली गलौजका साथै कुटपिट पनि गरे।
श्रीमानले पनि काठमाडौं गएदेखि खासै कल नगर्ने र कल गर्दा पनि फोन नउठाउने त्यसपछि उनीसँग माइत जानु बाहेक अर्को विकल्प थिएन। अभिषालाई माइतमा पनि आमाले बाहेक बुबा दाजु भाउजूहरूले खासै मतलब गरेका थिएनन्। हाम्रो इज्जत फालेर भागेर विवाह गर्यो भनी गाली गरिरहन्थे। उनी चुपचाप सही रहिन्।
केही महिनापछि उनी आफू गर्भ रहेको थाहा पाउँछिन्। श्रीमान र उनका घरपरिवारमा खबर दिँदा कसैले मतलब गरेनन्। श्रीमानले गर्भपतन गर भनी धम्की दिएका थिए। घर परिवार, श्रीमान र माइती पक्षले मतलब नगरेपछि उनी गर्भपनत गर्ने सोच बनाउँछिन्। र नेपालगञ्जमा राम्रो हस्पिटल भएकाले उनी स्वास्थ्य अवस्था ठिक नभएकाले प्लेनमा जाने निर्णय गर्छिन्। तर उनको साथी नेपालगञ्ज जाने भएकाले साथीसँगै उनी बसमा जाने निधो गर्छिन्। उनीहरू बसमा नेपालगञ्ज जाँदा बाटोमा बस दुर्घटनामा पर्यो। बसमा भएका ३५ जना यात्रुहरूको मृत्यु भयो तर अभिषा बाँचिन्।
उनकी साथी सुनिताको पनि मृत्यु भयो। उनको घर र माइतमा खबर पुगेछ, अभिषा बस दुर्घटनामा मरिसकी भनेर। माइतमा त मरिसके भनेर काजकिरिया पनि गरिसकेका थिए। उनको खुट्टा र हात भाँचिएको थियो अनि टाउकोमा १३ टाँका थिए। उपचार भएपछि घर फर्कंदा सबैजना छक्क परेका थिए। अभिषा मरेको खबरले गर्दा आमालाई हृदयघात भएको थियो। अभिषा बिस्तारै ठिक हुँदै जाँदा पेटको बच्चा पनि हुर्किंदै थियो। अभिषा दुर्घटना परेर हस्पिटल बस्दा पनि श्रीमान काठमाडौंबाट आएका थिएनन्। घर जुम्लाबाट पनि कोही आएनन्। फोनमा कुरा भए पनि खासै श्रीमानको साथ र सहयोग पाइनन्।
केही महिनापछि अभिषाले छोरी जन्माइन्। माइतमा पनि बाउको ठेगान नभएको नजायज बच्चा जन्माएको भन्दै बुबाले आमालाई गाली गर्ने पिट्ने गर्न थाले, अभिषाका कारणले माइतमा दिनहुँ झैझगडा हुन थालेपछि उनी छोरीलाई लिएर माइत छोड्ने निर्णय गरिन्। त्यसपछि अभिषा ८ महिनाको बच्चा बोकेर माइतबाट निस्किइन्। गाउँको साथीसँग ५ हजार सापट गरेर उनले एउटा छाप्रोमा चाउचाउ र बिस्कुटको पसल थाप्छिन्। पसल विस्तारै राम्रोसँग चल्दै जाँदा ऋण पनि तिरेसँगै पैसा पनि बचत गर्छिन्। छोरी धेरै बिरामी भएपछि जाँच गर्दा छोरीको २ वटा मिर्गाैला फेल भएको डाक्टरले बताउँछन्। दिनरात काम गरेर पैसा जम्मा गर्दै, अलि अलि ऋण गर्दै ४ वर्षको हुँदा छोरीको एउटा मिर्गौला फेर्छिन् र छोरीको मिर्गौला फेर्दा उनको चार पाँच लाख पैसा खर्च हुन्छ। विस्तारै उनको छोरीको स्वास्थ्यमा सुधार हुन्छ। छोरीको उपचार खर्च जम्मा गर्नका लागि उनी र्यासा टिप्न जान्छिन् दिनरात ज्याला मजदुर गरी ऋण तिर्दै र पैसा जम्मा गर्दै जान्छिन्।
अभिषाको आमाको स्वास्थ्यमा समस्या देखिएको धेरै समय भइसकेको थियो। केही समयपछि अभिषाको आमाको पनि मृत्यु हुन्छ। उनी फेरि छोरीलाई लिएर माइत जान्छिन्। माइतमा पनि बुबाको व्यवहार खासै परिवर्तन नआए पनि उनी माइतीमा नै बस्ने निर्णय गर्छिन् तर उनका बुबा पहिलेको भन्दा धेरै रक्सी खाने सबैलाई गाली गर्ने घर व्यवहार केही नहेर्ने भएकाले छोरीको स्वास्थ्य, घर व्यवहार सबै अभिषाको जिम्मेवारीमा परेको थियो।
अभिषाको जीवनमा यति धेरै उत्तारचढाव आउँदा पनि श्रीमान र उनका घरका परिवारले कहिले पनि मतलब गरेनन्। आमा मरेको केही वर्षपछि बुबाको पनि मृत्यु हुन्छ र माइतमा दाजु भाउजूसँगै बस्दै गइन्। केही समयपछि उनको भाउजूको पनि बच्चा जन्माउन नसक्दा मृत्यु हुन्छ। दाइले भाउजूको मृत्युपछि अर्को विवाह गरेका थिए। अर्को विवाह गरेको ६ वर्षपछि दाइ रक्सी खाएर भिरबाट लडेर मृत्यु हुन्छ। दाइको मृत्युपछि भाउजू अर्कैसँग विवाह गरेर गएकी थिइन्। दाइका ५/६ जना छोराछोरीहरू अहिले अभिषाले पढाउने, खुवाउने, हेरचाह गर्ने गरेकी छन्। संसारभरिकै दुख उनलाई परेको र भगवान उनको साथमा नभएको बताउँछिन्।
अभिषाको छोरी अहिले ११ वर्षको भइन्। छोरी १० वर्ष हुँदा उनले सात आठ लाख खर्च गरेर दोस्रो मिर्गौला फेरेकी थिइन् र पहिलेभन्दा अहिले छोरी स्वास्थ्यमा सुधार देखिएको छ।
अभिषाले छोरीलाई बौद्ध काठमाडौंमा राखेर होस्टेल पढाउँदै छिन्। छोरीलाई डाक्टर पढाउने ठूलो सपना छ उनको। अभिषाका श्रीमानले अहिलेसम्म पनि विवाह नगरी बसेको र कहिलेकाहीँ छोरीलाई कल गरेर धेरै पढ्नु छोरी, खर्च चाहियो भने भन्नु भन्ने कुरा सुनेकी थिइन्।
१२ वर्ष भइसक्यो श्रीमानले छोडेर गएको घर, परिवार, माइती र समाजमा जुन किसिमको बेइज्जत, अपमान, दुर्व्यवहार, विभेद, आत्मसम्मान गुमाइन् त्यो ठाउँमा अरू जो कोही महिला हुन्थे भने उनले हरेस खान्थे होला।
उनी भन्छिन्, ‘१२ वर्षपछि मेरो श्रीमान फर्केर आयो भने म उसलाई बुहारी बनाएर घर भित्र्याउँछु, ज्वाइँ होइन।’
केही समयपछि छोरी ठूलो भएपछि छोरीले जे भन्छिन त्यही गर्ने निर्णय गरेकी छन् अभिषाले।
एक विकट र अविकसित जिल्ला त्यसमा पनि दलित समुदायमा जन्मेकी अभिषा दलित महिला, एकल महिला र एकल आमाको भूमिका राम्रोसँग वर्णन गरेकी छन्।
अभिषाले उनको जीवनमा भोगेको दुख, कष्ट, पीडा, समस्या, हिंसा र विभेद यी सबै कुराहरूबाट एक साहसी महिला जसले घर परिवार, सासू ससुरा, श्रीमान, समाजमा जे जति विभेद भोगे पनि आज उनी यही समाजको उदाहरणको पात्र बनेकी छन्।
उनी विभिन्न संघ संस्था र आमा समूहहरूमा आबद्ध भई महिला अधिकार र हिंसा विरूद्ध आवाज उठाउने काम गर्छिन्। अभिषा महिला भएको आधारमा, दलित भएकै आधारमा, अन्तरजातीय विवाहका कारण उनले धेरै कुराहरूबाट बच्चित र तिरस्कार हुनुपर्यो।
उनी भन्छिन्, 'समाजको संरचना र पितृसत्तात्मक सोचका कारणले मैले जे जति विभेद, हिंसा, अपमान र दुर्व्यवहार भोगेँ त्यो मेरी छोरी र समाजका अरू महिलाहरूले भोग्नु नपरोस्। म यो दमित समाजको एक उदाहरण हुँ। म र मेरी छोरीको आत्मसम्मानको लागि मेरो संर्घष जारी रहिरहन्छ।'