'चौटा खान आएकी झोलमा डुबेर मरी' भनेको सायद यसैलाई होला। गाउँमा एक्लै बस्दै गरेको बुढी आमैले सहरमा आएपछि सुख पाइएला भनेर सोचेकी थिइन्। तर, यहाँ पनि त्यस्तै एक्लो जीवन बिताइरहनु परेको छ। भन्ने हो भने गाउँमा आमैलाई खासै के दु:ख थियो र?
बिहान चियासँग चारवटा रोटी पोल्थिन्, त्यही रोटीले मज्जासँग दिन कट्दथ्यो। कुनै कामधन्दा थिएन, केही कुरामा पनि टाउको दुखाइरहनु पर्ने आवश्यकता थिएन। कष्ट भनेको त्यही उराठलाग्दो दिन एक्लै बिताउनु थियो।
कुनै छिमेकीले बाटो बिराएर आए भने जिस्काउँदै भन्थे 'आमैलाई यो घर कति प्यारो भएको हो? गाडिएको धन छ कि क्या हो? जहिले पनि यही बसेर घरको पहरा गरिरहनु भएको छ।'
'केको गाडिएको धन हुनु!' आमैले उदास हुँदै भन्थिन्, 'यसरी यहाँ बसेर बाटोमा आउने जानेलाई हेरेर दिन बिताउँछु।'
छिमेकीले सहानुभूति देखाउँदै खाटको छेउमा बस्दै भन्थे, 'जिन्दगी यस्तै रहेछ। जवानीमा मानिससँग काम धेरै समय थोरै हुँदो रहेछ। बुढेशकालमा केही काम हुँदैन फुर्सदै फुर्सद हुन्छ। छोराछोरीहरु पनि आफ्नै संसारमा भुल्छन्। हामी जस्ता आमा-बाउ मृत्युलाई पर्खिएर बसिरहेका हुन्छौँ। जबदेखि बुबा बित्नु भयो, तपाईंको अनुहारमा कहिल्यै हाँसो देखिएको छैन। कहिलेकाहीँ सहरमा बिनोद भएको ठाउँमा गएर आउनुस्, मन भुलिन्छ।'
केही महिनापछि...
विनोद आमालाई सहर लैजान भनेर आयो। छोरा आएको खुसियालीमा बुढी आमैले सक्दो परिकार तयार पारेकी थिइन्। पहाडमा पाइने गेडागुडीको दाल, मकैको आटो, हरियो तरकारी र अचार।
जब बिनोद खान बस्यो, यो खाने कुरा कसरी खाने भनेर सोच्न थाल्यो। तरकारीको नाममा नुनिलो पानीमा फर्सीको मुन्टा र आलुको टुक्रा थियो। बुढेसकालको हात टमाटरको अचार राम्ररी पिसिएको थिएन।
बुढी आमैले आफैले भनिन्, 'खै यो खाना सक्छौ कि सक्दैनौ? तिम्रो सहरमा पाइने जस्तो बनाउन सकिनँ। आज तिमी भोकै हुने होकी बाबु! बुढेसकालमा न हातखुट्टा राम्री चल्छन् न त आँखानै देख्छु। आफ्नो लागि त जसोतसो आँटो रोटी बनाइहाल्छु।'
'खानेकुरा एकदमै मिठो छ आमा। धेरै दिनपछि हजुरको हातको खानेकुरा खान पाएकोमा पेटभरि टन्न खाएँ।' बिनोदले नरुचे पनि अलिकति खाएर उठेको थियो। उसलाई आमाको यस्तो अवस्था प्रति साह्रै माया लागेर आयो र आमालाई यहाँ एक्लै नछाड्ने, आफूसँगै सहर लैजाने निधो गर्यो।
उसले पहाडको यो जायजेथा बेच्ने विचार गर्यो किनभने उसलाई थाहा थियो घरखेत भएपछि आमा फेरि गाउँ फर्कनेछिन्। इच्छा नहुँदा नहुँदै पनि आमाले विनोदको प्रस्तावलाई नकार्न सकिनन्। हप्ता दिनमा घर खेत बिक्री भयो। अर्को दिन आमै छोरासँग गाउँले परिवेशलाई सधैंका लागि छोडेर सहर लागिन्।
सहर आउनसाथ पहिलो भेटमा नै बुहारीको बोली व्यवहारले गर्दा बुढी आमैलाई लाग्यो कतै गाउँको जायजेथा बेच्न हतार त गरिएन? बुहारीले मन नलाग्दो किसिमले गरेको स्वागत बुढी आमैको सेतो कपालको अनुभवले थाहा पाइहालिन्। नाति-नातिनाले पनि एक पटक अगाडि आएर औपचारिकता पूरा गरे र घरको कुना कोठामा बिलाए थाहा भएन।
बुहारीले घरमा काम गर्ने केटोलाई आदेश दियो 'आमालाई पछाडिको कोठा तयार गरीदेऊ, नजिकै शौचालय छ सजिलो हुन्छ। आमाको सामानहरु त्यही लगिदिनू। त्यसपछि चिया पुर्याइदिनू। म एकछिन बाहिर गएर आउँछु।'
बुहारी बाहिर गएको आमैले अचम्म भएर सोफामा बसेर हेरीरहिन्। केहीबेरपछि काम गर्ने केटोले आमैलाई कोठमा पुर्याइदियो। एउटा ट्रेमा चिया र केही खानेकुरा ल्याइदियो। एक्लै बसेर चिया पिउँदै आमैले सोच्न थालिन् 'केवल यही चियाको लागि म गाउँबाट यहाँ आएको हुँ?'
तर त्यही चिया पनि अर्को दिन बिहान पाउन पनि पर्खिनु परेको थियो। बेलुकी आमैले कहिल्यै पनि खाना खादिनन् भनेर बुहारीलाई थाहा थियो। त्यसैले आमैलाई खानाको लागि सोधिएन र अरु केही खानेकुरा खान मन छ कि भनेर कसैले सोध्न आवश्यक पनि ठानेनन्। आमाको अवस्था बुझ्न छोरा-बुहारी, नाति-नातिनीहरु मध्ये कोही त अवश्य आउनुपर्ने हो भनेर सोचेर पर्खेर बसेकी थिइन्।
जब राति अबेरसम्म कोही आएनन्, घरमा पनि बच्चाहरुको हल्ला बन्द भयो। कोठाहरुको बत्ती निभ्न थाल्यो, आमा पनि लामो श्वास फेर्दै भाच्चिएको मनलाई आफैले सान्तावना दिँदै 'सायद म थाकेको छु भनेर कोही पनि नआएका होलान्' भनेर सोच्दै ओछ्यानमा कोल्टे पर्दै सुत्ने प्रयास गरिन्।
बिहान धेरै बेर पर्खँदा पनि चिया नआएपछि आमालाई छटपटी हुन थाल्यो। गाउँमा यतिबेरसम्म आमैले कालो चिया भएपनि पिइसकेकी हुन्थिन्। भान्सा कोठाबाट चियाको बास्ना र कप प्लेटको आवाज सुनेपछि चियाको लतले आमैलाई व्याकुल बनायो। आमाले सोच्न थालिन् 'म पनि कस्तो मूर्ख रहेछु, यहाँ बसेर चिया पर्खेर बसिरहेको छु। म कुनै पाहुना त होइन। म आफै त्यहाँ जानुपर्छ।'
आमै भान्सा कोठामा पुगिन्। त्यहाँ ठूलो टेबलको वरिपरि बुहारी र बच्चाहरु बिहानको चिया खाजा खाइरहेका थिए। बिनोद सायद खाएर उठिसकेको थियो। आमालाई त्यहाँ देखेर भान्सा कोठामा शून्यता छायो। आमै त्याहाँ आएको सायद बुहारीलाई मन नपरेकोले होला भन्न थालिन् 'हजुरको छोरालाई छिटो अफिस जानुपर्छ, केटाकेटीहरुलाई स्कुलको लागि तयार गर्नुपर्छ। त्यसपछि तपाईंलाई चिया पठाइदिने सोचेको थिएँ। त्यतिबेलासम्म धैर्य गरेर बस्न सक्नु भएन?'
आमैले फिक्का हाँसो हास्दै भनिन् 'ठिकै भन्यौ बुहारी, अहिले चिया खान ढिलो पनि भएको छैन नि? म नै हतारिएर आइहालेछु।'
आमै आफ्नै कोठामा फर्किएर आइन। केहीबेरपछि काम गर्ने केटोले एउटा गिलासमा चिसो चिया र दुई वटा पाउरोटी ल्याइदियो। जुन चियाको लागि तिनी बिहानैदेखि प्रतीक्षामा थिइन्, त्यो चिया अब विषको घुट्को जस्तो भएको थियो। बडो मुस्किलले आमैले त्यो चिया पिउन सकिन्। नचाहँदा चाहँदै पनि भान्साको टेबलमा राखिएको अन्य परिकार र फलफूल आँखा वरिपरि घुमिरह्यो।
चिया पिइसकेर गिलास छेवैको टेबलमा राख्दै गर्दा बिनोद एकदमै व्यस्त र हतारमा भएको जस्तो गर्दै आएर भन्यो 'कस्तो छ आमा हजुरलाई? यहाँ आएर तपाईंलाई राम्रै लागेको होला नि? हजुरको एकदमै ख्याल राख्नु भनेर मैले साधनालाई भनेको छु। दिउँसोको खानाको लागि आफ्नो मनलागेको कुरा बनाउन भन्नू। म अफिस जाँदैछु। यहाँ सहरमा एकछिन फुर्सद हुँदैन। कुनै अप्ठ्यारो नमानी आफूलाई चाहिएको कुरा साधनालाई भन्नु होला।'
प्लास्टिकको खेलौनाले तोकिएको कुरा बोले जस्तै आमाले 'ठिक छ छोरा' भनिन्।
आज दिनभरमा आमैसँग कसैले कुरा गरेको त्यति मात्र थियो। काम गर्ने केटोले एकपटक पानीको जग राखेर गयो। दिउँसो अर्को पटक खानाको थाल राखेर गएको थियो। आमा दिनभर एक्लै बसिरहिन्।
त्यसपछि कसैले पनि तिनलाई एकपटक पनि हेर्नसम्म आएनन्। बिहान बुहारीले भनेको शब्दहरु सम्झँदा तिनलाई फेरि भान्सा तिर पाइला बढाउने हिम्मत आएन। त्यो एक्लोपनले तिनलाई बारम्बार सताइरह्यो।
छोरा-बुहारीसँग बस्न आएको आमाको यो पहिलो पटक थिएन। पहिला पनि छोराछोरी जन्मिँदा बिनोदले आमालाई सहर ल्याएको थियो। त्यसबेला आमा वर्षदिन बसेकी थिइन्। त्यसबेला यही बुहारीले आमालाई बडो माया ममता देखाएकी थिइन्। त्यस्तो माया त आफ्नै छोरीले पनि सायद गर्दैन थिए होलान्। विसञ्चो हुँदा आफ्नै हातले औषधी खुवाउने, दूध फलफूल दिने गर्दथिन्। जतिबेला पनि 'आमा आमा' भनेर बोलाउँथिन।
त्यतिबेला बिनोदको आर्थिक अवस्था सामान्य थियो। घरमा काम गर्ने केटो पनि थिएन। आमाले नयाँ जन्मेको बच्चा र बुहारीको ख्याल राख्थिन् साथै घरको धन्धाहरु भ्याउँथिन्। बुहारीलाई बच्चा समाउन समेत आउँदैनथ्यो। आज उनी त्यही आमा र तिनी त्यही बुहारी नै हुन्, केवल आर्थिक अवस्थाको फरक थियो।
अब आमाको उमेर पनि ढल्किसकेको थियो। पहिला जस्तो काम गर्न सक्ने शरीरमा तागत पनि रहेन। त्यसैले बुहारीको लागि ती बुढी आमा काम लाग्ने आवश्यक बस्तु थिएन। त्यसैले त थोत्रो सामान जस्तै घरको एउटा कुनामा थन्काइएको थियो। यदि आमाले घरको काम गर्न सक्ने भएको भए बुहारीले सायद 'आमा... आमा' भनेर थाक्दैन थियो होला।
खानको लागि थालमा पस्केको खानेकुरा पाउँथिन् आमाले, त्यही नै ठूलो कुरा ठानिन् तर यसबाहेक बुढाबुढीको अन्य आवश्यकताहरु पनि हुन्छन् भनेर किन बुहारीले सोचिनन्? जुन एक्लोपनलाई पूर्ति गर्न छोरासँग सहर आएकी थिइन्, त्यो नै नपाउँदाको पीडा कस्ले बुझ्ने?
दिन बिताउन ओछ्यानमा कहिले सुत्थिन् कहिले उठेर बस्थिन्। आमाको कोठामा कोही पनि आउँदैनथ्यो। यदि कहिलेकाहीँ झुक्किएर आमा उनीहरुको बीचमा पुग्दा एकएक गरेर सबै त्यहाँबाट निस्कन्थे। सबै गएपछि आमाले असहज महसुस गर्थिन् र आफ्नो कोठामा फर्किन्थिन्।
मानिसहरु चोट लागेको घाउ निको नहुँदा शरीरको अन्य अंगलाई असर नगरोस् भनेर त्यसलाई अलग गर्नु नै उचित ठाने जस्तै खै किन हो बुहारी र केटाकेटीहरुले तिनीसँग सम्पर्क नै गर्न चाहँदैन थिए। यस्तो किन आमाले बुझ्नै सकिनन्।
बुहारी कता-कता पार्टीमा गएर आधा रात भएपछि मात्र घर फर्किन्थिन्। नाति-नातिनी पनि असुहाँउदो कपडा लगाएर कता-कता डुल्न निस्कन्थे। खै के कारणले हो सबैलाई सकभर आमाको उपस्थिति मन पर्दैनथ्यो।
एकदिन बस्दा-बस्दा आलश्यता मेटाउन कोठामा कुचो लगाउन आएको केटोसँग कुरा गर्न थालिन्। कतिबेला बुहारीले काम गर्ने केटासँग वार्तालाप गरेको सुनेर होला अर्को कोठाबाट ठूलो स्वरमा भन्न थालिन् 'काम गर्नेसँग बाहेक अरु कोही भेटिएन कुरा गर्नको लागि आफ्नो स्तरको त ख्याल गर्नु पर्छ!' घरमा काम गर्ने केटोसँग कुरा गर्नु पनि ठूलो गल्ती गरेको महसुस गरिन्।
गाउँमा छँदा आमालाई एक प्रकारको स्वतन्त्रता थियो। एक्लै बस्दा दिक्क लाग्दा छरछिमेकमा गएर कुरा गरेर समय बिताउँथिन्। सहर आएर आमा नैराश्यताको समुन्द्रमा डुब्नु परिरहेको थियो। मरुभूमिमा तिर्खाले मर्न त्यती पीडादायक हुँदैन जति नदीको किनारमा पुगेर पानी पिउन नपाएर मर्नु पर्दा हुन्छ।
सडक वा गल्ली छेउको घर भएको भए झ्यालबाट हेर्दा सायद बाटो हिँड्ने मानिसहरु देखिन्थ्यो होला तर आमाले यहाँ कैदीको जस्तो जीवन बिताउनु परिरहेको थियो। यहाँबाट अग्लो घरहरु र फूलको क्यारी मात्र देखिन्थ्यो तैपनि उनी त्यही झ्यालको छेवैमा कुर्सी राखेर बसिरहन्थिन्। अरु केही नभएपनि चिसो हावाको झोक्कासँग ठोक्किन पाएकी थिइन्।
बस्दा बस्दा कहिलेकाहीँ एकैछिन भए पनि निदाउँथिन्। त्यसबेला स्वर्गबासी लोग्नेले छेवैमा आएर भने जस्तो लाग्दथ्यो 'ठुली उठ! हेर कस्तो घाम लागिरहेको छ, चिया खानेबेला पनि भइसक्यो।' तर्सेर आँखा खोल्थिन्। सपनामा लोग्नेलाई देखेको सम्झँदा उनलाई असह्य पीडा हुन्थ्यो।
झ्याल बाहिर कुकुरले भुकेको आवाजले आमाको एकाग्रतालाई भंग गर्यो। उठेर 'हट उता जा' भनेर कुकुरलाई धपाउन थालिन्। बुढ्यौली लागेर होला आँखा कमजोर भएपनि दुई/चार वटा कुकुरहरुले एउटा कमजोर कुकुरलाई लखेटिरहेको थियो भन्ने अनुमान लगाइन्। आमाले झुलको डण्डा झ्यालबाट बाहिर निकालेर कुकुरहरुलाई धपाउन थालिन्। केही क्षणको कोसिसपछि कमजोर कुकुरलाई बचाउन सफल भइन्।
आक्रमण गर्ने कुकुरहरु गइसकेपछि त्यो कमजोर कुकुरले लामो-लामो स्वास फेर्दै झ्याल तर्फ आमालाई हेर्न थाल्यो। चारैतिरबाट लखेटिएको त्यो कुकुरले उनीसँग शरण मागे जस्तो लाग्दथ्यो। हेर्दै दुब्लो, घिनलाग्दो, घाइते त्यो कुकुरप्रति आमालाई अनयासै माया जागेर आयो। आमा आफै पनि त्यही कुकुर जस्तै कमजोर, वृद्ध, उपेक्षित र सर्वथा एक्लो थिइन्। शरीरमा कुनै चोट र रोग नभएपनि भावनात्मक रुपले चोटग्रस्त थिइन्।
दिउँसो काम गर्ने केटोले चियासँग ल्याएर राखिदिएको पाउरोटी एउटा टुक्रा खान दिइन्। खैरो रौं भएकोले नाम पनि 'खैरे' भनेर राखिदिइन्।
आमाले एकप्रकारले आत्मसन्तुष्टी प्राप्त गरेकी थिइन्। 'माटोलाई ढुंगाको भर, ढुंगालाई माटोको भर' भने जस्तै आमालाई अब आफू एक्लै छैन भन्ने लाग्यो। एक/दुई दिन त खैरे गइजाने पो होकि जस्तो लागेको पनि थियो तर गएन। हरेक दिनजसो खैरेको उपस्थितिले आमाको जीवनमा एक किसिमको उर्जा प्राप्त र आत्मबल बढेको जस्तो भएको थियो। तर आमाको यो खुसी धेरै दिन टिक्न पाएन।
एकदिन बुहारी हुत्तिँदै आमाको कोठामा प्रवेश गरिन् र झ्यालको छेवैमा पुगेर बाहिर हेर्दै नाक खुम्चाएर भन्न थालिन 'छिः कस्तो घिनलाग्दो कुकुर! सेक्युरिटी गार्डले के हेरेर बसेछ! किन नलखेटेको होला?'
'आमैले पाल्नु भएको कुकुर हो। हिजो आज त पाउरोटी खान पाएर मोटाएको छ' पछाडि उभिएको काम गर्ने केटोले आफ्नो इमान्दारिता देखाउने मौका पाएको थियो।
'सडकको भुस्याहा कुकुरलाई पालेको भन्ने! हामीलाई पाल्नै मन लाग्यो भने कुनै विदेशी जातिको कुकुर ल्याएर पाल्छौँ नि। यस्तो कुकुरलाई त हामी थुक्दा पनि थुक्दैनौँ,' बुहारीले रिसाउँदै भनिन्।
काम गर्ने केटोलाई हुकुमी शैलीमा तुरुन्त आदेश दिइन् 'अँध्यारो भएपछि यो कुकुरलाई बोरामा राखेर कतै टाढा फालेर आउनू, फर्केर आउन नसकोस्।'
बुहारी जसरी त्यो कोठामा प्रवेश गरेकी थिइन् त्यसरी नै कोठबाट निस्किन्।
आमाले बडो असहाय महसुस गर्दै झ्यालदेखि बाहिर हेरिन्। किन हो कुन्नी आमाको आत्मबल विस्तारै शिथिल हुँदै गइरहेको थियो। गएको वर्ष लोग्ने मर्दा पनि यस्तै अनुभूति गरेकी थिइन्। यति ठूलो संसारमा मान्छेहरुको भिडमा पनि एक्लो अनुभव गरेकी थिइन्।
एक्लोपनको त्यो अनुभूति आमालाई आज फेरि हुन थाल्यो। एक किसिमले आफूले आफैलाई धिक्कार्न थालिन् ' हत्तेरी! मलाई के भएको? छोराबुहारी, नाति-नातिनी छन्, म कसरी एक्लो भएँ? के मलाई यो मामुली कुकुर आफ्नो परिवारभन्दा पनि प्यारो भयो?'
तर आफूले आफूलाई धोका दिन सजिलो नहुँदो रहेछ। आफ्नो एक्लोपनलाई सम्झेर आमा आज दोश्रो पटक फेरि भावुक भइन्। गएको वर्ष लोग्नेलाई अन्तिम बिदाइ गर्दा पहिलोपल्ट रोएकी थिइन्। त्यसपछि पनि पटक-पटक लोग्नेलाई सम्झेर मन रोइ नै रहेको थियो तर आज दोश्रो पटक फेरि आँखा उम्लेर आयो।