माइते ठुलाले आज 'घनघोर' निराशावादी कुरा गरे। उमेर बुढो भएको भन्दा निराशावादी कुरा अरू के हुन सक्नु र?
म भने ‘साके' पिउने मुडमा थिएँ।
केही अनुच्छेद निराशावादी कुरा सकेर माइते ठुला गँगटे खोलामा जाल खेल्न गएका थिए। पुगनपुग २ माना माछा सितनलाई आइपुग्छ भन्ने हिसाब किताब गर्दै बरन्डामा टहल्दै थिएँ।
ज्यानमा स्फूर्ति पटक्कै थिएन। भर्खरै चरेर आइपुगेका दुई खसीहरू पनि बरन्डामा आएर भुइँमा लम्पसार सुतिरहेका थिए।
नौबिसेमा रोपाइँको चटारो सकिएकै थिएन।
सिकरकटेरीमा 'सिरिरि' हावा चल्दै छ। आँगनको दुबोमा उत्तानो पल्टिरहेको छु। चन्द्रमा र ताराहरू देखिएका छैनन्। क्लाइमेट चेन्जको असर हुनसक्छ, असार सकिन खोज्दा पनि झमझम लामो बर्सात हुन सकिरहेको थिएन।
तथापि सुनकोसीमा अटसमटस धमिलो बाढीको पानी थियो। माइते ठुलालाई धमिलो पानीमा मज्जैका माछा जालमा पार्न सकिन्छ भन्ने पूर्ण विश्वास लागिरहन्छ।
माइते ठुलाले सिकरकटेरीका मेरा दौँतरी उमेरका सबैलाई गँगटे खोलामा माछा मार्न सिकाएका थिए।
हिउँदमा गँगटे खोलामा दिवाली थुनेर माछा मार्थ्यौ।
दुई वटा कोदाली, एउटा ढडिया, एउटा सानो गलसँगै माइते ठुलाले जाल बोक्ने झोला बोकेसँगै सिकरकटेरीको सानो 'बटालियन' माछा मार्न गँगटे खोला झर्दथ्यो।
श्यामु दाइले ‘हिँड है एकराते हो’ भनेसि टोली 'मुभ' हुन्थ्यो।
सुनकोसीमा भने 'एकरातेहरू डुबेर मर्छन्' भनेर श्यामु दाइले भनेसि माइते ठुला पनि हामीलाई लिएर हिँड्दैनथे। हुन पनि सुनकोसीले पौडीबाज माझीहरूलाई नै बगाएको इतिहास थियो। फेरि सुनकोसीमा एकोहोरो जाल माइते ठुला हान्थे भने श्यामु दाइ कम्मरमा बाँधेको टोकरीमा जालमा परेका माछा खसाल्थे। हामी एकरातेहरूको काम हुँदैनथ्यो।
मलाई श्यामु दाइ र माइते ठुलासँग माछा मार्न हिँड्न पाउँदा संसार जितेको अनुभूति हुन्थ्यो। एक पटक बालाई दसैँमा नयाँ लुगाको सट्टा माछा मार्ने जाल किनिदिन अनुरोध गरेको थिएँ। बा जिल्ल परेका थिए।
समयले हामीलाई बदलिदियो। यसरी भन्दा पनि भयो, श्यामु दाइ बाहेक हामीले एक-एक गर्दै सिकरकटेरी छोड्यौँ।
म पढ्न काठमाडौँ हान्निएँ।
श्यामु दाइले ब्याडको राँगो पाल्न थालेछन्।
रफाले माल्दाइले सिकरकटेरीमा बसिरहे बिहे नहुने भविष्यवाणी गर्दै सिकरकटेरी छोडेछन्। साने ठुल्दाइ पनि टिकटिके कान्छा दाइसँग सहरमा घर बनाउने ठेक्कामा मिसिएछन्।
जापान उड्नु अगाडिको कोल्डाँडामा भएको अन्तिम 'गेट टुगेदर'मा माइते ठुलाले भनेका थिए- ‘माछा मारेर अब जीविका चल्दैन ठुलासाना! म पनि मजफ्फरपुर जान्छु, तपाईं जापान पुगेर पैसाको बोरा लिएर फर्कनु होला, सिकरकटेरीमै उधुम मच्चाउनु पर्छ।’
हामी सबै हाँसेका थियौँ।
माइते ठुलालाई बन्दिपुरको कोदोको झोलले बेस्मारी तिरिमिरी पारेको थियो।
म पढ्ने बहानामा जापानको ओकिनावा 'प्रिफेक्चर'मा पुगेँ। जापानमा दुःखका भारीहरू बोक्दाबोक्दै मैले झन्डै झन्डै सिकरकटेरी भुल्दै गएँ।
घरमा आक्कलझुक्कल 'खत' लेख्दा म सबै सिकरकटेरीको पूर्व 'मछली ग्याङ'लाई सम्झिन्थेँ।
बाले लेख्नु भएको अस्पष्ट अक्षर लेखिएको चिठीमा ‘तेरो माछा मार्ने साथी माइते मजबुरी गर्न मजफ्फरपुर हिँडेको’ लेख्नुभएको थ्यो।
मजफ्फरपुरमा बस्ने सिकरकटरीका रैथाने बेसारे माल्दाइको ठेगानामा चिठी पठाए पनि 'एड्रेस' नमिलेको भन्दै चिठी पुनः ओकिनावामा नै फिर्ता आइपुग्या थ्यो।
त्यो क्षण म साह्रै निराश भएको थिएँ र उही सिकरकटेरीको कोल्डाँडामा भएको अन्तिम गेट टुगेदर सम्झेर पुरानो 'नोस्टाल्जिया'मा पुगेको थिएँ।
समयको परिभाषाअनुसार म सिकरकटेरी एक दशकपछि फर्किएँ।
श्यामु दाइको ब्याडको राँगोको 'बिजनेस' ठिकठाक थियो। माइते ठुला 'फिलहाल' सिकरकटेरीमै थिए। माइते ठुलाले मजफ्फरपुरबाटै 'सादी' गरी दिलसरी भाउजू सिकरकटेरी ल्याएका थिए।
रफाले माल्दाइले रोल्पाकी चेलीलाई दुःखसुखमा साथ चाहिन्छ भन्दै सिकरकटेरीमै भित्र्याएका थिए। रोल्पाली भाउजू सिकरकटेरीमा 'बड्डी' नामले चर्चित भइन्। उनी सबैलाई 'बड्डा' भन्थिन्। त्यसैको सिको गर्दै गाउँले सबैले उनीलाई बड्डी भनिदिए।
करिब एक दशकपछि माइते ठुला, रफाले माल्दाइ, माइते ठुला र म सिकरकटेरीमै जम्मा भयौँ। माइते ठुला बिचबिचमा हिन्दी शब्द घुसाउँथे। 'लेकिन' र 'और' जस्ता थुप्रै हिन्दी शब्दहरू माइते ठुला बारम्बार प्रयोग गरिरहन्थे। अब सिकरटेरियनहरू माइते ठुलालाई 'देशी' भन्न थालेका थिए।
हिजोआज माइते ठुला माछा मार्ने अनि म उनीसँग 'साके' पिउँदा 'खाम्पाई’ गर्ने साथी भएँ। श्यामु दाइ र रफाले माल्दाइलाई फुर्सद खासै हुन्थेन। साने ठुल्दाइ सहरमा नामी ठेकेदार भइसक्या थिए भने बेसारे माल्दाइ मजफ्फरपुरबाट सिकरकटेरी फिरेका थिएनन्।
असाध्यै टाउको दुख्ने भएपछि मैले लोकल 'साके'हरू पिउन छाडेको थिएँ। माइते ठुला भन्थे, 'ठुलो बाबु, देशी माल मत पियो।’
‘कोदाको अर्ग्यानिक साकेमा तपाईंलाई किन नफ्रद'?
म टाउको दुख्ने गफ दोहोऱ्याउँथेँ।
माइते ठुला अन्टसन्ट हिन्दी गफ दिन्थे। म हिन्दी अलिकति बुझ्थेँ, अलिकति बुझ्दैनथेँ।
मैले सिकरकटेरीमा 'साके' र 'खाम्पाई' जापनिज शब्दहरू सिकरकटेरियनहरूलाई सिकाएँ। यी दुई विदेशी शब्दहरू 'टच्ची' र 'क्याच्ची' लाग्थ्यो।
जब श्यामु दाइ, माइते ठुला र रफाले माल्दाइ रक्सीलाई 'साके' भन्थे, म उसै प्रफुल्ल हुन्थेँ।
माइते ठुला माछा लिएर आइपुगे। मलाई 'अल्छी मान्छे' भन्दै आफैले आगो फुके। असारको आगो बल्न गाह्रो मानिरहेको थियो। माइते ठुलाले ठुङ्ग्रीले आगोको बल्दै गरेको आयतनलाई बढाए। आगो दन्कियो। तर माछा ५ माना पुगनपुग थियो। माछा पनि सुनकोसीका थिए। अधिकांश माछाहरू ठुलै थिए।
‘कोसी नै पुग्या?’ मेरो प्रश्नलाई माइते ठुलाले नजरअन्दाज गरिदिए।
अगेनोमा डढेको कराईमा तेल हाले। माछाका आन्द्राभुँडी सुनकोसीमै निकालेर आएका रहेछन्। कराईमा माछा ओइरिदा ठुलो 'झ्वाइँ'को आवाजसँगै अगेनाको आगो कराईमा पुग्यो। माइते ठुलाले कराईका माछा पल्टाए।
श्यामु दाइ र रफाले माल्दाइ आइपुगेनन्। मैले भोड्कामा कोक मिसाएँ। माइते ठुलाले बन्दिपुरको अर्ग्यानिक 'साके' निकालेँ। हामीले वाइफाई खाम्पाई गऱ्यौँ।
माइते ठुलाले दिउँसो भएकै निराशावादी गफ तन्काए। जीवनमा एक गाभो रोपो रोप्ने खेत किन्न नसकेकोमा गुनासो गरे। छोराछोरीले मोबाइलमा एक कल फोन नगरेको दुखेसो थियो।
उमेरले तीन बीस पाँच पुग्दा पनि माछा बेचेर जीविका चलाउनु परेको यथार्थ चित्रको व्याख्या गरे। अनि अन्त्यमा माछाको पनि जीवन पनि आफ्नै जस्तो हो कि भन्ने लागेको बताए।
‘ठुलोसाना, अब म जीव हत्या गर्न सक्दिनँ।
मैले आफ्नै हातले माछा मारेर माछा तारेको सितन खाने यो अन्तिम रात हो।
अब म पूर्ण शाकाहारी बनेँ।’
म वाल्ल परिरहेँ।
माइते ठुला के-के बोलिरहे। मैले साह्रै सानो आवाजमा तारादेवीको गीत मोबाइलमा बजाए। माइते ठुला मजफ्फरपुरमा भएकी आफ्नी प्रेमिका सम्झिरहन्थे।
'सादीको बात त फरक भइहाल्यो। यो त ईश्कको बात हो।'
तर माइते ठुलाले थाहा नपाउने गरी मैले उनको प्रेम कहानीलाई बेवास्ता गरिदिएँ। म तारादेवीको 'ए कान्छा ठट्टामा नै बैँस जान लाग्यो...' मा हराएँ।
म तारादेवीका अरू गीतहरू मनमौजी पाराले सुनिरहेँ।
माइते ठुलाले आजको अन्तिम मांसाहारी रातमा पनि सितनमा खास वास्ता गरेनन्। तर साके अटुट पिइरहे। तारादेवीको गीतपछि मलाई अरूणा लामा सुन्न मन लाग्यो। तर आइफोनको 'मेल' एप्लिकेशनमा एउटा ई-मेल आएको संकेत देखायो।
ई-मेल मेरी ओकिनावाकी प्रेमिका 'चिबाना सान' को थियो। ई-मेल पढिसक्दा भक्कानो छाडेर रुन मन लागेको थियो तर माइते ठुला सँगै थिए। मैले मनलाई उत्तेजित र उद्वेलित हुन दिनुहुन्न थ्यो।
‘यामुसान,
सन्चै हौला भन्ने बाहेक अरू म यस्तो अवस्थामा के भनम्? तिमीले पनि आफ्ना जन्मदाता दुवै गुमाइसक्यौ। यो खबरले पनि तिमी थप दुःखी हुने छौ। मेरी आमा जो तिमीलाई अति माया गर्थिन्, अब संसारमा रहिनन्।
जीवनको अन्तिम क्षणसम्म तिमीलाई निकै कल गरिन् तर तिम्रो फोन उठ्नु सट्टा नेपाली भाषामा कम्प्युटरले के-के भनिरह्यो। सायद पुरानो नम्बर बोक्न छोड्यौ। म ओकिनावाको नाहा सहरमा तिम्रो प्रतीक्षामा जीवनभर रहिरहनेछु। तिमी पासपोर्ट र पासपोर्ट साइजको एउटा सुन्दर फोटो जसमा दुवै कान देखिएको हुनुपर्छ, त्यो ई-मेल हेर्ना साथ पठाऊ।
अनि तिमी ओकिनावा आएपछि सबै गफगाफ गरौँला।
तिम्रै प्रतीक्षाकी
तिम्री प्रेमिका
चिबाना।’
म चिबानाकी आमा 'नाकामुरा सान’को यादमा डुबिरहेँ। माइते ठुला काँचा माछाहरू र जुठा भाडाहरूको व्यवस्थापनमा लागे।
म चोटामा उक्लिएँ।
ओकिनावाको कष्टपूर्ण जापनिज भाषा बेगरको जिन्दगीमा चिबाना सानकी आमाको भूमिका म भुल्न जीवनभर सक्दिनँ।
हुनलाई चिबाना र उनकी आमालाई चिनाइदिने पुल बनेका मेरा 'सेम्पाई' घले दाइ थिए। घले दाइ ओकिनावा छोड्दै थिए, सँगै ओकिनावामा गर्ने कामबाट पनि बिदाइ लिँदै थिए। 'नाकामुरा सान'को 'ईजाखाया'मा घले दाइले आफ्नो बदलीमा मलाई राखिदिए।
घले दाइले आफू टोकियो हिँड्ने बेला भन्या थिए- 'बुढीमाउ खुब किचकिचे छे तर मनकारी छे।’
मैले नाकामुराको सानो भट्टी पसलमा कामको लय समातेँ। शुक्रवार, शनिवार र आइतबार भट्टी साह्रै व्यस्त हुन्थ्यो। अरू चार दिन पसलमा नियमित आउने मान्छे आउँथे। बुढीमाउ आफ्नो मुख खाली राख्दिनथी, जति बेलै बोली बस्थी।
म फिटिक्कै भाषा बुझ्दैनथेँ। सिलसिलेवार कामहरू गरिरहन्थेँ। जाने बित्तिकै टेबुल र सोफा सफा गर्थेँ। सलाद सेट बनाउँथेँ। बिफ, चिकेन र पोर्क मासुका आइटमहरू काट्थेँ। माछाका सेटहरू बनाउँथेँ।
माछाका सेटहरू बनाउँदा आफूलाई गँगटे खोला र सुनकोसीमा पुऱ्याउथेँ। श्यामु दाइ र माइते ठुला आँखा वरिपरि आउँथे। 'सामोन' र 'मागुरो' काटिरहँदा मेरो आँखाले झिँगे, फोगटे र हिलेजस्ता गँगटे खोलाका माछाहरू खोजिरहन्थे।
बिहान अबेरसम्म 'साके' पिउँदै मान्छेहरू गफिइरहन्थे। कोही प्रेमिकासँग चुप्पा लाउँदै नसामा भुल्थे त कोही चरम पीडामा रुँदै रक्सी पिउँथे।
म र बुढीमाउलाई साके र सितन 'सर्भ' गर्दागर्दै सिङ्गो १५ घण्टा बित्थ्यो। हिँड्ने बेला बुढीमाउले पाँच सयको ठ्याक दिन्थिन्। खाना भट्टीमै मनमौजी खाएरै हिँड्थेँ।
पाँच सय जापानी येनको फेमेली मार्टमा पुगेर 'मोनस्टार' र 'ताबाको' तान्थेँ र स्कुटरमा 'अपार्टमेन्ट' हुइँकिन्थेँ।
भाषा पढ्न 'गाक्को' गयो। लगालग काममा आयो। फर्कियो। ओकिनावामा मेरा दिनहरू यसै गरी बित्दै गए।
महिनाको अन्तिम आइतबार भने बुढीमाउको 'ईजाखाया' बन्द हुन्थ्यो।
बुढीमाउले मलाई भनी, 'यामुसान, भोलि ऊमी जानुपर्छ।'
अरू धेरै कुराहरू बुढीमाउले भने नि मैले 'ऊमी' जाने कुरा बुझेँ।
हो, पहिलो पटक ऊमीमा बुढीमाउकी छोरी चिबाना सानलाई भेट्दा म बुढीमाउकी छोरीको सुन्दरताको स्वादलाई घुटुघुटु थुक निलिरहेको थिएँ।
बुढीले मेरो परिचय गराई। हामीले शिर नुगाएर एक/अर्कोले जापनिज अभिवादन साट्यौँ। चिबानाको पुष्ट छाती र सेता तिघ्राले मेरा जनेन्द्रीयहरू चनाखो भए। एक दुई पटक चिबाना सानका हातहरू मेरा हातसँग 'टच' हुँदा मात्रै मलाई स्वर्गीय आनन्द मिलेको थ्यो।
फेरि उही दिनचर्या सुरु भयो।
चिबाना सान 'ईजाखाया' मा आउली भनेर प्रतीक्षा गर्दागर्दै मेरा नयनहरू थाकिसकेका थिए। बुढीमाउलाई 'तिम्री छोरी किन तेरो भट्टी पसल आउँदिनन्' भनेर सोध्ने भाषा थिएन। भाषाको मात्रै अभाव होइन, हिम्मतको पनि ममा अभाव नै थियो।
दोस्रो महिनाको आइतबारे बिदामा बुढीमाउले मलाई भट्टी पसलमै बोलाएकी थिइन्। म अनायासै खुसी भएँ किनकि त्यहाँ चिबाना थिई। बुढीमाउ आफ्नो पूर्वपति भेट्न अमेरिका जाने तरखरमा थिइन्।
पतिपत्निको सम्बन्धको रस्सी निकै अगाडि चुँडिसके पनि उनका पूर्वपति छोरीलाई भेट्न अमेरिकादेखि ओकिनावा धाइरहन्थे। यस पटक कडा खालको प्यारालाइसिसले थलिएर न्युयोर्क स्थित 'किङ्स् कन्ट्री' हस्पिटलमा भर्ती भएका थिए। नाकामुरा सानले छोरी चिबानालाई पठाउन खोजेकी थिइन् तर पूर्वपतिले यो 'अन्तिम बिदाइ भेट' भनेपछि नाकामुरा सानले न्युयोर्क जाने तयारी तीव्र पारिन्।
छोरी चिबाना आमाको न्युयोर्क जाने निर्णयले दुखी नभए नि खुसी पटक्कै थिइनन्। आमाछोरीको चर्को विवाद सुन्ने साक्षी म भएँ। बुढीमाउको अन्तिम जवाफले चर्को विवादको माहौल शान्त भयो- ‘तेरो बाउलाई सधैँको लागि 'सायोनारा' भन्न जाँदै छु।’
चिबाना बिन्दास थिई।
चिबानालाई भट्टीको काममा खट्ने खासै ऊर्जा थिएन। तर बाध्यता थियो। मनकी परीसँग काम गर्न पाउनु मेरो अहोभाग्य थियो।
एक शुक्रवार जुन बारलाई अमेरिकीहरू 'विकेण्ड' भन्छन्। हो, त्यही बार चिबाना सान र म आफ्नो भट्टी पसल बन्द गरेर 'साके' पिउन अर्को भट्टी पसल पुग्यौँ। साकेले हाम्रो सामीप्य ह्वात्तै बढायो। हाम्रा रुचिका कुरा भए। आफ्ना देशका धर्म र संस्कृतिको चर्चा भयो।
मेरो परिवार बारे चासो राखी। समग्रतामा चिबानासँग 'सेक्सदेखि समाधि'सम्मका कुराहरू भए। ‘म तिमीलाई मनदेखि चाहन्छु’ भन्ने उसको बोलीको ध्वनि मेरा दुवै कानहरूले सुनेको हो/होइन खुट्टाउन मुस्किल भयो।
मस्त जवान केटीले संगतको एक हप्ता पनि नपुगी 'म तिमीलाई मनदेखि चाहन्छु' भन्ने वाक्य चिबानाले भन्दा पनि उसले पिएको साकेले बोलेको हुन सक्थ्यो। तर साकेको नसामा बोलेकी होइन रहिछ।
मैले आफ्नो देशमा बचाएर राखेको 'भर्जिनिटी' चिबानाले तोडिदिई। तर परिस्थिति बदलियो। नाकामुरा जापान फर्किन्। चिबानासँग 'विकेण्ड' मज्जाले चलिरह्यो। म र चिबाना एकअर्कोमा जुका टाँसिए सरी टाँसियौँ।
सबै साथीहरूले गाक्को सकिएसँगै ओकिनावा छोड्ने निर्णय लिन थालेँ। मैले पनि टोकियो जाने र चिबानालाई टोकियोमै बोलाउने प्रस्ताव चिबानाले सहर्ष स्वीकार गरी।
बुढीमाउ मेरो निर्णयले दुखी भइन्। म टोकियो जाने दिनहरू नजिकै आइरहे। अलिक समयपछि भारी मन लिएर टोकियो हिँडेँ।
करिब २ वर्ष बुढीमाउको भट्टीमा काम गर्दा म मुला ठेउकोले अनगिन्ती कुराहरू सिकेँ। जापनिजलाई स्वागत गर्ने, हल्का गफ दिने र बिदा गर्न सक्ने भएको थिएँ। बुढीमाउले कराउँदा मलाई दिक्क लाग्थ्यो तर पनि उनको मन सफा थियो।
मेरो बिदाइमा हामी तीन रोयौँ।
चिबानासँग प्रेम सम्बन्ध थप गाँठो पार्नु थियो। मलाई ओकिनावा विमानस्थलमा आमाछोरीले भारी मनले बिदा गरेका थिए। टोकियो, ओकिनावाजस्तो सस्तो र मनकारी थिएन। ओकिनावामा नेपाली भेट्टिन्थे भने टोकियोमा नेपाली मस्तै भेट्टिन्थे।
चिबानालाई मेसेज गर्दा बुढीमाउलाई पनि गर्थे। चिबानासँग फुर्सदमा खुब 'च्याट' चल्थ्यो। ऊ पनि छिट्टै टोकियोमा आउने गफगाफ गरी। नयाँ ठाउँको काम र संघर्षको कथा मैले सुनाएँ।
म चिबानासँग बस्नैको लागि टोकियोमा सँगै बस्ने दुई नेपाली साथीसँग छुट्टिएँ। तर सँगै बसेपछि स-साना कुराहरूले हाम्रो सम्बन्धमा दरार पैदा भयो। हाम्रो बोलचाल औपचारिकतामा सीमित भयो। चिबानाले म काममा गएको एक रात अपार्टमेन्ट छोडी।
‘यामुसान,
तिमीलाई जीवन र जवानी सुम्पिनु मेरो गल्ती थियो। तर तिमीप्रतिको एकोहोरो माया अझै मेरो नसा-नसामा छ।
सायोनारा,
तिम्रै
चिबाना।’
हो, यही बिन्दुबाट म र चिबाना अलग्गियौँ।
जापान छोड्नु अगाडि बुढीमाउ भेट्न ओकिनावा पुगेँ। 'सर्प्राइज' भेटले बुढीमाउ छक्क परिन्। मैले चिबानासँग माफी मागेँ। हामी दुई ऊमी गयौँ। भट्टीमा पुगेर मस्तै पियौँ।
यस्तो लाग्थ्यो म र चिबानाबिच कुनै खटपट नै थिएन। हामी फेरि नजिकियौँ। ओकिनावाको ५ दिने बसाइ यादगार रह्यो।
बुढीमाउले पनि भनिन्, 'काँचो उमेरमा बैँसको उन्माद हुन्छ, उमेरका तीन घुम्तीहरू काट्दै गएपछि जीवन आफै बुझ्न सकिन्छ। उमेरमा सबै घमन्डी हुन सक्छन्। फक्रिँदो बैँसमा सबैलाई कामवासना मन पर्छ। पुरुषहरूका आँखा नारीको वक्षस्थलमा गाडिन्छन्। जापनिज केटीहरूको स्वभाव एउटा ठिटौलो नेपाली केटोलाई कसरी थाहा हुनु?
पितृसत्ताको स्कुलिङ यामुसानलाई छ। मातृसत्ताको देश जापान हो। हो, यहीबाट समस्या सुरु हुन्छ। म त तिमीहरूको बिहे गर्न चाहन्थेँ र अझै चाहन्छु।
म त प्रस्तावक हुँ। उम्मेदवार तिमी दुई हौ, स्वतन्त्र निर्णय गर्न सक्छौ। म यामुसानको कोमल हृदय बुझ्छु। त्यसै गरी मेरी छोरी चिबाना कति जिद्दी छे, म २५ वर्षदेखि भोग्दै छु। एक अर्कोमा माया र विश्वास भएपछि ओकिनावाको नाहा सहर र यानुसानको गाउँ सिकरकटेरीमा खासै फरक हुँदैन। जीवनको गाडी यसै गरी गुड्नु पर्छ।’
बुढीमाउका दिव्य प्रवचन सुनेर चिबाना र म लामो ड्राइभमा निस्कियौँ।
गाडी 'नाकानिसी' पुग्दा जेएसएल भाषा स्कुल देखेँ। आँखा रसाए। साथीहरू सम्झिएँ। आफ्नी प्रिय गुरुआमा 'रुमी सेन्सेई' यादका चाकाहरूबाट फुत्त बाहिर निस्किइन्।
नागोको दुई दिनको बसाइ जीवनकै यादगार क्षण थियो। हामी फुर्सदमा थियौँ। हामीले जवानी अघाउन्जेल लुटिरह्यौँ।
म नेपाल फर्किएको ३ महिनापछि चिबाना सिकरकटेरी आएर अर्को ६ महिना हामीसँगै नेपाल घुम्ने/बस्ने र अन्ततः बिहे गर्ने सहमतिका बुँदा बुढीमाउलाई सुनायौँ।
बुढीमाउ खुसी भइन्।
मलाई बिदाइ गर्दा आमाछोरीले नै ओकिनावा एयरपोर्टमा बलिन्द्रधारा आँसु बगाए।
काठमाडौँ उत्रिएपछि मैले चिबानालाई सकुशल नेपाल आइपुगेको ई-मेल लेखेर सिकरकटेरी हिँडेँ। तर ३ महिनापछि कृषकाय बाआमालाई जापानी बुहारी लिएर आउँछु भन्दै काठमाडौँ हान्निएँ। म निराश भएर सिकरकटेरी फर्केँ।
चिबानाले शान्ति सुरक्षाको कारण नेपाल आउन नसकेको, हालैका दिनबाट विदेशी केटासँग बिहे गर्न त्यति उपयुक्त लाग्न छाडेको र आफूलाई माफी दिन र बिर्सन लेखेकी थिई।
मैले ई-मेलमा आफ्नो छोटो जवाफ फर्काएर फेरि सिकरकटेरी फर्किएपछि चिबानालाई भुल्न वर्षौँ खर्चनु परेको थियो। वर्षौँसम्म म आमाछोरीको उल्झनमा अड्किरहेँ।
ई-मेल पठाउन काठमाडौँ जान पनि सिकरकटेरीबाट तीन दिन लगातार हिँड्नु पर्थ्यो। मलाई त्यो ऊर्जा चिबानाको निमित्त खर्चन मन लागेन। मैले एउटा लामो चिठी चिबानालाई रजिस्टरी गरी पठाएँ। तर प्रतिउत्तरमा चिबानाको कुनै खत सिकरकटेरीसम्म आइपुगेन। तर ई-मेल गर्न काठमाडौँ जानु नपर्ने जमाना पनि आयो।
गाउँमै बिजुली आयो। मोबाइल फोनको चकचकी आयो। त्यसपछि वाइफाई पनि गाउँ-गाउँ आयो। हामीले सिकरकटेरीमा पनि वाइफाई लग्यौँ। आक्कलझुक्कल चिबाना ई-मेल गरिरहन्थी।
मलाई मनदेखि चिबाना भेट्न ओकिनावा जाने मन थिएन। अब घर्किँदो उमेरमा ऊसँग बिहे गर्न मलाई कुनै उत्साह थिएन। उसले जापानको भिसा लगाउने सिओई पठाइदिई।
मलाई सिकरकटेरी छोड्न गाह्रो भयो।
नौबिसेमा धान पसाउने तरखरमा थिए। बिहानै नुहाउन पुग्ने गँगटे खोलोमा नजर डुलाएँ, कञ्चन पानी सुनकोसी भेट्न हतारिँदै थियो। तर मलाई भने ओकिनावाकी प्रेमिका भेट्न जान कुनै हतारो थिएन।
श्यामु दाइसँग बिदा माग्न उनको घर छिर्दा लामो सालको पातको बिँडी तानिरहेका थिए। राँगो लगाउने भैँसीहरूको भिड लागिसकेको थियो। श्यामु दाइले अर्को सालको पात झिके र बिँडी बटार्न थाले। मानौँ श्यामु दाइलाई कुनै हतार नै छैन। साँच्चै सिकरकटेरियनहरू हतारमा बाँच्दैनन्।
तर चिबानालाई ओकिनावाको भट्टी पसलमा कति हतारो होला?
आफ्नी आमाको मृत्युको शोकमा रुने फुर्सदको समय पनि चिबानालाई मिलिरहेको थिएन, सायद।