सरकारी जागिर भनेको सेवा पनि हो, सपना पनि। दाम पनि, नाम पनि। अर्को अर्थमा भन्ने हो भने 'भविष्य सुरक्षित भएको मान्छे'।
यी प्रख्यात गाउँघरका वाणीहरूद्धारा उत्प्रेरित भई विदेश नगई आफ्नै देशमा बसेर राष्ट्रको सेवा गर्ने मनसायले सरकारी सेवामा प्रवेश गर्न एउटा गाउँमा जन्मे हुर्केको लक्का जवान राजधानी हानियो।
७७ जिल्लाकै मान्छेहरू जमघट हुने राजधानीमा परिवर्तनका संवाहक मानिने युवाहरू कोही देशमा भविष्य नदेखेर आफ्नो सुनौलो भविष्यको लागि होस् या रहरले होस् या बाध्यताले विदेश जान तम्सिएका थिए भने कोही देशमै केही गर्नुपर्छ भनेर जागिरको दौरानमा थिए।
तीमध्ये सरकारी सेवा प्रवेश गर्ने लाइनमा मेरो नाम दर्ज थियो।
'सरकारी जागिर भनेको जीवनभरको भरपर्दो कमाइ र समाजको इज्जत हो' भन्ने कथनलाई मन, मस्तिष्कमा शिरोधार्य गरी राजधानीमा कहिले रूमभित्रै कहिले घरको छतमा तर धेरैजसो समय केन्द्रीय पुस्तकालयमा बित्यो।
राजनेताहरूको संसद भवन जस्तै थियो लोक सेवा तयारी गर्नेहरूको लागि टियु।
साथीभाइसँगको चिनजान बढेसँगै पढाइले गति लियो। मेहेनत, निरन्तरता, लगनशीलता, मनोरञ्जन र धैर्यतामा कहिल्यै कालो बादल मडारिएन। अध्ययनले आफ्नो रफ्तार १२० को स्पिडमा बढाएर अन्ततः सरकारी सेवा प्रवेश गर्ने मनोकांक्षा पूरा भयो।
२०८० सालको कुरा हो राजधानीको बसाइँलाई बिट मार्दै जब गाउँकै विद्यालयमा पढेको छोरो पहिलो पटक लोक सेवा पास गरेर वडा सचिव बनेर कुनै पालिकाको वडामा फर्किएको थियो।
अहिलेसम्म पनि ती दिन सम्झँदा मन हर्षले भरिन्छ। कार्यस्थलमा जानु अगाडि मनमा उब्जिएका अनेकौं प्रश्नहरू, समाधानका मुहानहरू। नयाँ ठाउँ, नयाँ परिवेश, रहनसहन, जनता, जनप्रतिनिधि, राजनीतिज्ञ तथा सेवाग्राहीहरूसँगको सम्बन्ध कस्तो होला। के होला? कसो होला? कसरी ह्यान्डिल गर्ने भन्ने प्रश्नहरू मानव मस्तिष्कमा खेलिराखेका थिए। अन्ततः जे पर्छ त्यो टर्छ भन्ने खुसी र उत्साहको सम्मीश्रणका साथ आफ्नो कार्यालय प्रवेश गरियो।
आफ्नो कार्यजिम्मेवारी अनुसार जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता लगायतका पञ्जीकरणका कार्य, सामाजिक सुरक्षाका विषय, सिफारिस तथा प्रमाणित गर्ने लगायतका दैनिक जीवनमा घट्ने घटना ठोकिने ठाउँ वडा कार्यालय भएकोले आ-आफ्नो जिम्मेवारी अनुसार वडा अध्यक्ष र सचिवले कागजातमा सिग्नेचर गर्दै सेवा प्रवाहले गति लियो। समय बित्दै गयो। चिनजान हुँदै गयो। कहिले झगडा, कहिले हाँसो, कहिल खुसीका पलहरू मिश्रित हुँदै थिए। सेवा प्रवाह निरन्तर चलिरहेको थियो। सचिवज्यू भनेको सुन्दा छुट्टै आनन्द आउने। जन्म, मृत्यु, विवाह—सबैको दर्ता म गर्न थालेँ। जसको कथा जनताले सुन्दैनन्, राजनीतिज्ञहरूले सरोकार राख्दैनन्, र हाम्रो कार्यालयमा आउने बुढीआमाहरू हाँस्दै सोध्थे—जसको बिहे भएन, उसले अरूको बिहे दर्ता गर्ने ?' 'ए सचिव ज्यू, तपाईंको बिहे कहिले?' म हाँस्नु बाहेक के गर्न सक्थें र?
घुलमिल हुँदै समय बित्दै गयो।
त्यो दिन, घाम सामान्यभन्दा अलिक शान्त थियो। म कार्यालयको कुर्सीमा बाँधिएको जस्तै बस्थे—एकपछि अर्को सिफारिस, निवेदन, प्रमाणपत्र।आफ्नै मनको निवेदनलाई कहिल्यै प्राथमिकता दिइएको थिएन। त्यही बेला उनी आइन्—सचिवज्यू, आयस्रोत प्रमाणित चाहिएको छ।
कपडा साधारण थियो, आँखामा तेज। म सरकारी छाप हान्ने तरखरमा थिएँ, तर छातीभित्र केही धपक्क बलेको महसुस भयो। कहिल्यै नभोगिएको लाज,अनौठो चिन्तन, र सरकारी कुर्सीमा बस्दा–बस्दै मानविक प्रेमले झस्काएको पहिलो अनुभूति। सर्लक्क परेको शरीर, गोलो अनुहार, छुँदा दाग लाग्ने उनलाई देख्दा शरीरका न्यूरोनहरू एकाएक सक्रिय भए, मुटुको गति सामान्य भन्दा तेज भयो, सायद यो नै हो , जुन पहिलो नजरमै केमिस्ट्री जम्छ भनिन्छ।
लामो श्वास लिँदै मैले कुन कामका लागि होला भनेर सोधिहालेँ र मनभित्र भित्रै वार्तालापलाई लामो समयसम्म कायम राख्ने निधो गरेँ र उनलाई बस्नु न कुर्सीका काम एकैछिनमा भैहाल्छ भनेर आग्रह गरे।
उनले मेरो आग्रहलाई सहर्ष स्वीकार गरेर बसिहालिन्। मैले कुरालाई विस्तारै अगाडि बढाएँ। उनले पनि लजालु स्वभावमा उत्तर दिँदै गइन्। आयस्रोत प्रमाणितका लागि कागजात माग्दै गएँ र प्रमाणित भन्दा उनको परिचय मेरा लागि मूल्यवान् थियो, त्यसैले मैले उनको प्रमाणितको लागि भन्दै नागरिकता पनि मागेँ र फोटोकपी गरिहालेँ। एक्कासि उनले पनि हजुरको घर कता हो सर भनेर सोधिन्? मैले पनि उनले मागेको भन्दा बढी आफ्नो जानकारी सम्प्रेषण गरेँ र उनको पनि सोधिहालेँ।
उनको काम पनि भयो उनले थ्याङ्क्यु सर भन्दै घर गइन्। मैले वेलकम पनि भन्न सकिनँ। र हेरेको हेरै भए खै कस्तो जादु छाडेर गइन्। उनी प्रस्थान भइसकेसी काम लिएर आएकी मान्छे हो, तर मनै लिएर गइन् कि जस्तो भयो। सामान्य बोली, सामान्य उपस्थिति-तर असामान्य असर। अफिस सकेर रूम गई झलझली उनकै याद आइरह्यो।
फेसबुकमा नागरिकतामा भएको नाम उल्टाई पल्टाई धेरैपटक सर्च गरेँ तर उनको अनुहार भेटाइनँ। दिन बित्दै गयो मनमनै अब उनी कुनै काम ल्याएर आइन् भने सिधै फेसबुक आइडी माग्छु अनि सबै भन्छु भनेर मनलाई शान्त बनाएँ। केही दिनपछि फेरि उनको वडा कार्यालयमा आगमन भयो। म झसक्क भएँ। खुसीले सीमा नाघ्यो ।उनी —बाबुको नागरिकताको प्रतिलिपिको सिफारिस बनाउन आएकी रहिछिन्। बुबा नि सँगै आउनुभाको थियो।
सेवाग्राहीको चापले अलि समय लाग्ने कुराको मैले जिकिर गरेपछि उनका बुबा बाहिर निस्कनु भयो। एकछिनमा आउँछु भनेर तर उनी भने गइनन्। मनभित्र लड्डु फुट्न थाल्यो मन परेको मान्छेसँग कुरा गर्दाको मजा बेग्लै।
कुराकानी गर्दै गयौं, कार्यालय सहयोगीलाई खाजा मःम ल्याउन पठाएँ र कुराकानीले उच्च रूप लिँदै थियो। मैले सोधिहालेँ- फेसबुक चलाउनुहुन्छ? उनले हाँस्दै- 'नाइँ चलाउँदिनँ' भनिन्!
मलाई विश्वास लागेन। फेरि सोधेँ। अनि आफ्नो फेसबुक आइडी सेयर गरिन्, मैले नि गरेँ।
उनका बुबा आए। उहाँको हस्ताक्षर मात्र बाँकी थियो गर्नुभयो। काम भ्याएर घर लाग्नु भयो। कतिखेर ५ बज्ला र घर गएर रिक्वेस्ट पठाएर कुरा गरम्ला भो। रूम गइयो मोबाइल खोलियो। रिक्वेस्ट पठाएको ३ घन्टासम्म पनि एसेप्ट भएन। खाना खाएर आएँ। मोबाइल हेरेको एसेप्ट भएछ। अनि हाम्रो भलाकुसारी अघि बढ्यो। मैले प्रश्न गर्थें, उनले उत्तर मात्र दिन्थिन्।
मैले भनिहालेँ ‘तिमीलाई पहिलोपल्ट देख्दा लाग्यो, समय केही क्षणका लागि रोकिएको हो.... तिम्रो मुस्कान- बिहानीको घामजस्तो उज्यालो, तिमी उभिँदा सुन्दरताको प्रतिक जस्तो देखिन्छौ, भनेर भनिहालेँ।
उनले हाँस्दै धन्यवाद! टक्राउँदै तपाईं त कवि हो कि क्या हो भनिन्।
म पनि हाँसेँ र हजुरको लागि कवि नै बन्दिम्ला भनेर जबाफ फर्काएँ।
कुरा हुँदै गयो रात बित्दै गयो। त्यो दिन राति १२ बजे सुतियो तर निन्द्रा पटक्कै लागेन। यसरी दिनप्रतिदिन हामी नजिकिँदै गयौं। धेरैजसो राति अबेरसम्म हामीबीच हास्य रसले भरिएका र कहिलेकाहीँ मन र मस्तिष्कको संयोजनबाट निस्केका अत्यन्त गम्भीर, प्रेमिल कुरा हुन्थे। उनी पनि बेला बेला अफिस आइराख्थिन्। कहिले बुढा हजुरबुबाको मृत्युदर्ता, अनि जग्गाको नामसारी। कहिले साथीहरूको काम लिएर। प्रत्येक पटक उनी आइपुगेपछि मेरो बोली अलिक मन्द हुन्थ्यो, र हस्ताक्षर , सिफारिस भने साँच्चिकै ध्यान दिएर गर्थें—
किनकि त्यो कागजमा उनीसँग संवाद गरिरहेको महसुस हुन्थ्यो। हामीबीच कहिल्यै प्रेम प्रस्ताव आदानप्रदान भएन, तर उहाँको 'सचिवज्यू' भन्ने बोलीमा नै म प्रेम खोज्थें। त्यो शब्द, मेरो नामभन्दा पनि मीठो लाग्थ्यो। 'आज ढिलो गर्नुभयो त?' उनको यस्तो सामान्य कुरा पनि
दिनभरि मनमा दोहोरिन्थ्यो। फूल नदिई फुलेको सम्बन्ध थियो त्यो—मौन, तर मौलिक।
उनले कहिल्यै केही मागिनन्, तर म भने चुपचाप आफूलाई दिन खोज्थें। कहिलेकाहीँ उनी जाने बेलाम ढोकातिर नहेरिनजस्तो गर्थें, तर म मनमनै हरेक पाइला गन्दै हुन्थें।
'रातको सन्नाटाले हामीलाई बोलेन, तर च्याटको शब्दले हामीलाई जोड्यो। कसैले देखेन, तर त्यो इनबक्सभित्र हाम्रो सारा संसार पलाइरहेको थियो।' कुरा हुँदै दिन बित्दै गए एकदिन मैले प्रपोज गर्ने निर्णय गरेँ।
जुनेली रात थियो आकाशमा ताराहरू दबदबा थियो मैले एउटा कुरा भन्छु भनेँ। भन्नु न भनेसी मैले आफ्नो कुरा राखी हालेँ 'म विज्ञानको विद्यार्थी होइन, तर म भन्छु – जब तिमी वरिपरि हुन्छ्यौ, मेरो मुटुको गति नियतदेखि अनियन्त्रित बन्छ। डोपामिन, सेरोटोनिन, र अक्सिटोसिन जस्ता प्रेम हर्मोनहरूले मेरो सोचमा क्रान्ति ल्याउँछन्। तिमी मेरो जीवनको अनपेक्षित गणित हौ – जसको समीकरण बुझ्न सकिँदैन, तर अनुभूति गर्न सकिन्छ।'
उताबाट उनको रिप्लाईको पर्खाइमा थिएँ तर थ्याङ्क्यु अहिलेलाई यति मात्र है भन्ने जबाफ आयो।
मैले नि किन कसो भनेर धेरै कुरा नगरी हाम्रो नियमित संवाद चलिरह्यो। दिन बित्दै गए रात बित्दै गए। २-३ महिना भएको थियो उनी अफिसको बाटो देखिएकी थिइनन् तर हाम्रो फेसबुकमा कुरा भैराख्थ्यो।
एकदिन उनी फाइलको थैली लिएर साँझपख अफिस बन्द हुने समयमा आइन्, तर त्यो फाइलमा कुनै सरकारी निवेदन थिएन। उनको अनुहारमा पहिलाजस्तो चमक थिएन, सानो स्वरमा भनी –'सचिवज्यू, म अष्ट्रेलिया जान लागेँ। 'मलाई लाग्यो– कुनै अघोषित म्याद सकिएको जस्तै। कुराहरू धेरै थिए, शब्द चाहिँ एकएक हराइरहे। 'कति समयको लागि?' मैले सोध्न खोजें,
तर उत्तर आयो –'शायद... सधैँको लागि।' त्यसपछि उनले भनिन् –'तपाईंलाई मन पराउँथेँ...
तर तपाईं मौन नै रहनुभयो।'
म मुस्कुराएँ। त्यो सचिवको मुस्कान थिएन, त्यो एक जना बेकामे प्रेमीको पराजित हाँसो थियो। म त दिनभर अरूका विवाह प्रमाणित गर्दै बिताएँ, तर आफ्नै सम्बन्ध दर्ता गर्न सकिनँ।
त्यो दिनपछि उनी फर्किइनन्। उनले आयस्रोत प्रमाणित, जग्गा नामसारी लगायतका सबै प्रक्रिया कोर्ट म्यारिज गरेर डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया जानको लागि रैछ भन्ने कुरा पछि छिमेकी अंकलबाट थाहा पाएँ।
फेरि सिफारिसहरूआए, कागजहरू आए, मान्छेहरू आए...तर मनमा एउटी मात्र सेवाग्राहीको फाइल अधुरो रह्यो—प्रेमको फाइल। आज पनि कसैले भन्छ—'सचिवज्यू, तपाईंको बिहे कहिले?' म फाइलमा साइन गर्छु, अनि मुस्कुराउँछु—'मेरो प्रेम सरकारी कागजमा कहिल्यै पुग्न सकेन।'
(उनी अस्ट्रेलिया गइन्। म नि त्यो ठाउँमा बस्न सकिनँ। त्यो ठाउँ छोड्ने निधो गरेँ र अहिले उनी नेपाल छोडेर अस्ट्रेलिया म पनि तराई छोडेर पहाड लम्किएँ।)