दुबईबाट आएको नेपाल एयरलाइन्सको ‘आर ए २३०’ जहाज दिल्लीतर्फ डाइभर्ट भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ वे व्यस्त हुँदा निगमको जहाज दिल्ली डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार पार्किङ वे व्यस्त भएपछि निगमको जहाजले धेरै समय होल्ड गर्नुपर्ने भएर डाइभर्ट गराएको जानकारी दिए।
‘पार्किङका लागि तीनवटा जहाज होल्डमा थिए। निगमको जहाजले पनि केही समय होल्ड गर्नुपर्ने थियो,’ महाप्रबन्धक पाण्डेले भने, ‘त्यसका लागि पर्याप्त इन्धन नहुँदा दिल्लीतर्फ डाइभर्ट गरिएको एटिसीबाट जानकारी आएको छ।’
उनका अनुसार व्यस्त समयमा पार्किङ वे उपलब्ध नभएको सूचना क्याप्टेनलाई दिइएको थियो। त्यसपछि क्याप्टेनलाई दिल्लीतर्फ सहज हुने भन्दै डाइभर्ट गरेका हुन्।