शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको 'आरए २३०' जहाज दिल्ली डाइभर्ट भयो।
उक्त जहाज ९:४० बजे काठमाडौं अवतरण हुने तालिका थियो। काठमाडौं विमानस्थलको अन्तर्राष्ट्रिय तर्फको पार्किङ व्यस्त भएपछि जहाज सिमरामा होल्ड भयो।
विमानस्थल कार्यालयका अनुसार एयर ट्राफिकका कारण निगमको जहाजलाई ३० मिनेट सिमराकै आकासमा होल्ड गरिएको थियो। निगमको जहाजसँगै अरू जहाज पनि होल्डिङमा थिए।
त्यसैबीच 'पार्किङ वे खाली छैन, अझै २५ मिनेट लाग्छ' भन्दै विमानस्थलबाट एयर ट्राफिक कन्ट्रोलर (एसिटि) ले जानकारी गराए।
त्यसपछि पाइलट सञ्जय वैद्यले अब होल्ड गर्न नसक्ने जानकारी दिए।
'उहाँले जहाजमा अब होल्डिङ फ्युल १० मिनेटको मात्र छ, दिल्ली डाइभर्ट गराँउछु भन्नुभयो,' विमानस्थल स्रोतले भन्यो, 'पाइलटले नै दिल्ली डाइभर्ट गराउने निर्णय लिएपछि हामीले केही भन्न मिल्दैन।'
तर निगमको यो निर्णयले दुइटा प्रश्न उठेको छ —
एक, आकासमा होल्ड गर्न इन्धन कम भएको उक्त जहाज दिल्ली कसरी पुग्छ?
दुई, नेपालमै अर्को अन्तर्राष्ट्रिय विमानस्थल हुँदा हुँदै किन जहाज अवतरण हुन दिल्ली गयो?
यस विषयमा हामीले सम्बन्धित क्षेत्रका विज्ञसँग कुरा गरेका छौं।
पहिला कुरा गरौं, इन्धनबारे।
हरेक जहाजमा होल्डिङ फ्युल र अल्टरनेटिभ फ्युल हुन्छ।
सामान्यतया अन्तर्राष्ट्रिय उडानमा जहाजले ४५ मिनेटसम्म जहाज होल्ड गर्न मिल्ने इन्धन बोकेको हुन्छ। कतिपयले त्योभन्दा बढी पनि बोकेका हुन्छन्। त्यस्तै वैकल्पिक विमानस्थल पुग्न मिल्ने इन्धन अलग्गै हुन्छ।
'आजको केसमा भन्नुपर्दा होल्डिङ फ्युल १० मिनेट मात्र छ, त्यसैले २० मिनेटसम्म होल्ड गर्न सक्दिन भनेर पाइलट दिल्ली डाइभर्ट भएको सुनियो,' उनले भने, 'अल्टरनेटिभ फ्युललाई पनि होल्डिङ गर्न मिल्छ, तर पाइलटहरूले त्यो जोखिम लिँदैनन्।'
उनका अनुसार कुनै पनि पाइलटले सुरक्षा हिसाबले अल्टरनेटिभ फ्युल प्रयोग गर्दिनँ भन्न पाउँछ।
सुरक्षा हिसाबले सही निर्णय लिए पनि व्यावसायिक हिसाबले हेर्दा पाइलटको निर्णय गलत रहेको उड्डयन प्राधिकरण स्रोत बताउँछ।
गन्तव्यमा आइसकेर लामो समय होल्ड गर्नुपरेको अवस्थामा पाइलटले विकल्पका लागि अर्को विमानस्थल डाइभर्ट गर्नु नै उचित हुने क्याप्टेन विजय लामा बताउँछन्। अन्तिम मिनेटसम्मको फ्युल राखेर आकासमै होल्ड गर्नु अनुचित रहेको बताउँदै उनले भने, 'सुरक्षालाई हेरेर काम गर्नुपर्ने हुन्छ, होल्डिङ फ्युल सकाउनु हुँदैन।'
उनका अनुसार जहाज आकासमै होल्ड गराएर पनि अवतरण गराउँदा कारणवश धावनमार्गमा कुनै समस्या भयो वा जहाजकै इन्जिनमा केही समस्या आयो भने मिस अप्रोच गरेर समेत जानुपर्ने हुन्छ। जसले इन्धन धेरै खपत हुने उनले बताए।
'यी सबै हिसाब गरेर पाइलटले जहाज डाइभर्ट गरेको हुन्छ,' उनले अगाडि भने, 'हामीले अल्टरनेट फ्युल पनि राख्नुपर्छ। यदि गन्तव्य विमानस्थलमा जहाज अवतरण भएन भने अल्टरनेटिभ विमानस्थल पुग्नुपर्ने हुन्छ।'
अब कुरा गरौं, काठमाडौंमा अवतरण नहुँदा किन बाहिर डाइभर्ट हुन्छन् जहाज?
कुनै पनि जहाजले उडानअघि सम्पूर्ण जानकारी विमानस्थललाई दिएको हुन्छ। यसलाई 'फ्लाइट प्लान' भनिन्छ।
उक्त फ्लाइट प्लानमा कुन जहाज उड्ने, कहाँ जाने, कति उचाइसम्म उड्ने, पाइलट को हुन्, कति इन्धन बोकेको छ लगायत समावेश गरिएको हुन्छ। साथै जुन गन्तव्यमा जाने हो, त्यहाँ केही कारण अवतरण हुन सकेन भने त्यसका लागि अल्टरनेट विमानस्थलको समेत टुंगो भइसकेको हुन्छ।
एउटा गन्तव्य र दुइटा वैकल्पिक गरी तीनवटा विमानस्थल राखिएको हुन्छ। कुनै समस्याले गन्तव्यको विमानस्थलमा अवतरण हुन नसकेको खण्डमा जहाज पहिलो विकल्पमा अवतरणका लागि जान्छ। त्यसमा पनि अवतरण हुन समस्या भयो भने दोस्रो विकल्पमा अवतरण गर्छ।
उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार डाइभर्टका लागि उनीहरूले विमानस्थलको मौसम र सेवासुविधा हेर्छन्। आफ्ना कर्मचारी र नियमित उडान भइरहेको सजिलो विमानस्थल छान्छन्।
'आकासमा होल्ड गरिरहेको जहाज गन्तव्यको विमानस्थलमा जान नसकेर कुन वैकल्पिक विमानस्थलमा अवतरण गर्ने भन्नेबारे पाइलट वा सम्बन्धित एयरलाइन्स वा निकायको भूमिका हुँदैन,' सूचना अधिकारी भुलले भने।
यसको अधिकार सम्बन्धित वायुसेवा कम्पनीको अपरेसन टिम र क्याप्टेनसँग हुने उनी बताउँछन्। जहाँ उनीहरूलाई सहज हुन्छ, त्यही अनुसार वैकल्पिक विमानस्थल तय हुन्छन्।
त्यसैले काठमाडौंमा आएको जहाज भैरहवा जानुपर्छ वा पोखरा जानुपर्छ भनेर अनिवार्य गर्ने अधिकार कुनै पनि मुलुकको उड्डयन प्राधिकरणलाई नहुने उनले बताए।
त्यसो भन्दैमा हामीकहाँ सञ्चालनमा रहेका काठमाडौं बाहेकका दुई अन्तर्राष्ट्रिय विमानस्थल डाइभर्टका लागि योग्य छैनन् वा त्यहाँ डाइभर्ट गर्न सकिँदैन भन्ने होइन। काठमाडौंमा उडान-अवतरण गरिरहेका वाइडबडी जहाज भैरहवामा पनि अवतरण गर्न सक्छन्। यी दुई विमानस्थलमा भन्दा एक तह सानो जहाज पोखरामा उडान-अवतरण गर्न सक्छन्। यसमा कुनै समस्या नरहेको सूचना अधिकारी भुल बताउँछन्।
उनका अनुसार भैरहवाबाट वाइडबडी र पोखराबाट न्यारोबडीले उडान गर्न कुनै प्राविधिक समस्या छैन।
'यसमा कुनै पनि देशको प्राधिकरणले मेरै देशमा डाइभर्ट गर्नुस भन्ने बाध्यकारी नियम बनाउन पाउँदैन,' उनले भने, 'वायुसेवा कम्पनीले स्वतन्त्र रूपमा छान्न पाउनुपर्छ।'