मंगलबारदेखि खुला हुने दसैँको अग्रिम बस टिकट बुकिङको तयारी पुरा भएको छ।
राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार पहिलो दिन करिब सबै लामो दुरीका यातायातको टिकट बुकिङ खुल्ला हुनेछ।
छोटो दुरीको बुकिङ भने केही दिनमा हुने उनले जानकारी दिए। ‘सबै यात्रुले सहजता पुर्वक यात्रा गर्न पाउनु हुन्छ, तर नआत्तिकन धैर्यता अपनाउनु जरुरी छ’ उनले भने।
यात्रुले दुख नपाउन् भनेर आफूले आजैदेखि फिल्डमा गई अध्ययन गरेको उनले दावी गरे। यात्रुहरुलाई कुनै व्यक्तिबाट नभई आधिकारीक काउन्टरबाटै टिकट काट्न उनले अनुरोध गरे। अग्रिम टिकट नयाँबसपार्क, कलंकी कोटेश्वर, गौशाला र बालाजु लगायतका स्थानबाट खुला हुने महासचिब सिटौलले जानकारी दिए।
यसैबीच यातायात व्यवस्था विभागले बिहानैदेखि टिकट काउन्टर तथा आसपासको अनुगमन गर्ने भएको छ। अनुगमनका लागि विभागले ३६ जनाको टिम बनाएको छ।
१२ वटा हेल्प डेस्कमा ३ जनाको दरले कर्मचारी खटिने छन्। जसमा १ जना यातायात व्यवस्था विभागको कर्मचारी, १ जना ट्राफिक प्रहरी र एकजना उपभोक्ता अधिकारी रहने यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए। कुनै गलत काम भएको थाहा पाए यातायात ब्यवस्था ऐनअनुसार तत्काल कारवाही गरिने विभागले जनाएको छ।
त्यस्तै टिकटको कालोबजारी रोक्न राष्ट्रिय यातायात व्यवसायी महासंघले पनि छुट्टै अनुगमन गर्ने महासचिव सिटौलाले जानकारी दिए। कसैले कालोबजारी गरेको थाहा पाए हेल्प डेस्कमा जानकारी दिन सिटौलाले अनुरोध गरे।
यात्रुको सहायताको लागि विभिन्न ठाउँमा १२ वटा हेल्प डेस्क राखिएको छ। यात्रुहरु कुनै समस्यामा परे उनीहरुले हेल्प डेस्कमा सम्पर्क गर्न सक्नेछन्। कुन ठाउँको टिकट कहाँ पाइन्छ, टिकट मूल्य कति पर्छजस्ता समस्याको हेल्प डेस्कबाट समाधान हुने बताइएको छ।
तस्विर– सरोज सिटौलाको फेसबुकबाट