दसैँका लागि आगामी भदौ २२ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी तथा उपभोक्ता मञ्चबीच आज भएको सर्वपक्षीय छलफलमा आगामी २२ गतेदेखि टिकट बुकिङ खुलाउने सहमति भएको हो।
तत्कालका लागि बसहरुमा क्यारियर अर्थात हुट राख्न दिनेगरी विभागले लचकता अपनाएपछि व्यवसायीहरु टिकट बुकिङ खुलाउन सहमत भएका हुन्। यसअघि राजपत्रमा सूचना प्रकाशन गरी क्यारियर राख्न नपाउने व्यवस्था गरिएको थियो।
यद्यपी बसका क्यारियरमा मान्छे राख्न पाइने छैन। मान्छे वा कमर्सियल सामान राखेमा जुनसुकै कारबाही भोग्न आफूहरु तयार रहेको व्यवसायीहरुले बताएका छन्। यदी क्यारियरमा मान्छे राखेमा इजाजत पत्र नै खारेज गर्ने यातायात व्यवस्था विभागले जनाएको छ।
हुटमा साधारण झिटीझाम्टा प्रतिव्यक्ति अधिकतम २० किलो बाहेक अन्य व्यापारीक सामान तथा मान्छे राखे कडा भन्दा कडा कारबाही गरिने विभागका महानिर्देशक रुपनारायण भट्टराइले बताए। २०७३ असोज ११ गते लागू भएको हुट हटाउनुपर्ने नियम हटाउन फास्ट ट्रया्कबाट काम गर्ने उनले प्रतिबद्धता जनाए।
त्यस्तै यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले व्यक्तिका सामान व्यवस्थापन गर्नका लागि मात्रै हुट राखिने बताए। ‘दसैँको बेलामा २ देखि ३ लाख नेपालीहरु बिदेशबाट आउँछन्, सामान्यतया उनीहरुसँग एउटा टिभी, ठूलो लगेज र ह्याण्ड ब्याग हुन्छ, सामान कहाँ लैजाने’ सिटौलाले भने।
व्यवसायीको हुट राख्नुपर्ने माग ठिक भएको तर हुटमा हेभी सामान राख्दा दुर्घटना हुने सम्भावना बढ्ने हुँदा हलुका सामान मात्र राख्नुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनालले बताए।
त्यस्तै भाडा समायोजन गर्ने विषयमा आगामी सोमबार छलफल गर्ने सहमति भएको छ। दसैँअघि भने भाडा समायोजन लागू नगरिने भएको छ।
दसैँका लागि भनेर काठमाडौं उपत्यकाबाट २५ लाख बढी यात्रुहरु बाहिरिने गर्दछन्।