भैरहवामा निर्माणधिन क्षेत्रीय विमानस्थलको ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सने नेपाली साझेदारले धोका दिँदा काममा ढिलाई भएको गुनासो गरेको छ। चिनियाँ कम्पनीको तर्फबाट नोपलका लागि चिनियाँ राजदुतले पर्यटन संस्कति तथा नागरिक उड्डय मन्त्री जितेन्द्र देवसँग भेटेरै स्थानीय साझेदारले धोका दिएर चीनको कम्पनीलाई बद्नाम गर्न खोजिएको गुनासो गरेको मन्त्री देवले जानकारी दिएका छन्।
नेपालका शक्तीशालीका नेताका आफन्तहरु मिलेर खोलिएको स्थानीय साझेदार कम्पनीले धोका दिएको चिनियाँ पक्षको गुनासो रहेको उनले जानकारी दिए। पूर्व प्रधानमन्त्री झलनाथ खनालका छोरा निर्भिक खनाल, फुर्बा शेर्पा लगायत मिलेर खोलिएको लोकल कम्पनीले श्रमिक र निर्माण सामग्री उपलब्ध गराउने भन्दै पहिले पैसा लिएको, पछि काम नगरेर पैसामात्र मागेर बसेको चिनियाँ पक्षको आरोप छ।
‘चिनियाँ राजतदु आएर स्थानीय सप्लार्यसले धोका दिएकोले काममा ढिलाई भएको बताउनु भयो’ मन्त्री देवले भने,‘उहाँले तत्कालको लागि ठेक्का रद्ध नगर्न आग्रह पनि गनुभएको थियो।’
कुनै पनि ठकेदार कम्पनीसँग आफूहरुले अन्याय हुनेगरी ठेक्का सम्झौता वा भंग नगर्ने जवाफ राजदुतलाई दिएको जानकारी दिए।
नेपालमा पर्यटक बढीभन्दा बढी ल्याउनको लागि हवाई यातायात सुदृढ हुनुपर्ने र त्यसको लागि एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएकोले तत्काल बिकल्प हुनेपर्ने बाध्यता रहेको छ। गौतमबुद्ध विमानस्थललाई तोकिएकै मितिमा सम्पन्न गर्नकोलागि सरोकारवाला सबैलाई बोलाएर आफूले निर्देशन दिएको मन्त्री देवको भनाइ छ।
‘नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी, परामर्शदाता र ठकेदार कम्पनी सबैलाई बोलाएर मैले कामलाई तदारुकता दिन निर्देशन दिएको छु’ उनले भने।
चिनियाँ कम्पनीले ढुंगा, गिट्टी र श्रमिक आपूर्ति गर्न नेपाली कम्पनी नर्थवेष्ट इन्फ्रासँग सम्झौता गरेको र दुई कम्पनीबीच विवाद भएर लामो समयसम्म काम नै ठप्प भएको आफूले पाएको मन्त्रीको भनाइ छ। यो भन्दा अगाडि जेजस्तो भएपनि ठेकेदार कम्पनीलाई दशैसम्मको समय दिइएको र सो अवधिसम्म तोकिएको काम नगरे ठेक्का रद्ध गरिने मन्त्रीले बताए।
यो बीचमा उक्त कम्पनीले हाल एकसयमात्र मजदुर भएकोमा त्यसालाई बढाएर २ सय बनाउनुपर्ने, त्यही भएका इक्यूपमेन्टको सदुपयोग गर्ने र थप ल्याएर निर्माण कार्यलाई तदारुकता दिन निर्देशन दिइएको मन्त्री देवले जानकारी दिए।
धावनमार्गको सतहमुनि माटो विछ्याउने (अर्दन), अन्तर्रा्ष्ट्रिय टर्मिनल भवन, कन्ट्रोल टावर र प्रशासकीय भवनको पनि जमिनको सतहसम्मको कार्य पुरा भइसकेको र भवन निर्माणको काम भइरहेको छ।
पहिलो चरणको सिभिल वर्कको काम सकिएपछि इक्युपमेन्टका लागि पुनः ग्लोबल टेन्डर गरिने प्राधिकरणले जनाएको छ। भौतिक पूर्वाधारको निर्माण अन्तर्गत तीन हजार मिटरको धावनमार्ग, घाग्रा खोलाको डाइभर्सन, पार्किङ वे, टर्मिनल भवन लगायत संरचना बन्दैछन्।
विमानस्थलको स्तारोन्नतीको कार्य गएको जेठमै सकिनुपर्ने भएपनि हालसम्म जम्मा ३० प्रतिशतमात्र भौतिक प्रगति भएको पाइएको छ। तत्कालको लागि असोजसम्म पर्खेर प्रगति अनुसार कदम चालने मन्त्रालयको तयारी रहेको छ। २०७१ सालबाट सुरु भएको थियो उक्त निर्माण कार्यको लागि ६ अर्ब २२ करोड रुपैयाँमा सम्झौता भएको थियो।