बालबालिकालाई पढाउने शिक्षकलाई सरकारले तालिम दिन्छ। संसारभर भनिन्छ- केटाकेटीको पहिलो विद्यालय घर र अभिभावक पहिलो शिक्षक हुन्।
तर के पहिलो शिक्षकले कुनै तालिम पाउँछन्?
अभिभावकलाई पनि तालिम! हाम्रा लागि यो अनौठो कुरा हुनसक्छ। यस्तै अनौठो कुरामा हात हालेका छन् काठमाडौंका कवीन्द्र नापित र प्रतिमा लामाले।
उनीहरूले अभिभावकको सिकाइका लागि 'स्मार्ट प्यारेन्टिङ, नेपाल' नामक संस्था सुरू गरेका छन्। २०७७ भदौमा उनीहरूले औपचारिकरूपमा यो संस्था सुरू गरेका हुन्।
संस्थाले बालबालिका हुर्काउने तरिका, अभिभावकले गर्नुपर्ने व्यवहार, नकारात्मक असर पर्न सक्ने व्यवहार, छोराछोरीसँग अभिभावक अर्थात् आमाबाबुको सम्बन्ध जस्ता विविध कुरा सिकाउँछ।
केटाकेटीको हुर्काइमा अभिभावकको भूमिका महत्वपूर्ण हुने भएकाले आफूहरूले स्मार्ट प्यारेन्टिङ सुरू गरेको संस्थापक कवीन्द्र नापित बताउँछन्।
'व्यक्तिले आफूमा अभिभावकत्व अभिवृद्धि गर्न कहाँ जाने? नेपालमा यसको जवाफ छैन, हामीले ठाउँ बनाएका हौं,' उनले भने।
कवीन्द्र र प्रतिमा दुवै मनोविज्ञान विषयका विद्यार्थी हुन्। दुवै काठमाडौंको त्रिचन्द्र क्याम्पसमा स्नातकोत्तर पढ्दै छन्। पढाइकै सिलसिलामा उनीहरूको भेट भएको हो। कुरा गर्दै जाँदा सोच र रूचि मिलेपछि स्मार्ट प्यारेन्टिङ सुरू गरेका हुन्।
प्रतिमा शिक्षकलाई तालिम दिने काम गर्छिन्। कवीन्द्र एउटा आउटसोर्सिङ कम्पनीका सिइओ हुन्। प्रतिमाका अनुसार आफूहरूले गरिरहेको कामलाई निरन्तरता दिँदै बालबालिका र अभिभावकका लागि पनि काम गर्ने सोचका साथ उनीहरूले उक्त संस्था सुरू गरेका हुन्।
प्रतिमा भन्छिन्, 'बच्चाहरूको पहिलो शिक्षक त अभिभावक हुन्। स्कुलका शिक्षकलाई मात्रै तालिम दिएर नहुने रहेछ। अभिभावकका लागि पनि आवश्यक छ भन्ने लागेर यो कार्यक्रम सुरू गरेका हौं।'
प्रतिमालाई बालबालिकाका लागि काम गर्ने रूचि पहिल्यैदेखि थियो। एक पटक उनले इन्टरनेसनल चाइल्ड डेभलपमेन्ट तालिम लिने अवसर पाइन्। यसपछि उनी अरूलाई पनि केही सिकाउन सक्ने भइन्।
कवीन्द्रसँग भेट भएपछि उनले आफूले सिकेको विषयमा कुरा गरिन्। कवीन्द्रले पनि अभिभावकले बालबालिकासँग गर्नुपर्ने व्यवहारबारे केही कुरा थाहा पाए।
'मेरो छोरो सानो थियो। उसलाई कसरी हुर्काउने, ऊसँग कसरी राम्रो सम्बन्ध बनाउने भन्ने कुरा सोचिरहेको थिएँ,' उनी भन्छन्, 'प्रतिमासँगको संगतले धेरै कुरा सिक्ने मौका पाएँ।'
प्रतिमाको संगतले कवीन्द्रले असल अभिभावकत्व कस्तो हो भन्ने थाहा पाए। आफूजस्ता अभिभावकलाई असल अभिभावकत्व सिकाउन पाए हुन्थ्यो भन्ने लाग्यो। यसपछि सुरू भएको हो स्मार्ट प्यारेन्टिङ कार्यक्रम। दुवै सञ्चालक हरेक शनिबार स्मार्ट प्यारेन्टिङका लागि समय छुट्याउँछन्।
आफूहरूको कार्यक्रमले काँचो माटोजस्ता संवेदनशील बालबालिका र तिनका अभिभावकबीच सम्बन्ध मजबुत बनाउन सहयोग गर्ने उनीहरूको विश्वास छ।
बालबालिकालाई ससाना कुराले असर पुर्याउँछ। सानै कुराले खुसी र दुःखी बनाउँछ। अभिभावकले बालबालिकाको मनोभाव र आवश्यकता बुझेर व्यवहार गर्न सके हुर्काइ राम्रो हुने प्रतिमाको भनाइ छ।
'ससाना कुरामा ध्यान दिन सकियो भने केटाकेटीको हुर्काइ राम्रो हुन्छ। अभिभावक र बालबालिकाको सम्बन्ध सुमधुर हुन्छ,' उनले भनिन्।
अभिभावकले सानादेखि अलि हुर्केका बालबालिक भुलाउन मोबाइल फोन दिने प्रवृत्ति बढ्दो छ। यसले उनीहरूमा नराम्रो असर परिरहेको प्रतिमाको अनुभव छ।
उनी भन्छिन्, 'कतिपय बच्चा आमाबाबुसँग नजिक नपर्ने र खाना खान नमान्नेजस्ता गुनासा पनि हामीले सुनेका छौं। बेलैमा ध्यान पुगेन भने दीर्घकालीन र गम्भीर असर पर्छ।'
पैसा भएपछि जे पनि गर्न सकिन्छ भन्ने मानसिकता बढ्दै गएकाले पनि बालबालिका-अभिभावकको सम्बन्ध बिग्रिँदै गएको कवीन्द्रको भनाइ छ, 'अभिभावकले बच्चालाई दिने समय नै सबभन्दा ठूलो हुन्छ।'
उनले एउटा लोकोक्ति सुनाए– एक वर्षमा लगानी उठाउनु छ भने धान रोप्नु रे! दस वर्षमा उठाउने भए जलविद्युतमा लगानी गर्नु रे। बीस वर्ष भए रूख रोप्नु रे! जिन्दगीभरका लागि हो भने सन्तानमा लगानी गर्नु रे!
सुरूमा उनीहरूले केही अभिभावक जम्मा गरेर प्यारेन्टिङ कार्यक्रम चलाए। कोरोनापछि भने विशेषज्ञ र अभिभावकलाई 'जूम' मा जोडेर कार्यक्रम गरिरहेका छन्।
स्मार्ट प्यारेन्टिङले बच्चासँग गर्नुपर्ने व्यवहारबारे सिकाउँदै शारीरिक तथा मानसिक स्वास्थ्य, सामाजिक विकास, आपसी सम्बन्ध, असल व्यवहार, खानपिन लगायतमा अभिभावकलाई जानकारी गराउँछ। बालबालिकामा देखिएका समस्या कसरी समाधान गर्ने, सल्लाह र सुझाव लिन कोसँग सम्पर्क गर्ने जस्ता प्रश्नमा अभिभावकलाई सहयोग पनि गर्छ।
स्मार्ट प्यारेन्टिङ आमाबाबु भइसकेका व्यक्तिलाई मात्र हो?
प्रतिमाले एउटा अनुभव सुनाइन्।
उनीहरूले एउटा कार्यक्रममा कलाकार दीपाश्री निरौलालाई बोलाएका थिए। बच्चा नभएको व्यक्तिलाई किन बोलाएको भनेर विवाद भयो। तर आखिरमा उनीहरू कार्यक्रममा अभिभावकको चित्त बुझाउन सफल भए।
प्रतिमाले सुनाइन्, 'समाजको हरेक व्यक्ति अभिभावक हुन्छ, हरेकले असल अभिभावकत्व निर्वाह गर्नुपर्छ तबमात्र बालबालिकाहरू असल हुन्छन्।'
आमाबाबुलाई मात्रै नभई बच्चाको हेरचाह गर्ने जो कोहीलाई स्मार्ट प्यारेन्टिङ सिकाइ महत्वपूर्ण हुने प्रतिमाको भनाइ छ। कतिपय देशमा गर्भवती हुनुअघि नै बच्चासँग कसरी व्यवहार गर्ने र कसरी हुर्काउने भनेर सिकाइने भए पनि नेपालमा त्यस्तो अभ्यास नरहेको उनले बताइन्।
संस्थाले अभिभावकलाई विशेषज्ञबाट परामर्श र अस्पतालसँग समन्वय पनि गराउँछ। कवीन्द्रका अनुसार हालसम्म उनीहरूले निजी खर्चमै कार्यक्रम चलाएका हुन्। अब थोरै शुल्क लिन थाल्ने सोच छ।
'निःशुल्क ज्ञानको महत्व हुँदैन भनेर हामीले सुझाव पाएका छौं। थोरै भए पनि शुल्क लिने विचारमा छौं,' उनले भने।
अभिभावकको सिकाइका लागि प्याकेज बनाएर काम गर्ने योजना छ। पाइलट प्रोजेक्टका रूपमा अभिभावक चौतारी प्याकेज सुरू गरेका छन्। यसमा अभिभावकले आफ्ना गुनासा सुनाउँछन्।
त्यस्तै स्थानीय तह, प्रसूति गृहहरू, युनिसेफ, सेभ द चिल्ड्रेन जस्ता संस्था र काठमाडौं विश्वविद्यालयसँग समन्वय गरेर काम गर्ने योजना रहेको कवीन्द्रले बताए।
प्रतिमाका अनुसार हालसम्म संस्थाले दुई हजार बढी अभिभावकलाई तालिम दिएको छ। नेपालमा नयाँ अभ्यास भएकाले उनीहरूले केही अप्ठ्यारो झेल्नुपरेको छ। तर प्रतिक्रिया सकारात्मक छ। यसबाट उनीहरूलाई हौसला मिलेको छ।
स्मार्ट प्यारेन्टिङबाट लाभ लिने अभिभावकमध्ये एक हुन् जोरपाटीकी दिव्या सिंह। छ वर्षे छोरी र एक वर्षे छोराकी आमा उनी साप्ताहिक रूपमा कार्यक्रममा सहभागी हुन्छिन्।
'म सुरूदेखि नै यो कार्यक्रममा सहभागी छु। यसमा बालबालिका कसरी हुर्काउने, उनीहरूसँग कस्तो व्यवहार गर्ने भन्ने कुरा विज्ञहरूबाट सिक्न पाइन्छ,' उनले भनिन्, 'अरू अभिभावकको अनुभव सुनेर पनि धेरै नयाँ कुरा जानेँ।'
स्मार्ट प्यारेन्टिङको कार्यक्रममा जोडिएपछि बालबालिकाको बानी बुझेर सोहीअनुसार व्यवहार गर्न र छोरीका लागि समय तालिका बनाएर काम व्यवस्थित गर्न थालेको उनले बताइन्।
'मैले छोरीलाई नै तालिका बनाउन सिकाएँ। उनी आफैंले बनाएपछि त्यहीअनुसार खेल्छिन्, पढ्छिन् र रमाइलो गर्छिन्,' दिव्याले सुनाइन्, 'आफैंले बनाएको तालिकामा काम गर्ने बानी बसेको छ।'
भोजपुरका अर्जुन तामाङ पनि दोस्रो लकडाउनका बेला स्मार्ट प्यारेन्टिङ कार्यक्रममा जोडिए। आफू अविवाहित भए पनि कार्यक्रमबाट अभिभावक र केटाकेटीबीचको सम्बन्ध, छोराछोरीसँग गर्ने व्यवहार लगायतका कुरा सिक्न पाएको उनी बताउँछन्।
'म अविवाहित भए पनि सहभागी भएँ, धेरै कुरा सिक्न पाएँ,' आफू बालबालिकासँग सम्बन्धित संस्थामा आबद्ध भएकाले यो कार्यक्रम निकै उपयोगी भएको उनी बताउँछन्।
प्रारम्भिक बालविकास र शिक्षाको क्षेत्रमा कार्यरत विज्ञ मीनाक्षी दाहाल स्मार्ट प्यारेन्टिङका कार्यक्रमहरू नेपाली समाजको सन्दर्भमा निकै महत्वपूर्ण रहेको बताउँछिन्।
'नेपालमा हामी अभिभावक र बालबालिकाको विषयमा धेरै पछाडि छौं,' उनले सेतोपाटीसँग भनिन्, 'बदलिँदो परिवेशसँगै आफ्ना सन्तानलाई कस्तो बनाउने भन्नेमा अभिभावकको ठूलो हात हुन्छ।'
मीनाक्षी स्मार्ट प्यारेन्टिङ कार्यक्रममा विज्ञ सहजकर्ता पनि हुन्। उनका अनुसार धेरै आमाबाबुले छोराछोरीका लागि हामी कस्तो हुनुपर्छ भन्ने कुरामा भन्दा पनि छोराछोरी कस्तो हुनुपर्छ भन्नेमा बढी ध्यान दिने गरेका छन्। यस्ता नेपाली अभिभावकहरूका लागि स्मार्ट प्यारेन्टिङ जस्ता कार्यक्रम उपयोगी हुने उनको विश्वास उनको छ।