दाङका रुद्र घर्ती मगरलाई पोल्यान्ड जान राहदानी (पासपोर्ट) चाहियो। १४ जनवरी भित्र पोल्यान्ड जाने तयारी गरिरहेका उनले इमर्जेन्सी विद्युतीय राहदानी (इ–पासपोर्ट) लिने सोच बनाए।
१८ गते राहदानी विभाग पुगेका उनलाई विभागले बिहीबार (हिजो) पालो दिएको थियो। हिजो बिहान चार बजे उनी विभाग पुगे। पालो कुरेर गेटअगाडि उभिए। दस बजेपछि विभाग खुल्यो तर 'इमर्जेन्सी' पासपोर्टको काम मंगलबार र शुक्रबार मात्रै हुने भनिदियो।
'पाँच दिन भइसक्यो काठमाडौं आएको, फेरि भोलि पनि आधा दिन काम हुने हो कि नहुने हो! इ–पासपोर्ट लिन लाइन लाग्नुपर्दैन रे भन्ने सुनेको थिएँ। तर दिनदिनै धाउँदा पनि नपाइने पो रहेछ,' उनले भने।
जापानमा अध्ययनरत बाँकेका मिर्नाल सिंहको सास्ती पनि रुद्रकै जस्तो छ। उनको पासपोर्टको मिति सकिएको छ। नवीकरणका लागि आवेदन दिएका उनको पालो फेब्रुअरी २१ मा मात्र छ।
'तर मलाई एक हप्ताभित्र जापान जानु छ,' उनी भन्छन्, 'इमर्जेन्सी पासपोर्ट बनाऊँ भनेर आएको, गेट बन्द छ। कहाँ के गर्ने भनेर सोध्ने ठाउँ पनि छैन। भेडाबाख्राजस्तो बाहिर भद्रगोल पो रहेछ।'
इ–पासपोर्ट लिन सहज होला भन्ने सुनेका उनले पहिलेकै जस्तो सास्ती बेहोर्नुपरेको बताए।
'बरू पुरानो भवनमा लाइन लाग्ने ठाउँ थियो। यहाँ त लाइन पनि छैन। को पहिला आएको, कसरी सेवा दिने केही मतलब छैन,' उनले गुनासो गरे।
दुबई जाने तयारीमा रहेका सन्तोष लिम्बूलाई पनि विभागले इमजेन्सी पासपोर्टका लागि बिहीबार बोलाएको थियो। बिहान ६ बजे पुगेका उनी ११ बजेसम्म गेटअगाडि उभिए। तर उनको काम भएन। विभागले उनलाई शुक्रबार आउनु भनेर फर्कायो।
'मेरो पासपोर्ट एजेन्टले लगेको लग्यै बनायो। फिर्ता गरेन। त्यो मान्छे पनि भेटिएन। अहिले पासपोर्ट बनाउन आएको खै कति दिन लाग्ने हो! चारपटक त म यहाँ आइपुगेँ। भोलि भन्छ, अर्को दिन भन्छ। पालै आएन,' उनले भने।
वैदेशिक यात्राका लागि यसअघि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्दै आएको गत मंसिर १ गतेदेखि विभागले इ–पासपोर्ट कार्यान्वयनमा ल्याएको छ।
इ-पासपोर्ट लिन विभागले बुकिङ खुला गरेको छ। यसका लागि अनलाइनबाट मिति र समय बुक गर्नुपर्छ। आफूले बुक गरेको मिति र समयमा त्रिपुरेश्वरस्थित राहदानी विभाग वा तोकिएका जिल्ला प्रशासन कार्यालयहरूबाट तथा विदेशस्थित सम्बन्धित नियोगमार्फत लिन सकिने उल्लेख छ।
बुक गरेको मितिमा पासपोर्ट लिन विभाग आउनेको अत्यधिक चाप देखिएको छ। पालो नपाइने समस्याका कारण त्यसै फर्कनुपरेको सेवाग्राहीको गुनासो छ।
'बाहिर व्यवस्थित पनि छैन। गेटबाहिर भेडाबाख्रा जसरी हामीलाई उभ्याइएको छ। राज्यले हामीलाई मान्छे नै गन्दैन। रेमिटेन्स मात्रै गन्छ। हामीले लिने सेवा कहिल्यै नसुध्रिने भयो,' विभागअगाडि भेटिएका सन्तोष लिम्बूले भने।
विभागका निर्देशक सरदराज आरन पनि विभागमा सेवाग्राहीको अत्यधिक चापका कारण सेवामा केही अप्ठ्यारो निम्तिएको स्वीकार्छन्।
उनका अनुसार हाल विभागबाट मात्रै दैनिक एक हजार जनाले इ–पासपोर्ट लिइरहेका छन्।
'डकुमेन्ट बुझाउन आउने हजार जना, पासपोर्ट लिन आउने अर्को एक हजार र सोधपुछलगायत विभिन्न कामका लागि गरेर दैनिक विभागमा २५ सय सेवाग्राही आउँछन्। विभागको बाहिर धेरै खुला ठाउँ पनि छैन। भिडभाड त देखिइहाल्छ,' उनले सेतोपाटीसँग भने।
विभागसँगै पछिल्लो समय विभिन्न २२ वटा जिल्ला प्रशासन तथा तोकिएका इलाका प्रशासन कार्यालयबाट पनि इ-पासपोर्ट दिन थालिएको उनको भनाइ छ। हालसम्म ११ हजार इ-पासपोर्ट जारी गरिसकेको पनि विभागले जनाएको छ।
के हो इ–पासपोर्ट?
इ-पासपोर्टमा विद्युतीय चिप र एन्टेना जडित हुन्छ। चिपमा औंठाछाप, तस्बिर लगायत व्यक्तिगत विवरण राखिएका हुन्छन्। यी विवरण राखेर चिप लक गरिसकेपछि कसैले विवरण थपघट वा फेरबदल गर्न सक्दैन। यस्तो पासपोर्टबाट सूचनाहरू सहजै रुजु हुने हुँदा विभिन्न मुलुकका अध्यागमन कार्यालयमा पनि सहज र छिटो काम गर्न सकिन्छ।
विद्युतीय गेटहरू भएका ठाउँमा स्वतः खुल्ने व्यवस्था समेत मिलाइएको विभागको भनाइ छ। यो पासपोर्ट अन्त्यन्त सुरक्षित र भरपर्दो मानिन्छ।
हाल विभागले सात किसिमका इ–पासपोर्ट जारी गरिरहेको छः साधारण (३४ र ६६ पृष्ठ, कूटनीतिक, विशेष, सर्भिस, अस्थायी र सिम्यास अभिलेख किताब। विदेशस्थित कूटनीतिक नियोग र जिल्ला प्रशासन कार्यालयले रुजु गर्ने, विवरण राख्ने र प्रमाणीकरणको काम सकेपछि राहदानी विभागबाट यस्तो पासपोर्ट बन्छ।
यसमा मेसिन रिडेबल राहदानी जसरी भौतिक रूपमा फारम भर्ने, फोटो टाँस्ने लगायत काम नपर्ने भएकाले पहिलेको तुलनामा आधा समय मात्र लाग्ने विभागको भनाइ थियो। तर इ–पासपोर्ट लिन पनि उस्तै सास्ती बेहोर्नुपरेको सेवाग्राहीको गुनासो छ।
त्यस्तै १६ वर्ष उमेर माथिका र नेपालबाट निवेदन दिनेका हकमा राष्ट्रिय परिचयपत्र अनिवार्य छ। तर यो परिचय पत्र लिन पनि सेवाग्राहीले निकै सास्ती खेपिरहेका छन्। यसले पनि इ-पासपोर्ट लिन थप झमेला भएको सेवाग्राहीहरू बताउँछन्।
पढ्नुहोस् यो पनिः सहरमा लाइन बस्न थपियो एउटा अर्को कारण
सबै तस्बिरः निर्मला घिमिरे/सेतोपाटी