ललितपुर महानगरपालिकाले प्रिमियर इन्टरनेसनल आईबी वर्ल्ड स्कुल, सातदोबाटोलाई विशिष्ट श्रेणीको विद्यालय सञ्चालन अनुमति दिएको छ। खुमलटार हाइटस्थित प्रिमियर वि.सं २०६७ मा स्थापना भएको हो। यहाँ किन्डरगार्टेनदेखि १२ कक्षासम्म पढाइ हुन्छ।
नेपालमा आइबी स्कुलको सूची निकै कम छ। यस्ता अन्तर्राष्ट्रिय स्तरका स्कुलमा पढ्ने मौका थोरै विद्यार्थीले मात्र पाउँछन्।
अन्तर्राष्ट्रिय स्कुल भन्नेबित्तिकै अभिभावक र विद्यार्थीको अपेक्षा पनि ठूलो हुन्छ। आइबी स्कुल र अन्य निजी स्कुलमा के फरक हुन्छ?
आइबी स्कुलले प्रदान गर्ने शिक्षा र यहाँ पढेका विद्यार्थीलाई हुने फाइदाबारे बुझ्न हामीले प्रिमियर इन्टरनेसनल स्कुलका शैक्षिक निर्देशक प्रविना थापा र स्कुल निर्देशक पवित्रा लिम्बूसँग कुराकानी गरेका छौं।
थापा र लिम्बूसँग सेतोपाटीका अनुषा अधिकारी र सुसन चौधरीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छः
आइबी स्कुल भनेको के हो?
प्रिमियर नेपालमा 'पिवाइपी' र 'एमवाइपी प्रोग्राम' ल्याउने पहिलो आइबी स्कुल हो। यो स्कुल स्थापना हुनुको मुख्य उद्देश्य विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिनु हो।
आइबी अथात् इन्टरनेसनल ब्याकलौरेट गैरनाफामुखी संस्था हो जसले विश्वभर उच्च गुणस्तरको शैक्षिक कार्यक्रम प्रदान गर्छ। यसको मुख्यालय स्विट्रल्यान्डको जेनेभामा छ र क्षेत्रीय अफिस सिंगापुरमा छ।
नेपाल सरकारले देशभित्र स्कुल चलाउन एउटा मापदण्ड पूरा गर्नुपर्ने नियम बनाएको छ र सरकारले त्यही आधारमा स्कुललाई मूल्यांकन गर्छ। अन्तर्राष्ट्रिय शिक्षाको मापदण्ड पूरा गर्यो वा गरेन भन्ने जाँच गर्ने चाहिँ सरकारले होइन। अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न हामी इन्टरनेसनल ब्याकलौरेट अन्तर्गतै काम गर्छौं।
हरेक तीन-चार वर्षमा बाहिरबाट निकायहरू हाम्रो स्कुलले मापदण्ड र काम पूरा गरिरहेको छ कि छैन भनेर जाँच गर्न आउँछन्। तोकिएका सबै मापदण्ड पूरा गरेर नै प्रिमियर इन्टरनेसनल आइबी स्कुल बन्न सफल भएको हो।
पिवाइपी र एमवाइपी प्रोग्राम कस्तो हुन्छ?
पिवाइपी र एमवाइपी प्रोग्राम पनि इन्टरनेसनल ब्याकलौरेट अन्तर्गत पर्छ। यसलाई ‘रोयल’ प्रोग्राम पनि भनिन्छ। पिवाइपी (प्राइमेरी एयर प्रोग्राम) एक कक्षादेखि पाँच कक्षासम्म र एमवाइपी (मिडल एयर प्रोग्राम) ६ कक्षादेखि दस कक्षाको विद्यार्थीलाई पढाउने कार्यक्रम हो। ११ र १२ कक्षाका लागि भने फेरि अर्कै प्रोग्राम हुन्छ।
हाम्रा विद्यार्थीले यो अन्तर्राष्ट्रिय प्रोग्रामसँगै नेपाली पाठ्यक्रम पनि पढ्छन्। हामीले यहाँको पाठ्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरसँग मिलाएर पढाउँछौं। विद्यार्थीले देशभित्रका कुरा सिकून् र उनीहरूको पढाइ संसारभर जुनसुकै देशमा पनि उपयोगी होस् भन्ने हाम्रो उद्देश्य हो।
नेपालमा आइबी स्कुलको के भूमिका छ?
आइबी स्कुलको मुख्य उद्देश्य देशभर अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्नु हो। यसभित्र शिक्षा मात्र नभई हाम्रो समाजप्रतिको दायित्व पनि समावेश हुन्छ। सबै स्कुल आइबी स्तरको हुन सक्दैनन्। त्यसैले हाम्रो तर्फबाट ती स्कुल कसरी सशक्तीकरण गर्ने भनेर लागिरहेका हुन्छौं। आइबी स्कुल भएको नाताले हामी सरकारी विद्यालयका शिक्षकलाई प्रशिक्षण र त्यहाँका विद्यार्थीलाई खाजा, स्टेसनरी सामान, किताब दिने जस्ता सामाजिक काम गर्छौं।
प्रिमियर स्कुलमा काम गर्ने कर्मचारी, शिक्षक, विद्यार्थी र अभिभावकलाई पढाइमा मात्र नभई सामाजिक कार्यमा पनि उत्तिकै समावेश गरिरहेको छ।
अन्य स्कुल र आइबी स्कुलमा के फरक हुन्छ?
सामान्यतया स्कुलका पाठ्यक्रममा के पढाउने भन्ने हुन्छ र विद्यार्थीलाई केबल परीक्षाका लागि तयार पारिन्छ। आइबी स्कुलले भने विद्यार्थीको क्षमता उसको परीक्षाको अंक सँग दाँज्दैन। किताबी ज्ञानबाहेक विद्यार्थी अरू कस्ता क्षेत्रमा अब्बल छन्, नियालिन्छ र त्यसैमा अघि बढ्न लगाइन्छ।
आइबी स्कुलको पाठ्यक्रममा किताबभित्रको कुरासँगै बाहिरी कुरा समेटिएको हुन्छ। विद्यार्थीलाई रटाउने होइन, बुझाउनु पर्छ ताकि त्यो ज्ञान आफ्नै तरिकाले भविष्यमा सदुपयोग गर्न सकून्। आइबी स्कुलले थुप्रै प्रोग्रामका लागि बाहिरी स्कुलहरूसँग पनि सहकार्य गरिरहेको हुन्छ। त्यसैले यहाँका विद्यार्थीले आफ्नै समाज र विश्व वातावरणको अनुभव बटुल्न सक्छन्। पढाइ जुनसुकै स्कुलमा पनि उस्तै हो तर यी कुरा विद्यार्थीलाई कसरी बुझाउने र सिकाउने भनेर फरक हुन्छ।
प्रिमियर इन्टरनेसनल स्कुलले आइबीको स्तर कसरी पूरा गरिरहेको छ?
प्रिमियर इन्टरनेसनलले शिक्षाको दर्शनशास्त्रलाई एउटा बुझाइमा उतारेको छ र ती सबै आइबीले जाँच गरिरहेको हुन्छ। हामीले लगातार शिक्षकलाई प्रशिक्षण दिइरहेका छौं। आइबी स्कुल हुन सजिलो छैन। एकचोटि आइबीको दर्जा पाएर ढुक्कले बस्ने कुरा आउँदैन। हरेक तीन-चार वर्षमा हाम्रो काम हेरेर मूल्यांकन गरिन्छ। केही कमजोरी भए त्यसलाई सुधार्नु पर्छ। सबै स्कुलले आफू अन्तर्राष्ट्रिय स्कुल हो भन्न सक्छन् तर उनीहरूलाई त्यो दर्जा दिने कुनै संस्था छ वा छैन, अभिभावकले पनि बुझ्नु पर्छ।
विद्यार्थीले यहाँबाट पाउने सुविधा र फाइदा के छ?
प्रिमियरका विद्यार्थीमा आत्मविश्वास निकै बलियो छ। सबै आफ्नो रूचिका क्षेत्रमा एकसेएक छन्। यहाँको पढ्ने वातावरण यसरी बनाइएको छ, विद्यार्थी कुनै पनि चुनौती सामना गर्न पछि हट्दैनन्। विद्यार्थीलाई आफ्नै वरिपरिका सन्दर्भ विषय सिकाउँछौं।
कोही विद्यार्थीलाई पढाइका लागि बाहिरी स्कुल जानुपर्ने भयो भने उनीहरूलाई त्यहाँको वातावरणमा घुलमिल हुन गाह्रो हुँदैन। यो फाइदा केबल आइबीमा पढेपछि हुन्छ।
पाठ्यक्रम कसरी तयार पारिएको हुन्छ?
प्रिमियरको पाठ्यक्रम शिक्षा मन्त्रालयअन्तर्गत तयार पारिएको छ र यसलाई हामी आइबीको फ्रेमवर्कमा ढाल्छौं। सरकारले तोकेका मापदण्ड पूरा गरेर त्यो किताबको ज्ञान विद्यार्थीले आफ्नो जीवनमा कसरी लागू गर्न सक्छन् भन्नेमा ध्यान दिएका छौं। हरेक विषय र सामग्रीको टिप्पणी राख्छौं र विद्यार्थीको क्षमता अनुसार वृद्धि गराउछौं। विद्यार्थीले आफूले पढ्ने किताब थाहा पाउने होइन, त्यसको गहन बुझाइ हुनुपर्छ। यसका लागि हामीले आफ्नो पाठ्यक्रम म्यापिङ गर्छौं।
प्रिमियर इन्टरनेसनल स्कुलमा कस्ता विद्यार्थीले पढ्न सक्छन्?
हामी विद्यार्थी छान्दैनौं। उत्कृष्ट अंक ल्याउने वा आइक्यू बढी भएका विद्यार्थी मात्र यहाँ पढ्न पाउँछन् भन्ने छैन। यस्ता विद्यार्थीले जहाँ पनि भर्ना पाउन सक्छन्। हाम्रो उद्देश्य एउटा सामान्य विद्यार्थीलाई उत्कृष्ट बनाउनु हो।
नेपालभित्र वा बाहिर जुनसुकै ठाउँका विद्यार्थी यहाँ पढ्न सक्छन्। हाम्रो स्कुल अन्यभन्दा महँगो छ तर यो हाम्रो इच्छाअनुसार भएको होइन। पढाउने प्रक्रिया नै महँगो छ। सबै विद्यार्थीले महँगो स्कुलमा पढ्न पाउँदैनन्। अभिभावकले आफ्नो क्षमता हेरेर बच्चालाई यहाँ भर्ना गर्न सक्छन्। हामीले छुट्टै छात्रवृत्ति कार्यक्रम पनि ल्याउँछौं।
आइबी स्कुलमा पढ्दा विद्यार्थीलाई अन्तर्राष्ट्रिय रूपमा कसरी सहज हुनेछ?
आइबी स्कुलले प्रदान गर्ने शिक्षाशैली विद्यार्थीलाई देशभित्र मात्र नभई संसारभरका जुनसुकै ठाउँमा उपयोगी हुन्छ। हाम्रा विद्यार्थीले स्थानीय तहमा थुप्रै अवसर पाएका छन्। विश्वका ठूला कलेजमा पनि उनीहरू छात्रवृत्ति पाउन सफल भएका छन्। प्रिमियरले सञ्चालनको १३ वर्षमा आफ्ना विद्यार्थीको यति धेरै सफलता देख्न पाएको छ। भविष्यमा पनि हाम्रा विद्यार्थीका उपलब्धि बढ्दै जाने आशा छ।
यहाँको पूर्वाधारले पनि विद्यार्थीमा कस्तो प्रभाव पारिरहेको हुन्छ?
विद्यार्थीलाई राम्रो शिक्षा दिन स्कुलको पूर्वाधार राम्रो हुन जरुरी हुन्छ। प्रिमियर बीस रोपनी जग्गामा निर्माण भएको छ र विद्यार्थीलाई चाहिने सबै सामग्री निर्माण गरेका छौं। हाम्रो क्षमताअनुसार छ सय विद्यार्थी मात्र भर्ना लिन्छौं। ती विद्यार्थीका लागि हामीले ठूलो लगानी गरेका छौं।
विद्यार्थीले केहीमा सम्झौता गर्नु पर्दैन र उनीहरूलाई रोकावट पनि छैन। यहाँ पढ्ने विद्यार्थीले सबै सुविधा पूर्ण सदुपयोग गर्न सक्छन्। बालबालिकाको पाउनु पर्ने आधारभूत अधिकार प्राप्त गरेका छन्।
यहाँका शिक्षक र कर्मचारीलाई पनि सबै सुविधा दिइन्छ। यसरी विद्यार्थीले आफ्नो पढाइमा, शिक्षक र अन्य कर्मचारीले आफ्नो काममा बिना कुनै चिन्ता ध्यान दिन सक्छन्।