गत असारमा एयरपोर्ट सफा गराएर रातारात चर्चामा आएका खेम शर्माले पशुपतिनाथको मन्दिर परिसर र पर्यटन बोर्ड पनि टल्काए।
खेम हाल अष्ट्रेलियामा सफाइ सम्बन्धि काम गर्छन्, त्यहाँ सिकेको सिपलाई नै यहाँ व्यवसायिक रुपमा उतार्ने उनको प्रयास हो। त्यही प्रयासलाई सार्थकता दिन उनको कम्पनी ‘खेम्स क्लिनिङ’ले एयरपोर्ट तथा मन्दिर क्षेत्रबाट सुरुआत गरेको हो। त्यसअघि उनको कम्पनीले भरतपुर एयरपोर्ट पनि सफा गरेको थियो।
अष्ट्रेलियामा व्यवसायिक रुपमा काम गरेको क्लिनिङले त्यहाँको सिपलाई नेपालमा प्रयोग गर्न थालेको हो। मन्दिर परिसर तथा एयरपोर्टमा निशुल्क सफाई गरेको कम्पनीले पहिलो पटक व्यवसायिक रुपमा कालोपुलको जेभियर्स कलेज सफा गर्दै छ। त्यस्तै सातदोबाटोको सिटिजन्स कलेज पनि सफा गर्ने जिम्मा यसले पाएको छ।
यी कलेजसँगै क्लिनिङले व्यवसायिक रुपमा अन्य कार्यालय तथा घर समेत सफा गर्ने काम थालेको छ। क्लिनिङ सर्भिसका चिफ अपरेसन अफिसर बिराज अधिकारीका अनुसार राजधानीसहित पोखरा, चितवन , विराटनगर, बुटवल लगायतका शहरमा व्यवसायिक रुपमा सेवा बिस्तार हुनेछ।
कलेजबाट नै व्यवसायिक रुपमा सेवा सुरु भएकोमा अधिकारी खुसी छन्। ‘भविष्यका कर्णधार बालबच्चालाई स्कुल पठाउँछौ तर उनीहरु बस्ने ठाउँ, वातावरण, प्रयोग भइरहेको शौचालय कस्तो छ, यस्ता विषयमा ध्यान दिदैनौँ’ उनले भने ‘यी कुरामा ध्यान दिएमा पढाईसँगै उनीहरुले सरसफाईका कुराहरु पनि सिक्न सक्छन्।’
हाल कम्पनीले शिक्षित कर्मचारीहरु समेत खोजिरहेको उनले जानकारी दिए। यस्तो काम गर्नका लागि कम्पनीले कम्तीमा एसएलसी पास गरेका व्यक्तीलाई प्राथमिकता दिइरहेको छ।
‘आइटी बेस्ड क्लिनिङ’का सामान आफूहरुले नेपालमा ल्याएका कारण जनशक्तिलाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ। नयाँलाई ७ देखि १५ दिनसम्मको तालिम दिने र त्यसपछि मात्रै फिल्डमा कामका लागि पठाउने गरेको उनले बताए।
सुरुमा सफाईको काममा शिक्षित कर्मचारी खोज्न भने यहाँ निकै समस्या परेको अधिकारी बताउँछन्। ‘एउटा मान्छे सपिङ सेन्टरहरुमा ६ हजारमा काम गर्न तयार हुन्छ, तर सफाइको काममा दोब्बर भन्दा धेरै तलबमा काम गर्न मान्दैनन्।’ अधिकारीले भने ‘हामीले न्युनतम १४ हजार रुपैयाँदेखि क्षमता अनुसार २५–३० हजार सम्म दिइरहेका छौँ।’
कम्पनीले पहिले सरसफाईको लागि प्रयोगमा आउने उपकरणको बारेमा राम्ररी जानकारी गराउने गरेको छ। उपकरणहरु चलाउन जान्ने भएपछि प्रयोगमा आउने केमिकलको सम्मिश्रण, प्रयोगको तरिकाका बारेमा जानकारी दिने गरेको अधिकारीले बताए।
‘सफाई गर्ने हाम्रो नयाँ टेक्नोलोजीको बारेमा बुझाएपछि बल्ल हामीसँग काम गर्न धेरै जना आकर्षित हुने गरेको पाइन्छ’ उनले थपे। उनका अनुसार खेम्स क्लिनिङले विद्यार्थीहरुलाई लक्षित गर्दै पार्ट टाइमको काम पनि दिने गरेको छ।
विभिन्न फर्निचर, भित्ता, भुइँ, झ्याल ढोकामा लागेका दाग, टुटफूट, कार्पेट, पर्दाको सरसफाई विशेष तरिकाले हुने भएकाले क्लिनिङलाई सेवा दिनेहरु सन्तुष्ट हुने उनको दावी छ।
कम्पनीले निश्चित भवन, कोठाहरुको अध्ययनपछि शुल्क निर्धारण गर्ने गरेको छ। त्यसमा चाहिने आवश्क स्रोत साधन, लाग्ने समय तथा जनशक्तिलाई मध्यनजर गरेर शुल्क निर्धारण हुने क्लिनिङले जनाएको छ।
कम्पनीले नियमित सरसफाई गर्ने कार्यालयका लागि विशेष सहुलियत दिने गरेको अधिकारीले बताए। कुनै भवन १ पटक मात्र सफा गर्नु परेमा न्युनतम २० हजार लाग्ने गरेको उनले जानकारी दिए। त्यस्तै कार्यालयका कोठाहरु सफा गर्नुपर्ने भएमा मासिक रुपमा कामको प्रकृति हेरेर करिव ३०–३५ हजार लाग्ने अधिकारी बताउँछन्।
ठूला स्कुल, कलेज, अस्पताल, कारखानाहरु सफा गर्न महिनाको ३ लाखको हाराहारीमा खर्च लाग्ने कम्पनीले जनाएको छ। क्लिनिङमा अहिले करिव १ सय जना कर्मचारी कार्यरत रहेको अधिकारीले बताए। आगामी असारसम्म नेपालभर एक हजार कर्मचारी दक्ष बनाउने कम्पनीको योजना छ।
राजधानीबाहिरका शहरमा समेत सेवा विस्तार हुने भएकाले दक्ष कर्मचारीको खोजीमै रहेको उनले बताए। कम्पनीले अहिले १४ जना फरक क्षमताका अर्थात सुन्न र बोल्न नसक्नेलाई काम दिइरहेको छ।
आगामी दिनमा पनि यस्ता व्यक्तिलाई प्रोत्साहन गर्ने जनाएको छ। कम्पनीले जर्मनी, इटली, भारत, लगायत देशबाट आवश्यकताअनुसारका सबैजसो सफाई उपकरणहरु ल्याएको छ।
त्यस्तै कम्पनीले अवश्यक परेको अति महत्वपूर्ण ठाउँमा पहिलेझैँ निशुल्क सफाई गर्ने कामलाई पनि निरन्तरता दिने जनाएको छ।