त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाइलट र एटिसी नियन्त्रण कक्षबीचको संचार प्राणाली अवरुद्ध भएपछि सयौं उडान स्थगन तथा डाइभर्ट भएका छन्।
विमानस्थलको एयर ट्राफिक कन्ट्रोलर र पाइलटबीचको संचार हुने (जसलाई भिसीसी सिस्टम भनिन्छ) प्रणाली बिग्रिएपछि आन्तरिक तर्फका धेरै उडान तथा अवतरण अवरुद्ध स्थगत, डाइभर्ट भएको र अन्तर्राष्ट्रिय तर्फको हवाई ट्राफिक चाप बढेको छ।
अन्तर्राष्ट्रिय उडानहरु भारतकाे लखनउमा डाइभर्ट भएका छन् भने अान्तरिक तर्फका उडानहरु जहाँबाट अाएका हुन् त्यतै अवतरण भएका छन्।
आज दिउसो ३ बजेदेखि उक्त प्रणाली विग्रिएपछि अहिलेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरण अवरुद्ध भएको विमानस्थलले जनाएको छ। यद्यपी विमानस्थल बन्द हुन नदिएर ढिलै भएपनि उडान तथा अवतरणलाई निरन्तरता दिएको विमानस्थलका अपरेशन विभाग निर्देशक सुधिर चौधरीले जानकारी दिए।
कूल तीनवटा युनिट रहेको त्यस्ता भिसिसि सिस्टममा २ वटा विग्रिएका छन्। हाल ति युनिटमर्मतको क्रममा रहेको र साढे ६ बजेसम्मको लागि भनेर सुचना निकालिएको चौधरीले बताए। ३ बजेपछि धेरै अान्तरिक उडानहरु स्थगित भएका छन् । साढे ६ बजेसम्म मर्मत भइसक्ने प्राविधिकहरुले जानकारी दिएकाे र त्यसपछि सबै उडान तथा अवतरण सुचारु हुने चाैधरीले बताए।
सिस्टम मर्मत भएपछि साढे १२ बजेसम्म सकेसम्म सबै सेड्युल उडान गरीसक्ने तयारीमा रहेकाे विमानस्थलले जनाएकाे छ।
आन्तरिक तर्फका उडानहरु अहिले करिबकरिब स्थगनमा रहेको र अन्तर्राष्ट्रियलाई दुई ठाउँमा होल्ड गराइएको चाैधरीले बताए। उनका अनुसार एउटा पहिले होल्ड हुने दक्षिणतिरको आकाश र अर्कोलाई काठमाडौंकै आकाशमा होल्ड गरिएको छ।