ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आफ्नै उद्योगमा ३५०.३५ किलोवाटको सौर्य ऊर्जा प्रणाली जडान गरेको छ। भरतपुर महानगरपालिका–२९, जुगेडीस्थित उद्योग परिसरमा सौर्य ऊर्जा प्रणाली जडान गरेको हो।
हरित ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यले उद्योगले आफैं वातावरणमैत्री उत्पादन सुरू गरेको ओम मेगाश्रीका अध्यक्ष अर्जुन श्रेष्ठले बताए।
'हामीले गएको सातादेखि उत्पादन थालेका हौं। यो सौर्य विद्युत एनइए (नेपाल विद्युत प्राधिकरण)बाट लिएको भन्दा झन्डै ४० प्रतिशत कम मूल्य पर्छ,' उनले भने।
बिजुली अभावमा औद्योगिक उत्पादन नरोकियोस् भनेर निरन्तर उत्पादन गर्ने हिसाबले आफूले सौर्य विद्युत उत्पादन थालेको उनले बताए।
'हावाहुरी लगायत विविध कारण विद्युत अवरोध भयो भने हामीले त्यो समयमा नियमित रूपमा उद्योग सञ्चालन गर्न सघाउ पुग्छ, दिनभर घाम लागेको समयमा पूरै समय काम गर्न सकिन्छ। ब्याकअपका लागि कम्तीमा पनि दैनिक ६ घण्टा प्रयोग गर्न सकिन्छ,' उनले भने।
सौर्य विद्युत प्रयोगसँगै विद्युत प्राधिकरणको बिजुली खपत कम हुने उनले बताए।
'हाम्रो सिस्टमले नै कम कन्जुम गर्छ। तर कति कम हुन्छ भन्ने तथ्यांक महिनादिन पुगेर बिल आएपछि मात्रै थाहा हुने भयो,' उनले थपे।
नवीकरणीय ऊर्जा प्रयोगले उत्पादन लागत घटाउन मद्दत पुग्ने र यसले लगानीकर्ता तथा उपभोक्ताहरूलाई समेत फाइदा पुग्ने विश्वास लिइएको छ।