इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्पूर्ण गजाको नियन्त्रण इसराइलले लिने बताएका छन्।
बिहीबार फक्स न्यूजसँगको अन्तर्वार्तामा नेतन्याहूले गजाको सम्पूर्ण भूभाग नियन्त्रण लिइने र त्यसको योजना बनिरहेको बताएका हुन्।
'हामी गजालाई सम्पूर्ण रूपमा नियन्त्रणमा लिन चाहन्छौं,' उनले भने।
नेतन्याहूले गजामा शासन नगर्ने तर सैन्य नियन्त्रण कायम राख्ने उद्धेश्य रहेको प्रष्ट पारेका छन्।
'गजामा शासन नै गर्न भने हामी चाहँदैनौं। केबल सुरक्षा घेराबन्दी इसराइली नियन्त्रणमा होस् भन्ने हो। त्यहाँको शासन अरब शक्तिहरूले सम्हालुन्,' उनले भने।
तर कुन देशले शासन गर्ने भन्नेबारे चाहिँ खुलाएनन्।
'तर त्यस्तो अरब शक्तिलाई हस्तान्तरण गर्न चाहन्छौं जसले हामीलाई धम्की नदिई गजाका जनतालाई राम्रो जीवन दिन सकोस्,' उनले भने।
इसराइलको सुरक्षा मन्त्रिपरिषद्ले सम्पूर्ण गजाको सैन्य नियन्त्रण लिने योजना यसअघिदेखि नै बनिरहेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
रोयटर्सले एक्सियसका पत्रकार बाराक राविडलाई उद्धृत गर्दै इसराइलको सुरक्षा मन्त्रिपरिषदले गजा सहर कब्जा गर्ने प्रस्तावलाई स्वीकृति दिएको भनेर लेखेको छ।
त्यसमा गजालाई पूर्ण रूपमा हमासमुक्त बनाइने योजना रहेको भनेर अमेरिकी मिडिया सिएनएनले लेखेको छ।
योजना अनुसार करिब गजाको सम्पूर्ण नियन्त्रण प्राप्तिका लागि पाँच महिना लाग्न सक्ने भनिएको छ। त्यस क्रममा गजाको उत्तरी क्षेत्रबाट करिब १० लाख प्यालेस्टिनीलाई फेरि दक्षिणी गाजामा सारिनेछ। त्यहाँ इजरायली सेनाले विशेष शिविर निर्माण गर्ने बताइएको छ।
एक अधिकारीका अनुसार, हाल इजरायली नियन्त्रणबाहिर रहेका गाजाका क्षेत्रमा चरणबद्ध रूपमा सैन्य प्रवेश गर्ने योजना बनाइएको छ। यस क्रममा त्यहाँका बासिन्दालाई केही साता अगावै स्थानान्तरणको चेतावनी दिइनेछ।
यस योजनाको इसराइलभित्रै विपक्षी दल र बन्धकका परिवारहरूले चर्को विरोध जनाएका छन्।
इसराइली सेना प्रमुख एयला जामीरले पनि यसको विरोध जनाएका छन्।
उनले प्रधानमन्त्री नेतन्याहूसँगको बैठकमै यो निर्णय ठीक नभएको भनेका थिए। यसबाट हमाससँग बाँकी रहेका बन्धकहरू जोखिममा पर्न सक्ने भनेका थिए।
सुरक्षा मन्त्रिपरिषदको निर्णयपछि उनले सार्वजनिक रूपमै त्यसको विरोध गरेका थिए।
सुरक्षा मन्त्रिपरिषद्बाट स्वीकृत भएको उक्त प्रस्तावलाई आइतबार पूर्ण मन्त्रिपरिषदमा पेस गरिनेछ। त्यहाँबाट पनि पारित भए इसराइलले सो अभियान सुरू गर्न सक्छ।
इसराइली विपक्षी नेता याएर लापिदले नेतन्याहूको योजनालाई अझ बढी युद्ध, अझ बढी बन्धकको मृत्यु र जनताको अरबौं करको खर्च भनेर आलोचना गरेका छन्।
बिहीबार नै जेरूसलेमस्थित नेतन्याहूको कार्यालय अगाडि सैयौं भेला भएर प्रदर्शन गरेका थिए।
उनीहरूले बाँकी भएका बन्धकहरूलाई फिर्ता ल्याएर युद्ध अन्त्य गर्न माग गरेका छन्।
गजामा ५० मध्ये कम्तिमा २० जना बन्धक अझै जिवित रहेको बताइएको छ।
इसराइलका चरम दक्षिणपन्थी नेताहरूले भने नेतन्याहूको उक्त घोषणा र सुरक्षा मन्त्रिपरिषदको निर्णयको स्वागत गरेका छन्। उनीहरूले गजाबाट इसराइली सेना फिर्ता गरेकै कारण सन् २००६ मा हमास सत्तामा आएको बताएका छन्। त्यसको पुनर्प्राप्ति स्वागतयोग्य रहेको उनले बताए।
हमासले भने नेतन्याहूको अभिव्यक्तिलाई वार्ताको प्रक्रियामाथिको खुलेआम कू भनेको छ।
'नेतन्याहूको यो योजना भनेको बन्धकहरूलाई तिलाञ्जली दिएर उनीहरूलाई बचाउने आशा समाप्त गर्नु हो,' हमासले भनेको छ।
उसले गाजा शासन गर्ने बनाइने जुनसुकै शक्तिलाई इसराइलसँग जोडिएको अधिग्रहणकारी शक्ति ठान्ने चेतावनी दिएको छ।
अरब मुलुकहरूले पनि नेतन्याहूको उक्त घोषणाको आलोचना गरेका छन्।
सन् २०२३ अक्टोबरदेखि सुरू भएको इसराइल-हमास युद्धयता गजामा ६० हजार भन्दा बढी मानिसहरूले ज्यान गुमाइसकेका छन्।
पछिल्लो समय गजामा मानवीय संकट भयावह बन्दै गएको छ।
भोकमरीकै कारण बालबालिकाहरू कुपोषणको शिकार भएका छन्। ९० जना भन्दा बढी बालबालिकाहरूको भोकको कारण मृत्यु भएको छ।
मानवीय संकट चरम बन्दै गएपछि विश्वका धेरै देशहरूले इसराइल र प्रधानमन्त्री नेतन्याहूको आलोचना गर्दै आएका छन्।
युरोपेली देशहरूले प्यालेस्टाइनलाई देशको मान्यता पनि दिने घोषणा गरेका थिए।