तुलसीपुर उपमहानगरपालिका–७ स्थित काला खोला रानीघाटमा चार लेनको पुल बनाउने ठेक्का भएको तीन वर्ष बित्नै लाग्यो तर काम सुरू भएको छैन।
खोलामा ‘कज वे’ बनाइएको छ तर वर्षा याममा साना सवारी साधन पार गराउन कठिन हुन्छ। काला खोलाले साना–ठूला केही सवारी साधन बगाएका घटना पनि भएका छन्। कज वे मा चिप्लिएर मोटरसाइकल चालकको मृत्युको घटना पनि भएको छ।
तुलसीपुर–घोराही सडकखण्डमा पर्ने काला खोला रानीघाटमा चार लेनको पुल बनाउन बुटवलको ‘शर्मा सगुन जेभी’ सँग २०७९ असार २९ गते ठेक्का सम्झौता भएको थियो। सम्झौतामा २०८२ भदौ २८ गते पुल काम सक्ने सर्त थियो।
कुल ९० मिटर लम्बाइ र साढे २० मिटर चौडाइको पुल बनाउन १७ करोड ८२ लाख ७९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
पुल निर्माणको म्याद सकिन अब एक महिना मात्रै बाँकी छ तर काम सुरू भएकै छैन।
तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गत काला खोलाबाट करिब एक किलोमिटर पूर्वमा ग्वार खोला पर्छ। ग्वार खोलामा दुई लेनको एउटा पुल पहिले नै बनिसकेको छ।
त्यसकै समानान्तर २२० मिटर लम्बाइ र ११ मिटर चौडाइको अर्को पुल बनाउने ठेक्का पनि शर्मा सगुन जेभीले नै पाएको छ।
यो पुल पनि २०८२ भदौ २८ गते सम्पन्न गर्ने गरी २०७९ असार २९ गते २२ करोड पाँच लाख ४७ हजार उक्त कम्पनीले ठेक्का लिएको थियो।
यसको पनि म्याद सकिन एक महिना बाँकी छ तर पश्चिमतर्फको एउटा फाउन्डेसनको मात्रै काम सुरू भएको छ।
सोही सडकअन्तर्गत ग्वार खोलाबाट झन्डै ६ किलोमिटर पूर्वमा हापुर खोला छ। यो खोला तुलसीपुर र घोराही उपमहानगरको सिमानामा पर्छ।
हापुर खोलामा चार लेनको १५० मिटर लामो पुल बनाउन पनि शर्मा सगुन जेभीले नै २७ करोड ८४ लाख ३१ हजार रुपैयाँमा ठेक्का पाएको छ।
२०८२ पुस मसान्तमा सक्ने गरी २०७९ असार २९ गते ठेक्का सम्झौता भएकोमा म्याद सकिन पाँच महिना बाँकी छ तर हालसम्म काम सुरू भएको छैन।
तुलसीपुर–घोराही सडकखण्डमा पुल निर्माणको काम हेर्ने निकाय ‘पुल सेक्टर कार्यालय, नेपालगञ्ज’ हो।
उक्त कार्यालयका इन्जिनियर रामकिसुन चौधरीका अनुसार निर्माण कम्पनीलाई धेरै पटक पत्र पठाउँदा र बारम्बार फोन गरेर ताकेता गर्दा पनि काम सुरू भएको छैन।
‘एउटै निर्माण कम्पनीले धेरै ठेक्का ओगट्ने तर काम नगर्ने प्रवृत्तिले गर्दा समस्या भइरहेको छ,’ उनी भन्छन्, ‘तुलसीपुर–घोराही सडक चार लेनमा विकास गर्ने काममा पुल निर्माणको ठेक्का लिएका कम्पनीहरूको लापरबाही र ढिलासुस्तीले गर्दा ठूलो समस्या भएको छ।’
यस्तो अवस्थामा पनि ठेक्का सम्झौता तोड्न धेरै कानूनी अड्चन रहेको उनको भनाइ छ।
काला खोला, ग्वार खोला र हापुर खोलामा पुल निर्माणको ठेक्का एउटै कम्पनीले पाएको छ। अहिले निर्माण कम्पनीले स्थानीय ठेकेदार खोज्न थालेको ‘पुल सेक्टर कार्यालय, नेपालगञ्ज’ का एक कर्मचारीले बताए।
उनले भने, ‘निर्माण कम्पनीका मान्छे हाम्रो कार्यालयमा आएर प्रक्रिया बुझेर गएका छन्। पहुँचवाला कम्पनीहरू काम नगरे पनि सजिलै उम्कने भएकाले मनपरी चलेको हो।’
उता निर्माण कम्पनीका एक जना प्रतिनिधिले सरकारकै दोष देखाए। उनका अनुसार सरकारले पैसा नदिएको हुनाले काम नभएको हो।
‘राज्यले पैसा नै नदिएपछि हामीले कसरी काम गर्ने?,’ प्रश्न गर्दै उनले भने ‘ठेकेदारले घरखेत बेचेर काम गर्ने होइन, राज्यले पैसा दिनुपर्यो।’
पुल सेक्टर कार्यालयका इन्जिनियर चौधरीले सरकारले बजेट नदिएको भन्ने आरोप अस्वीकार गरे। उनले काम सुरू गरेपछि पैसा दिन पनि सुरू हुने बताए।
उनले भने, ‘कार्यप्रगति तथा भौतिक प्रगति शून्य रहेको अवस्थामा मोबिलाइजेसन पेस्कीसमेत रोकिन्छ।’
तुलसीपुर–घोराही २४ किलोमिटर सडकखण्ड अन्तर्गत चारवटा खोलामा पुल बनाउन एकसाथ ठेक्का लागेको थियो।
तीमध्ये घोराहीको सेवार खोलामा मात्र काम अघि बढेको छ। यसको ठेक्का ‘एमएस रायमाझी कन्स्ट्रक्सन जेभी’ ले पाएको छ।
सेवार खोलामा ७० मिटर लम्बाइ र साढे २० मिटर चौडाइको पुल बनाउन २३ करोड २२ लाख ४३ हजार रुपैयाँमा २०८० जेठ ३० गते ठेक्का सम्झौता भएको थियो।
निर्माणको काम २०८३ जेठ २८ गतेसम्म सक्ने सर्त छ। हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर चौधरी बताए।
अहिलेको मनसुनपछि धमाधम काम भए निर्धारित अवधिमै निर्माण पूरा हुने उनको विश्वास छ।
तुलसीपुर–घोराही सडकखण्डमा सेवार खोला, गुर्जे खोला, हापुर खोला, पत्रे खोला, सक्राम खोला, ग्वार खोला र काला खोला पर्छन्।
यीमध्ये गुर्जे खोला, पत्रे खोला, सक्राम खोला र ग्वार खोलामा पुल निर्माण भइसकेको छ।
यी सबै खोलामा पुल बनेपछि तुलसीपुर–घोराही सडकखण्डमा वर्षाको समयमा पनि यातायात नियमति हुनेछ।
तुलसीपुर–घोराही सडकखण्ड चार लेन बनाउन ठेक्का पाएको ‘दिवारवन्दन भगवती जेभी’ का र सडक कार्यालयका प्राविधिकहरू ‘ज्वाइन्ट सर्भे’ गर्दै छन्।
यसमा दुई तर्फका गरी १२ जना प्राविधिक कार्यरत रहेको आयोजनाका कन्ट्र्याक्ट मेनेजर इन्जिनियर सुनिल ढुंगानाले बताए।
उनका अनुसार ठेक्का सम्झौता हुनुअघि तयार पारिएको डिपिआर अनुसार अहिलेको अवस्था जाँच गर्न ज्वाइन्ट सर्भे सुरू गरिएको हो।
ज्वाइन्ट सर्भे भदौको पहिलो सातासम्ममा सक्ने लक्ष्य छ। त्यसपछि निर्माण कार्य सुरू हुने जनाइएको छ।
आयोजना व्यवस्थापनका लागि दुधरासमा साइट अफिस स्थापना गरिएको छ।
‘मदन भण्डारी राजमार्ग आयोजना’ को नयाँ कार्यक्रमअनुसार तुलसीपुर–घोराही चार लेन सडक खण्डको लम्बाइ २१ दशमलव ५८ किलोमिटर रहेको छ।
अहिले तुलसीपुरको हात्तीखौवा चोकबाट घोराहीको डिके पेट्रोल पम्पसम्म मात्रै विस्तारको काम हुनेछ।
विस्तारित सडक सहरी क्षेत्रमा २० मिटर कालोपत्रे र फुटपाथसहित कुल ३० मिटर चौडाइ कायम हुनेछ। ग्रामीण क्षेत्रमा १५ मिटर कालोपत्रे हुनेछ।
यो खण्ड नौ दशमलव पाँच किलोमिटर सहरी क्षेत्रमा र बाँकी ग्रामीण क्षेत्रमा छ। सडकको बीचमा तीन मिटरको मेडियन रहनेछ। मेडियनमा रेलिङसहित आवश्यकताअनुसार वृक्षरोपण गरिनेछ।
सडक विस्तारका लागि ‘मदन भण्डारी राजमार्ग आयोजना’ र काठमाडौंको ‘दिवारवन्दन भगवती जेभी’ बीच यही २०८२ असार २४ गते दुई अर्ब ५३ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो।
विस्तारको काम २०८५ असार २४ गतेसम्ममा पूरा गर्नुपर्ने सर्त छ।
क्रसर प्लान्ट, कंक्रिट ब्याचिङ प्लान्ट, आस्पाल प्लान्ट लगायतका संरचना निर्माण कम्पनीले आफै चलाउनेछ।
यो सडकखण्ड ‘मदन भण्डारी राजमार्ग आयोजना’ को बजेटबाट विस्तार हुने भए पनि सुपरभिजन र समन्वयको काम सडक डिभिजन कार्यालय, दाङले गर्नेछ।
यसअघि घोराही–तुलसीपुर सडकखण्ड विस्तारको काम भारतीय एक्जिम बैंकको सशर्त ऋणमा सुरू भएको थियो। यसमा भारतको मुम्बईस्थित निर्माण कम्पनी ‘तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट’ ले निर्धारित समयमा काम नगरेपछि नेपाल सरकारले ठेक्का रद्द गरेको थियो।
यो सडकखण्डमा दुई वर्षमा कम्तीमा ३० जनाको ज्यान गएको थियो।
हाल नेपाल सरकारले आफ्नै बजेटमा यो सडकखण्ड स्तरोन्नतिको प्रक्रिया थालेको हो।
सडक डिभिजन कार्यालय, दाङले सडकको स्तरोन्नतिको ठेक्का सम्झौता भई निर्माण कार्य सुरू भएकाले सडकको ‘राइट अफ वे’ मा पर्ने सबै संरचना साउन ३० गतेभित्र हटाउन सूचना गरिसकेको छ।
दाङको देउखुरी क्षेत्रमा पर्ने हुलाकी सडकखण्ड निर्माणमा ढिलाइ भए पनि पुल निर्माणको काम भने धमाधम अघि बढेको छ।
देउखुरीको गढवा गाउँपालिका–१, वनघुस्रीबाट राजपुर गाउँपालिका–५, गंगदीसम्मको ४० किलोमिटर खण्डमा पुल बन्दै छन्।
उक्त खण्डमा १० वटा पुलमध्ये चार वटा तयार भएका छन्।
हुलाकी सडक आयोजना, नेपालगन्जका इन्जिनियर श्रवण महतराका अनुसार ठेक्का सम्झौताको सर्तअनुसार निर्धारित म्यादमै सबै पुल बनिसक्ने विश्वास लिइएको छ।
हुलाकी मार्गमा पुल निर्माणको काम धमाधम चलिरहे पनि गढवा बजारबाट वनघुस्रीसम्मको २० किलोमिटर सडकखण्ड निर्माणको काम अत्यन्त सुस्त छ।
२०७९ साल कात्तिक मसान्तसम्ममा काम सक्ने गरी २०७६ साल कात्तिक २९ गते ‘बज्रगुरू–कान्छाराम जेभी, काठमाडौं’ सँग ६७ करोड ३७ लाख ५३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
सम्झौताको म्याद गुज्रेको तीन वर्ष हुन लागेको छ। थपिएको म्याद पनि सकिएको छ तर हालसम्म निर्माणमा भौतिक प्रगति ३८ प्रतिशत र वित्तीय प्रगति ३५ प्रतिशत मात्रै छ ।
इन्जिनियर महतराका अनुसार काममा लापरबाही भएकाले निर्माण कम्पनीले अग्रिम भुक्तानीमा लगेको ६ करोड रुपैयाँ गत असार मसान्तमा खिचेको छ।
हालसम्म ९ किलोमिटरमा कालोपत्रे भए पनि अरू काम बाँकी छ।
‘बज्रगुरू कान्छाराम जेभी’ ले सडक निर्माणमा चरम लापरबाही गरेको र थपिएको म्यादमा पनि काम नहुने निष्कर्षका साथ हुलाकी सडक आयोजनाले सम्झौता खारेजका लागि सडक विभागमा फाइल पठाएको छ।
‘कान्छाराम (शंकरमाली) जेभी, काठमाडौं’ ले पनि घोराहीको कटुवा खोलाबाट डिके पेट्रोल पम्पसम्मको करिब डेढ किलोमिटर खण्डमा वर्षौं बितिसक्दा काम पूरा गरेको छैन।
सडक डिभिजन कार्यालय, दाङका प्रमुख दीपेन्द्रबहादुर बिष्टका अनुसार २०७१ भदौ ११ गते ठेक्का सम्झौता भएकोमा हालसम्म वित्तीय प्रगति ७० प्रतिशत मात्रै रहेको छ।
दाङका लागि ‘कान्छाराम (शंकरमाली) जेभी, काठमाडौं’ का आधिकारिक प्रतिनिधि दीपक थिङ तोकिएका थिए। उनीसँग प्रतिक्रिया लिने प्रयास गर्दा सम्पर्क हुन सकेन।