पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना (एमइपी) सार्वजनिक गरेको छ। यो योजना दिगो सहरी विकास र स्वच्छ ऊर्जा प्रयोगका लागि महत्त्वपूर्ण रहेको महानगरले जनाएको छ।
पाँच वर्ष अवधिको यो योजनामा पोखराको बढ्दो ऊर्जा आवश्यकता पूरा गर्दै ऊर्जा पहुँच विस्तार, ऊर्जा दक्षता अभिवृद्धि र नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ। यसले राष्ट्रिय ऊर्जा तथा जलवायु लक्ष्यमा योगदान पुर्याउने महानगरको अपेक्षा छ।
महानगरका मेयर धनराज आचार्यले मंगलबार आयोजित एक कार्यक्रममा उक्त योजना सार्वजनिक गरेका हुन्।
उक्त योजना जिआइजेड (जर्मन प्रविधिक सहयोग संस्था) नेपालको ‘रिप–ग्रीन’ कार्यक्रमको प्राविधिक सहयोगमा पोखरा महानगरको ऊर्जा विकास उपसमितिले तयार पारेको हो। विभिन्न सरोकारवाहरूलासँग छलफल तथा परामर्श गरेर योजना तयार गरेको जनाइएको छ।
‘समृद्ध पोखराका लागि प्रभावकारी र दिगो ऊर्जा’ मूल भाव रहेको यो योजनाको कुल लागत एक अर्ब ३३ करोड ३० लाख ८२ हजार रुपैयाँ अनुमान गरिएको छ।
योजनाले घरायसी स्तरमा स्वच्छ, प्रभावकारी र नवीकरणीय ऊर्जा उत्पादन तथा उपयोग अभिवृद्धिलाई प्राथमिकतामा राखेको छ। परम्परागत तथा आयातित इन्धनको साटो स्थानीय स्रोतमा आधारित नवीकरणीय ऊर्जा प्रवर्द्धनमा जोड दिइएको छ।
यसैगरी व्यापारिक तथा औद्योगिक क्षेत्रमा ऊर्जा दक्षता अभिवृद्धि गर्दै हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणमा पनि जोड दिइएको छ।
शैक्षिक अभियानमार्फत जनचेतना अभिवृद्धिमा पसन योजनाको प्राथमिकतामा छ।
नेपालमा रिप–ग्रीन कार्यक्रममा युरोपेली युनियन (इयु) र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजेड) को संयुक्त वित्तीय सहयोग रहेको छ। यो कार्यक्रम कार्यान्वनमा जिआइजेडले संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्य गरेको छ।