राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक शुक्रबार बस्दैछ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा १३ वटा छलफलको कार्यसूची तय गरिएको छ।
केन्द्रीय प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा समसामयिक राजनीतिक एवं पार्टी गतिविधि सम्बन्धमा छलफल हुनेछ।
यसमा केन्द्रीय विभागको प्रगति रिपोर्ट, संसदीय दलको रूपन्देही बैठक अपडेट, रूपन्देही उपनिर्वाचन अपडेट, रूपन्देही संगठन अपडेट, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदनबारे छलफल हुनेछ।
दोस्रो कार्यसूची प्रदेश इन्चार्जहरूलाई आआफ्ना प्रदेशको रणनीतिको सार एवं रिपोर्ट पेश गर्न भनिएको छ। यसमा प्रदेश इन्चार्जहरूले बढीमा तीन मिनेटभित्र रिपोर्ट पेश गर्न पाउनेछन्।
तेस्रोमा केन्द्रीय सदस्य रिपोर्टिङ रहेको छ। यसमा केन्द्रीय सदस्यहरूले अधिकतम २ मिनेट बोल्न पाउनेछन्।
चौथो कार्यसूचीमा पार्टी सचिवालय बैठकका निर्णयहरूमा छलफल र अनुमोदन हुने झाले बताए।
त्यस्तै आजको बैठकमा विधान ब्याख्या अनुमोदन सम्बन्धमा, केन्द्रीय विभागको प्रमुख मनोनयन हुनेछ।
सातौं कार्यसूचीमा पूर्व केन्द्रीय सदस्यहरू लाई पुनः जिम्मेवारी दिने प्रस्ताव राखिएको छ। राकेश यादवलगायत दुई जनाजति केन्द्रीय सदस्य त्यति सक्रिय नभएको रास्वपाका नेताहरू बताउँछन्। उनीहरूलाई पुनः जिम्मेवारी दिने कि नदिने भनेर छदफल गर्न लागिएको हो।
बैठकमा पार्टीको निर्वाचन आयोगमा मनोनयन र रणनीतिक समूह गठनबारे छलफल हुनेछ।
दसौं कार्यसूचीमा संगठन सवलिकरणका लागि केन्द्रीय समिति, केन्द्रीय विभागलाई थप जिम्मेवारी दिनेबारे पनि छलफल तय गरिएको छ।
यस्तै पछिल्लो समय रास्वपाले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकारको व्यवस्था गर्नुपर्ने पैरवी गरिरहेको छ। त्यसमा सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेबारे पनि केन्द्रीय समितिमा छलफल हुनेछ।
बाह्रौं कार्यसूचीमा सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षरबारे प्रगति रिपोर्ट र अभियान थप प्रभावकारी बनाउनेबारे छलफल हुने झाले बताए।
विविध प्रस्तावअन्तर्गत अधिवेशन प्रतिनिधि समय विन्दु (केन्द्रीय विभाग, प्रदेश विभागको नयाँ नियुक्ती), मधेश प्रदेशमा सहमहामन्त्री सिफारिस, पार्टी सचिवालयबाट अनुमोदन भएको पार्टी केन्द्रीय कार्यालयको अनुमानित बजेट प्रस्तुत, सांसदहरूको लेबीबारे छलफल हुनेछ।