सरकारले हरेक वर्षझैँ यस वर्ष पनि दसैँ, तिहार, छठ, इद र ल्होसार जस्ता चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा ल्याएको छ। साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान र खाद्य संस्थानले यी पसल सञ्चालनमा ल्याएका हुन्।
सरकारले सुपथ मूल्य पसल सञ्चालनका लागि साल्ट ट्रेडिङलाई एक करोड ८५ लाख तथा खाद्य संस्थानलाई ६० लाख रुपैयाँ रकम विनियोजन गरेको थियो। पसलमा तीनै संस्थानले नुन, चिनी, चामल, घ्यु, पनिर, तेल, दाल, मसला, चिया, गेडागुडी, चिउरा लगायत सबै खाद्यान्न विक्रीमा राखेका छन्। हरेक खाद्य सामानमा बाहिरको तुलनामा २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिइएको छ।
त्यस्तै सुपथ मूल्य पसलमा किसानले जुम्लाको स्याउ समेत बेच्न राखेका छन्। जुम्ली स्याउको मूल्य भने प्रति केजी १ सय ६० रुपैयाँ राखिएको छ। पसलमा मोटा, मकवानपुर, मध्यम, सोना मंसुली, गोरखनाथ, मोटा, उसिना, ब्राउन, जिरा मसिनो र बासमती गरी १२ प्रकारका चामल बिक्रीमा राखिएको छ। ४ देखि १०० केजीसम्मको प्याकिङ (बोरा) मा उपलब्ध यी चामलमा प्रति केजी ५ देखि १० रुपैयाँसम्म छुट दिइएको छ।
त्यस्तै घ्यु प्रति एक लिटरमा १०, आधा लिटरमा ५ तथा पनिर आधा केजीमा ५ र २ सय ग्राममा २ रुपैयाँ छुटको व्यवस्था गरिएको छ।
चाडपर्वमा कालोबजारी हुन नदिन तथा उपभोक्तालाई राहत दिन भन्दै सरकारले सरकारी संस्थानहरुमार्फत हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ।
साल्ट ट्रेडिङ संस्थानका उपनिर्देशक कुमार राजभण्डारीले अन्य वर्षहरुझैँ उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गरिएको बताउँदै यसबाट लाभ उठाउन सबैलाई अनुरोध गरे। उनले भने, ‘सरकारी संस्थानहरु नाफामुखी भन्दा पनि सेवा केन्द्रित हुने हुँदा बजारमा चाडबाडको बेला उपभोक्तालाई सहज होस् भन्दै विभिन्न स्थानमा पसल सञ्चालनमा ल्याइएको छ, यसबाट सकेसम्म सबैले फाइदा उठाऊँ।’
उनका अनुसार सुपथ मूल्य पसल उपत्यका भित्र कोटेश्वर, जोरपाटी, सिंहदरबार, संतुगल, बल्खु, कुलेश्वर, कालीमाटी, टेकु, थापाथली, जाउलाखेल, सुर्यविनायक तथा कीर्तिपुर गरी विभिन्न १३ स्थानमा राखिएको छ।
उपत्यका बाहिर भने साल्ट ट्रेडिङ र खाद्य संस्थानका कार्यालय भएका अछाम, बाजुरा, धनगढी, मेहन्द्रनगर, पोखरा, दिपायल, डडेलधुरा, दाङ, बझाङ, सुर्खेत, भैरहवा, नेपालगन्ज, टीकापुर, बिर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगन्ज, हेटौंडा लगायतका २२ स्थानमा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
त्यस्तै राजभण्डारीले माग आएमा अन्य स्थानमा समेत सुपथ मूल्य पसल सञ्चालन गरिने उल्लेख गरे। सुपथ मूल्य पसल कात्तिक ९ अर्थात छठसम्म चल्ने भनिए पनि इद र ल्होसारसम्म चल्ने उनले जनाए। यी पसलहरु बिहान १० बजेदेखि साँझ साढे ५ बजेसम्म संचालन हुनेछ।
यसैबीच खाद्य संस्थानले दसैँका लागि भन्दै २५ सय खसीबोका तथा च्याङ्ग्रा पनि ल्याउँदैछ। खसीबोकाको बिक्री भने घटस्थापनादेखि सुरु गरिने संस्थानले जनाएको छ।
यस्तो छ सुपथ पसलका सामानको मूल्यसूची: