मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा तल देखिएको छ। नेपाल राष्ट्र बैंकले चालु वर्षमा ५.५ प्रतिशतको मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य राखेकोमा भदौ मसान्तसम्म लक्ष्यभन्दा पनि न्यून वृद्धिदर देखिएको हो।
२०८१ भदौमा मूल्य वृद्धि ३.८५ प्रतिशत छ। अघिल्लो वर्ष सोही महिनामा मूल्य वृद्धि ८.१९ प्रतिशत थियो।
खाद्य तथा पेय पदार्थ समूहमा ५.०३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहमा ३.१९ प्रतिशत मूल्य वृद्धि छ। अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मूल्य वृद्धि क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशत थियो।
भदौमा खाद्य तथा पेय पदार्थ समूहका दाल तथा गेडागुडीको मूल्य वृद्धिदर १०.८० प्रतिशत, तरकारीको ९.८४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ प्रतिशत र फलफूलको ४.९४ प्रतिशत छ। मरमसलाको मूल्य २.६९ प्रतिशतले घटेको छ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवामा ८.७१ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ६.७६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलमा ६.०८ प्रतिशत र घरायसी उपकरणमा ४.८८ प्रतिशतले मूल्य बढेको छ। बीमा तथा वित्तीय सेवा उप–समूहमा मूल्य परिवर्तन भएको छैन।
ग्रामीण क्षेत्रको ४.०४ प्रतिशतले मूल्य वृद्धि भएको छ भने सहरी क्षेत्रमा ३.७८ प्रतिशतले मूल्य वृद्धि भएको छ।
प्रदेशगत रूपमा कोशीमा ४.६६ प्रतिशत, मधेसमा ३.८२ प्रतिशत, बागमतीमा ३.२९ प्रतिशत र गण्डकीमा ३.५० प्रतिशत मूल्य वृद्धि भएको छ।
त्यस्तै लुम्बिनीमा ३.५३ प्रतिशत, कर्णामा ३.५६ प्रतिशत र सुदूरपश्चिमा ५.९० प्रतिशत मूल्य वृद्धि भएको छ।
काठमाडौं उपत्यकामा ३.४९ प्रतिशत, तराईमा ४.०९ प्रतिशत, पहाडमा ३.६१ प्रतिशत र हिमालमा ४.१९ प्रतिशत मूल्य वृद्धि छ।