सरकारी स्वामित्वका संस्थानहरू नजिकिँदै गरेको दशैं, तिहार तथा छठ जस्ता चाडपर्व केन्द्रित हुन् थालेका छन्। चाडपर्वमा उपभोक्ताको सहजताको लागि संस्थानहरुले विगत वर्षहरुमा झैं सूपथ मूल्य पसलदेखि बजार सन्तुलन कायम राख्न माग अनुरुपको विभिन्न बस्तु आयात समेत गर्ने प्रक्रिया थालेका छन्।
आपूर्ति मन्त्रालयले यस वर्षको लागि आउँदो १६ गतेबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेसँगै खाद्य, साल्ट ट्रेडिङ तथा दुग्द्य विकास संस्थानले त्यसको तयारी थालेका हुन्।
मन्त्रालयले गत वर्षझैं यस वर्ष पनि दैनिक उपभोग्य खाद्य वस्तुमा २ देखि १० रुपैंयाँसम्मको छुट दिने निर्णय गरेको छ। त्यसका लागि सम्बन्धित संस्थानहरुलाई यस वर्षको बजेट भाषण मार्फत नै बजेटको व्यवस्था गरिसकिएको छ।
सुपथ मूल्य सञ्चालन तथा त्यसमा दिइने छुट बराबरको रकम समायोजन गर्न सरकारले साल्ट टेड्रिङ कर्पोरेसनलाई एक करोड ८५ लाख तथा खाद्य संस्थानलाई ६० लाख रुपैंयाँ विनियोजन गरेको छ।
लगातार घाटामा रहेको नेश्नल ट्रेडिङले भने यस वर्ष सुपथ मूल्य पसल सञ्चालन नगर्ने भएको छ भने दुग्द्य विकास संस्थानको उत्पादन अन्य दुई संस्थानले बेच्नेछन्।
संस्थानहरुले पठाएको प्रस्ताव अनुसार आपूर्ति मन्त्रालयले साविकको मूल्यमा नुनमा २, चिनी, फापर र मोटा चामलमा ५ तथा घ्यू र बासमती चामलमा १० रुपैंयाँ प्रति केजी छुट दिने निर्णय गरेको छ।
मन्त्रालयले निर्णय गरेको जानकारी पाएसँगै सुपथ मूल्य पसल सञ्चालनको तयारी थालिएको खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए।
उनले चाडबाडको बेला सरकारको उपस्थिति मार्फत माग तथा आपूर्तिको बजार सञ्तुलन कायम राख्न संस्थानहरुले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको भन्दै यसले उपभोक्तालाई राहत दिने दाबी समेत गरे।
त्यस्तै साल्ट ट्रेडिङले सुपथ मूल्य पसलमा बेच्दै आएको दाल, चामल, गेडागुडी, मसला, पिठो लगायतका खाद्य बस्तुमा न्युनतम मूल्य मुनाफा राखेर बेच्ने बताएको छ।
ट्रेडिङका उपमहानिर्देशक कुमार राजभण्डारीले नुन तथा चिनीमा दिइएको छुट बापतको रकम सरकारले पूर्ति गरे पनि संस्थान स्वंयले पनि आफ्नै लागतमा अन्य खाद्य वस्तुको मूल्यमा पनि छुट दिने बताए।
उनले भने,‘संस्थानहरु नाफा मूलक नभएर सेवा मूलक हुनेहुँदा हामी आफैंले सरकारले दिएको छुटबाहेकका अन्य वस्तुमा समेत न्यूनतम मुनाफा राखेर बेच्न लागेका छौँ।
खाद्यले काठमाडौँ उपत्यका विभिन्न स्थान तथा माग आएमा बाहिर समेत त्यस्ता पसल सञ्चालन गर्नेछ भने साल्ट ट्रेडिङले राजधानी बाहिर आफ्ना कार्यालय भएका स्थानहरुबाट समेत सुपथ मूल्यको पसल सञ्चालन गर्नेछ। त्यस्तै ट्रेडिङले माग आएमा कार्यालय नभएका स्थानहरुबाट समेत पसल सञ्चालन गर्न सकिने बताएको छ।
गत वर्ष माग आएपछि खाद्यले सुर्खेतमा तथा ट्रडिङले धादिङमा समेत पसल सञ्चालन गरेका थिए।
दशैंलाई २५ सय खसीबोका ल्याउँदै छौँः खाद्य संस्थानदशैंको बेला मासुको खपत धेरै हुने भएकाले बजारको माग तथा आपूर्तिको सन्तुलन कायम राख्न खाद्य संस्थानले २५ सय खसी, बोका तथा च्याङ्ग्रा आयात गर्ने प्रक्रिया थालेको छ।
संस्थानका प्रवक्ताका शंकर सापकोटाका अनुसार संस्थानको सञ्चालक समितिले यस वर्षको लागि मुस्ताङ र आसपासका जिल्लाहरुबाट एक हजार च्याङग्रा तथा दाङको तुलसीपुर र मकवानपुको हेटौँडाबाट १५ सय खसीबोका आयातको प्रक्रिया थालेको छ।
त्यस्तै अघिल्लो वर्षहरुमा तराईका विभिन्न स्थानहरुबाट आयात गरिँदै आएकोमा यस वर्ष भने निर्वाचन परेको तथा आचारसहिंताले बाँधेकाले काठमाडौँ ल्याउन सम्भव नदेखिएको उनले जनाए।
उनले भने, ‘हामीले मासुको माग पूर्ति गर्न खसीबोका तथा च्याङग्राको आयातको प्रक्रिया अघि बढाइसकेका छौँ, निर्वाचन तथा आचारसहिंताले तराईबाट ल्याउन पाएनौं। यद्यपी २५ सय खसीबोका तथा च्याङग्रा लिएर बजार सन्तुलन कायम राख्न पर्याप्त हुनेछ।’
गत वर्ष २८ सय खसीबोका तथा च्याङग्रा राजधानी ल्याइएकोमा यस वर्ष भने २५ सय मात्र ल्याउन लागिएको संस्थानले बताएको छ।
गत वर्ष निजी क्षेत्रबाट धेरै खसीबोका तथा च्याङग्रा ल्याइएकाले संस्थानलाई सबै बेच्न हम्मे हम्मे परेको थियो।
उनले घटस्थापनादेखि राजधानीमा खसीबोका तथा च्याङग्राको बिक्री सुरु गरिने बताए।
अभाव हुन नदिन १० हजार क्वीन्टल चिनी स्टकमाः साल्ट टेड्रिङसाल्ट टेड्रिङले पर्याप्त चिनी स्टकमा रहने भन्दै दशैंको बेला चिनीको अभाव नहुने दाबी गरेको छ।
विगतका केही वर्षहरुमा संस्थानमा पर्याप्त चिनी स्टकमा नहुँदा व्यापारीले चिनीको भाउ बढाएर महँगो दरमा बेच्ने गरेका थिए।
टेड्रिङका उपमहानिर्देशक कुमार राजभण्डारीले दसैं, तिहार तथा छठ तथा त्यसपछिको समयलाई लक्षित गरेर १० हजार टन चिनी आयात गरिएको बताए।
उनले भने, ‘दश हजार टन चिनी आयात गरेका छौँ। बजारमा चिनीको अभाव पनि हुने छैन भने मूल्य पनि बढ्न दिने छैनौ।’
पर्याप्त उत्पादन नहुँदा संस्थानले भन्सार छुटमा प्रत्येक वर्ष ५० हजार टन चिनी भारतबाट आयात गर्दै आएको छ।