३८ बर्षीय डिल्लु चौधरीले तुलसीपुरको सितलपुर चोकमा आफ्नै पसल खोलेर कपाल काट्न थालेको १४ बर्ष पुग्यो।
आफ्नै इच्छाले कपाल काट्ने काम सिक्न गएका उनी सुरुवातमा दुई वर्षसम्म दैनिक दश रुपैंयाँका दरले काम गरे।
आर्थिक अवस्था निकै कमजोर भएका उनी थोरै लगानीमा केही गर्न सकिने पेशा खोज्दै कपाल काट्ने पेशा अंगाल्न पुगेको बताउँछन्।
डिल्लु पुर्ख्यौली पेशा कृषि र कमलरी छाडेर भारतीय मुलका मानिसको पसलमा कपाल काट्ने काम गरेको सुनाए।
उनी भारतीय नागरिक बाहेक अन्य समुदायवाट तुलसीपुरमा कपाल काट्न सुरुवात गर्ने पहिलो व्यक्ति भएको दाबी गर्छन्।
डिल्लुले भने ‘चौधरी समुदायलाई धर्तिपुत्र मानिन्छ र हाम्रो मुख्य पेशा कृषि कर्म नै हो। मेरो परिवार पनि त्यही गर्दथ्यो। परिवारका केहि सदस्यहरु अरुको घरमा कमैया बस्थे। तर मलाई अरुको घरमा कमैंया बस्नु भन्दा कपाल काट्न ठिक लागेर तालिम पनि लिएँ’।
उनले धेरै समय आफ्नो सीप अभिवृद्धि गर्न तथा आर्थिक स्थिती सुधार्न खर्चेको बताउँछन्। काम राम्रो हुँदै गएपछि उनले आफ्ना पाँच जना भाई भतिजालाइ पनि त्यहिं काम सिकाए। उनिहरु अहिले एउटै पसलमा कपाल काट्दै आएका छन्।
डिल्लुको पसलमा एउटी युवती सहित सात जनाले कपाल काट्ने काम गर्छन। त्यति धेरै जनशक्ति हुँदा पनि उनीहरुलाई काम गर्न भ्याई नभ्याई हुन्छ। प्राय उनको पसलमा कपाल काट्नेहरुको लाईन नै लाग्ने गरेको उनले बताए।
संघर्षको समयमा एक जोडि कपडा मात्रै लगाएर घरवाट हिंडेका डिल्लुले अहिले कपाल काटेरै तुलसीपुर बजारमा चार कोठा सहितका दुईवटा घर बनाएका छन्। उनले विभिन्न ठाउँमा चारवटा घडेरी पनि जोडेको सुनाए।
कपाल काट्न थाल्दा विद्यालयको पढाई छोडेर आएका उनले भाइ र भतिजाहरुलाई कपाल काट्न मात्रै सिकाएनन् अध्यापन पनि गराए। उनका केहि भाइभतिजाहरुले काम गर्दैगर्दा बिए सम्मको पढाइ पनि सकेको उनले थपे।
त्यसकै विचमा उनले आफ्नो पढाइ मेजर ईङलिसवाट कक्षा १२ सम्म पुर्याएको सुनाए।
कुनै दिन चरम गरिवी भोगेका डिल्लुले अहिले दैनिक १२ देखि १५ हजार रुपैयाँ कपाल काटेरै कमाइरहेका छन्।
डिल्लुले लगनले काम गरे नेपाल मैं केहि गर्न सकिन्छ, विदेश मात्रै सबै कुराको समाधान नभएको बताए।
उनले भने ‘कपाल मात्र काट्नुपर्छ भन्ने छैन। कृषि, व्यापार वा अन्य कुनैपनि पेशा यहीं गरे राम्रो हुन्छ। हामीलाई आफ्नै देशमा काम गर्न लाज लाग्छ तर विदेशीमा लेबर काम गर्न लाज लाग्दैन। अब यो प्रवृति रोक्न आफ्नै ठाउँबाट सकेको काम गर्न आफैबाट थाल्नु पर्छ।’
भारतीय मुलका मानिसहरुले नेपालमा आएर कपाल काटेरै बर्षेनी ठूलो धनराशी भारत पठाइरहेका छन्। तर नेपाली दाजुभाइहरु अझैंपनि विदेशमा गएर दुःख पाएको देख्दा आफु चकित पर्ने गरेको उनले बताए।
तुलसीपुर नाई व्यवसायी संघमा दुई कार्यकाल पूर्व अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका चौधरी हाल नाई व्यवसायी संघका सल्लाहकार रहेका छन्। पछिल्लो समय डिल्लु नाई व्यवसायलाई कसरी अझैं परिस्कृत र राम्रो गराउन सकिन्छ भन्ने सवालमा अध्यनरत रहेको सुनाए।
डिल्लुले आफ्नो कामलाई अन्तराष्ट्रियकरण गर्ने उद्देश्यले विदेशमा गई थप सीप सिकेर आउने योजना बनाएको बताए। त्यहाँ सिकेको सीपलाई दाङबाटै स्तरीको सेवा दिने चाहना उनको रहेको जिकिर गरे।