तनहुँ स्थायी घर भएकी सरला मिश्र दशैंको लागि नयाँ नोट साट्न बिहान ८ बजे नेपाल राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग थापाथली पुगिन्। कार्यालय १० बजे खुल्ने थाहा पाएपनि पोहोर साल खेप्नु परेको सास्ती सम्झेर छिटो आएको उनले सुनाईन् । यसपालीको लाईन देखेर उनलाई आश्चर्य लाग्यो ‘ भीड हुन्छ भनेर चाँडै आएको यसपाली त पोहोरको भन्दा ५ गुणा कम भीड रहेछ’ उनले खुसी हुँदै भनिन्।
काठमाडौंका सुरज रत्न श्रेष्ठको अनुभव पनि त्यस्तै छ, अघिल्ला वर्षमा दिनभर चर्को घाम सहेर नोट साट्नु परे पनि यसपाली भने डेढ घण्टामै पालो आएकोमा उनी खुसी देखिन्छन्।
हुनपनि यसपालीको भीड अघिल्ला वर्षहरूकोभन्दा अत्यधिक कम देखिन्छ। पोहोर विभागको मेन गेट देखिनै पैसा सटही गर्नेको लाइन देख्न सकिन्थ्यो। टोकन लिनको लागि मात्र पनि २-३ घण्टा लाइन बस्नुपर्थ्यो र बिहान ५ बजे देखिनै पैसा साट्नेको लाइन सुरू हुन्थ्यो तर यसपाली जाने बित्तिकै टोकन पाउन सकिन्छ र नोट साट्ने ठाँउभन्दा केहि वर देखिमात्र भीड सुरू हुन्छ।
पैसा साट्नको लागि जेष्ठ नागरिक र संस्थाले भने त्यो लाइन पनि बस्नु पर्दैन। सर्वसाधारणको लागि बनाएको डोरीको बार पनि आधा खाली नै छ। पोहोर साल यही स्थानमा सर्वसाधारणले हातमा पानीको बोतल बोकेर चाउचाउ बिस्कुट खाएर भोक मेटाउँदै लाइन बसेको देख्न सकिन्थ्यो।
यसपाली भीड कम भएपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूले पनि केही सहजता महसुस गरेका छन्।
‘अघिल्ला वर्षमा यतिखेर हामीलाई पानी पिउने फुर्सद हुन्थेन, त्यसको तुलनामा यसपाली केही सहज छ’ सुरक्षा अधिकृत ध्रुव सापकोटाले भने। बैंकले धेरै स्थानबाट नयाँ नोट सटही गरिरहेको छ त्यही भएरपनि भीड कम भएको होला’ उनले सेतोपाटीसँग भने।
यसपाली नेपाल राष्ट्र बैंक, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेड गरी १६ स्थानबाट पैसा सटही भइरहेको छ। त्यस्तै, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडले पैसा साटेको छ की छैन भनेर राष्ट्र बैंकले अनुगमन समेत गरेको एक जना कर्मचारीले जानकारी दिए।
यो पटक एक जनाले २७ हजार रुपैयाँ सटही गर्न पाउनेछन्।
तस्विर– नारायण मर्हजन