बुधबार नेप्से परिसूचक २२.५८ अंकले घटेको छ। बजार बन्द हुँदा नेप्से २५०५ बिन्दुमा आइपुगेको हो।
कारोबार रकम पनि घट्दै गएको छ। मंगलबार तीन अर्ब ३६ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार तीन अर्ब १० करोड रूपैयाँमा कारोबार सीमित भएको हो।
बुधबार तीन सय १८ लगानी उपकरण कारोबारमा आउँदा ६६ वटाको मूल्य बढेको छ। दुई सय ३० वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ।
कारोबारमा आएकामध्ये सामूहिक लगानी कोष बाहेक सबै समूह घटेका छन्।
समता घरेलु लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ६.९३ प्रतिशतले मूल्य बढेको छ। कम्पनीको आठ सय ८० रूपैयाँमा अन्तिम कारोबार भएको हो। त्यस्तै, समाज लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै १० प्रतिशतले मूल्य घटेको छ। कम्पनीको दुई हजार ८४ रूपैयाँमा अन्तिम कारोबार भएको हो।
नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै २० करोड ५४ लाख रूपैयाँको सेयर कारोबार भएको हो।