अन्तरदिनको कारोबारमा मंगलबार २६ सय मुनिसम्म पुगेको नेप्से बजार बन्द हुने समयमा भने केही उक्लियो र २६ सय माथि आइपुग्यो।
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घटेर २६०४ विन्दुमा आइपुगेको छ। भदौ २४ गतेको आन्दोलनको क्रममा भएको तोडफोडसँगै बीमा कम्पनीहरूमा २३ अर्बभन्दा धेरैको दाबी परेको थियो। दसैंताका आएको बाढी पहिरोको कारण यी कम्पनीमा थप दाबी पर्ने देखिएको छ।
यही कारण पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पनी सूचीकृत समूहमा उच्च दरले घटेका छन्। पुनर्बीमा कम्पनी सूचीकृत ‘अन्य’ समूह सबैभन्दा धेरै ४.८३ प्रतिशतले घट्यो।
त्यस्तै, निर्जीवन बीमा कम्पनी २.०४ प्रतिशतले घटेको छ। बाढीले जलविद्युत आयोजनाहरूमा समेत क्षति पुगेपछि यो समूहमा पनि २.७४ प्रतिशतले गिरावट आएको छ।
नेप्सेमा सूचीकृत १२ वटा जलविद्युत् कम्पनीका आयोजनाहरूमा क्षति पुगेको स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान)ले उल्लेख गरेको छ।
पिपुल्स हाइड्रोपावर, जोशी हाइड्रो, पाँचथर पावर, हिमाल दोलखा हाइड्रो पावर, सानिमा माइ हाइड्रो, सुपरमाइ हाइड्रो, सगरमाथा जलविद्युत्, माइखोला हाइड्रो, सान्भी इनर्जी, एसियन हाइड्रो, सामलिङ पावर र पञ्चकन्या माइको उत्पादन बन्द भएको हो।
मूल्य उच्चले घट्ने प्रमुख १० कम्पनीमा जलविद्युत् कम्पनीनै अग्रस्थानमा छन्।
यसदिन सबै समूहगत परिसूचक घटेका छन्। त्यस्तै, तीन सय २६ लगानी उपकरण कारोबारमा आएकोमा दुई सय ६३ वटाको मूल्य घटेको छ, ५६ वटाको मूल्य बढेको छ। बाँकीको स्थिर छ।
मंगलबार चार अर्ब ६२ करोड रूपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबारको तुलनामा यसमा वृद्धि भएको हो। दसैंअघि दुई अर्ब ९३ करोड रूपैयाँको कारोबार भएको थियो। दसैं विदा र सरकारले दिएको आकस्मिक विदाको कारण दश दिनपछि बजार खुलेको हो।