आन्दोलनपछि अघिल्लो बिहीबार एकै दिन ६ प्रतिशत गुमाएको नेप्सेले सोमबार र मंगलबारमा त्योभन्दा धेरै अंक फिर्ता पाएको छ।
आइतबार भने बजार बन्द थियो।
भदौ २३ र २४ गते भएको अन्दोलनको कारण लगानीकर्तामा बढेको त्रासले बिहीबार सेयर बजार उच्च अंकले घटेको थियो। सोमबार ४.४४ प्रतिशत जोडेको नेप्सेले मंगलबार २.२३ प्रतिशत जोडेको हो। नेप्से कुल ६.६७ प्रतिशत अंक जोड्न सफल भयो।
मंगलबार बजार दुई प्रतिशत (५८.६३ अंकले) बढेर २६८२.२५ विन्दुमा पुगेको छ।
पछिल्लो समय सरकारले बजार सुधारको लागि कार्यदल नै बनाएपछि लगानीकर्ताको मनोविज्ञान दरिलो बन्दै गएको हो। अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले सेयर बजारमा अहिले देखिएको समस्या समाधानको लागि कार्यदल नै बनाएको छन्। केही दिनमै कार्यदलले प्रतिवेदन बुझाउने भएको छ।
त्यस्तै, सेयर बजारमा पछिल्लो समय लाग्दै आएको अन्तिम समयको कारोबारको आधारमा गरिने परिसूचक गणना विधि सोमबारबाट हटाइएको छ। सोमबार परिक्षणको रूपमा र मंगलबारको कारोबारबाट पूर्ण रूपमा यो विधि हटाइएको हो।
लगानीकर्ताहरूले यो विधि हटाउनुपर्ने माग राख्दै आएका थिए। सरकार र नियामकहरूको प्रयासपछि बजारले सकारात्मक बाटो समातेको हो। यसदिन कारोबार रकम भने उच्चले घटेको छ।
सोमबार नौ अर्ब १७ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार पाँच अर्ब २९ करोड रूपैयाँको कारोबार भएको हो। कारोबारमा आएका सबै समूहमा सुधार भएको छ।
अघिल्ला दिन उच्चले घटेको निर्जीवन बीमा कम्पनीमा सबैभन्दा धेरै ३.४८ प्रतिशतको वृद्धि भएको छ। निर्जीवन बीमा कम्पनीमा धेरै दाबी आउनसक्ने अनुमानमा बजार घटिरहेको थियो। कम्पनीहरूमा २२ अर्ब रूपैयाँ बराबरको दाबी परेको छ।
बीमा कम्पनीहरूले यस्तो दायित्व सबैले आफै नराखेर पुनर्बीमा कम्पनीमा र पुनर्बीमा कम्पनीले पनि विदेशी पुनर्बीमा कम्पनीमा सार्ने गर्छन्। यसले पनि लगानीकर्ताको त्रास कम हुँदै गएको हो। बीमा कम्पनीहरूले आफ्नो कोषमा २८ अर्ब रूपैयाँ बराबर रहेको समेत बताइरहेका छन्।
कारोबारमा आएका तीन सय २८ लगानी उपकरणमध्ये दुई सय ७४ वटाको मूल्य बढेको छ, ४१ वटाको मूल्य घटेको छ। बाँकीको मूल्य स्थिर छ।
आठ वटा कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेक लागेको छ। प्रभु स्मार्ट फण्डको मूल्य सबैभन्दा धेरै ४.३० प्रतिशतले घटेको छ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ३८ करोड रूपैयाँको सेयर कारोबार भएको छ।