बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रलाई दिने ऋण (कर्जा) यस वर्ष ८.४ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदअनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत वर्ष २.६ प्रतिशत विन्दुले कर्जा बढेको हो।
गत वर्ष २०८१/८२ मा कुल ४ खर्ब २३ अर्ब ७३ करोड रुपैयाँ ऋण प्रवाह भएको छ।
यस वर्ष दिइएको कुल ऋणमध्ये ६२.८ प्रतिशत हिस्सा कम्पनी तथा संस्थाहरूले लिएका छन् भने ३७.२ प्रतिशत व्यक्तिगत र घरपरिवारको क्षेत्रमा गएको छ।
वाणिज्य बैंकहरूले ८.६ प्रतिशत, विकास बैंकहरूले ६.१ प्रतिशत र वित्त कम्पनीहरूले ८.४ प्रतिशतले कर्जा प्रवाह बढाएका छन्।
बैंकहरूले दिएको ऋणमध्ये ६४.७ प्रतिशत घरजग्गा धितोमा र १४.५ प्रतिशत कृषि तथा गैर–कृषि वस्तु धितोमा दिइएको छ।
क्षेत्रगत रूपमा हेर्दा, यातायात, सञ्चार र सार्वजनिक सेवामा १५.५ प्रतिशतले, सेवा उद्योगमा १२.८ प्रतिशतले र औद्योगिक उत्पादनमा ७.९ प्रतिशतले लगानी बढ्यो।
त्यस्तै, थोक तथा खुद्रा व्यापारमा ३.४ प्रतिशतले कर्जा वृद्धि भयो। तर, कृषि क्षेत्रमा भने ०.२ प्रतिशतले कर्जा घटेको छ।
यस वर्ष सेयर बजारमा लगानी गर्न लिइने मार्जिन कर्जा ५६.२ प्रतिशतले र आयातका लागि लिइने कर्जा ५१.१ प्रतिशतले ह्वात्तै बढेको छ। यसको विपरीत, ओभरड्राफ्ट कर्जा भने १०.४ प्रतिशतले घटेको छ।