राष्ट्र बैंकले ५० रूपैयाँको ४२ करोड वटा नोट छाप्न बोलकबोल आवहान गरेको छ।
राष्ट्र बैंकमा हालै नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले ५० र हजारको नोट छाप्ने पहिलो निर्णय गरेका थिए।
बोलकबोलको शुल्क एक सय ४६ डलर (२० हजार रूपैयाँ) र बोलकबोलको धितोको रूपमा चार करोड राख्नुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ।
विशेष गरेर पाँच सय र एक हजारभन्दा माथिका एउटा नोटको आयु चारदेखि पाँच वर्षको हुन्छ।
साना नोटको आयु भने करिब तीन वर्षको हुन्छ।
नेपाल राष्ट्र बैंकले हालै मात्र चलनचल्तीका नोट छाप्न पहिलो चरणमा ६ कम्पनी छनोट गरेको छ।
पहिलो चरणमा छनोट हुनेमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रसियाको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्याण्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ छानिएका थिए।
छनोट भएका यी सबै कम्पनीले आगामी दुई वर्षसम्म हरेक पटकको छपाइको बोलकबोल प्रक्रिया (टेण्डर) मा प्रतिस्पर्धा गर्न सक्नेछन्।
यो अवधिमा जुन जुन नोट छाप्नुपर्ने हुन्छ त्यसको लागि राष्ट्र बैंकले टेण्डर आह्वान गर्छ।
यो प्रक्रियामा यी ६ वटै कम्पनीले भाग लिन पाउँछन् भने सबैभन्दा कम रकममा छाप्न तयार हुनेले टेण्डर प्राप्त गर्छ।