सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १५ अंकले बढेको छ। सो अंकको वृद्धिसँगै नेप्से १३६१ अंकमा कायम भएको छ।
अघिल्ला दुई दिनसम्म नेप्से घटेपछि सस्तो मूल्यमा सेयर उठाउनेहरु सक्रिय भए। जसले गर्दा नेप्सेसँग कारोबार रकम पनि बढेको छ।
कारोबार सुरु भएको तीन घण्टासम्म स्थिरजस्तै रहेको नेप्से अन्तिम १ घण्टामा उकालो लागेको हो।
बुधबार राजधानीमा हुने पुँजी बजार एक्स्पोमा अर्थमन्त्रीले सेयर बजारसम्वन्धमा सकारात्मक अभिव्यक्ति दिन सक्ने अनुमानका कारण पनि आज खरिद गर्नेहरु सक्रिय रहे।
कुल १६५ कम्पनीको १४ लाख ३९ लाख कित्ता सेयर किनबेच हुँदा ५० करोड ६४ लाख रुपैयाँको कारोबार भयो। बजारको पुँजीकरण १५ खर्ब ९७ अर्ब कायम भएको छ।
यस दिन उत्पादन समूह २ अंकले घटे पनि अरु सबै समूह बढेका छन्। फाइनान्स र अन्य समूह १ अंकमुनि हरियो रहे। बिमा १५१, बैंकिङ ११, होटल ४३, विकास बैंक १८, जलविद्युत २० र माइक्रोफाइनान्स समूह ३५ अंकले बढे।
कारोबारका आधारमा सिभिल बैंक अग्रस्थानमा रह्यो। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्न बाँकी छ, जसले गर्दा लगानीकर्ताको चासो यसमा देखिएको हो। ९ करोड ३१ लाखको कारोबार हुँदा कम्पनीको मूल्य ३ रुपैयाँले बढेर प्रतिकित्ता १६८ कायम भएको छ।
नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ४० लाखको कारोबार भयो। शिखर, नेसनल लाइफ तथा इन्भेष्टमेन्ट बैंक कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।
सिन्धु विकास बैंकका लगानीकर्ताले ७ प्रतिशत कमाउँदा समता माइक्रोफाइनान्स, सूर्योदय लघुवित्त तथा मिर्मिरे माइक्रोफाइनान्सका लगानीकर्ताले ५ प्रतिशत बढी नाफा कमाए।
नयाँ नेपाल लघुवित्त तथा सेन्ट्रल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ५ प्रतिशत गुमाए।