राजधानीको भृकुटीमण्डपमा भोलि र पर्सि पुँजी बजार एक्स्पो हुने भएको छ। नेपाल धितोपत्र बोर्डले रजत जयन्तीको अवसरमा पहिलो पटक एक्स्पोको आयोजना गरेको हो।
सेयर बजारबारे जानकारी लिन चाहने तथा बजारमा प्रवेश गर्न खोज्नेलाई एक्स्पो महत्वपूर्ण हुने धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले जानकारी दिए। एक्स्पोको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्नेछन्।
शहरी क्षेत्रमै धेरै सर्वसाधारणलाई पुँजी बजारबारे जानकारी नभएकाले यस्तो एक्स्पो आयोजना गर्न लागिएको उनले बताए। बोर्डले ग्रामीण क्षेत्रमा समेत सचेतनाका कार्यक्रमहरु संचालन गरिएको बताउँदै उनले पुँजी बजार सम्वन्धमा ग्रामीण क्षेत्रमा समेत चासो बढ्दै गएको उल्लेख गरे।
एक्स्पोमा डेढ सयभन्दा बढी स्टल रहने उनले बताए। विभिन्न ब्रोकर कम्पनी, मर्चेन्ट बैंक, म्युचुअल फण्ड, निक्षेप सदस्य, नेप्से, धितोपत्र बोर्ड, राष्ट्र बैंक लगायतका स्टलहरु मेलामा रहने बताइएको छ।
एक्स्पोमा कारोबारका लागि ब्रोकर कम्पनीको फारम भर्न तथा डिम्याट खाता खोल्न पाइनेछ। त्यस्तै सेयर बजारसँग सम्बद्ध विभिन्न पुस्तकहरु मेलामा पाइनेछ।
मेलामा प्रवेश गर्नका लागि कुनै शुल्क लाग्ने छैन।